विष्णु शर्मा ##
आमा बाबा स्वदेशमा सन्तान अमेरिका
आँखाभरि टिलपिल ती आशुका ढिका ।
उठ्दा बस्दा जुन बेलानी सम्झना छ उनकै
फोन हुँदा खुसी कति उपहार झै सुनकै ।।
सन्तानलाई बिदाइ गर्दा हासीमुख गर्ने
बिदा गरी भित्र गई दुबै मूर्छा पर्ने ।
दुई तीन दिन घरभित्र चुलो जल्दैन
ललाङलुलुङ हातखुट्टा शरीर चल्दैन ।।
शून्य हुन्छन् घरआँगन दुखी हुन्छन् मन
सन्तान आफ्नै साथमा भए लाग्थ्यो ठुलो धन ।
भविष्यको खोजी गर्दै सन्तान विदेश गए
अभिभावकको खुसीजति सबै उतै लए ।।
बेजोडले छाती दुख्छ फुट्ला झैँ गरी
सदाका लागि सन्तानले छोडीगए सरी ।
मनले मनलाई सोध्ने गर्छ माया धेरै किन ?
गा’को एक दिन भा’को छैन लाग्ने वर्षदिन ।।
पहर पहर बितेको छ दबाइको भरमा
सुनसान कोठाहरू डर आफ्नै घरमा ।
कति बेला रिङ आउला फोनतिरै आँखा
दिनमा नै अध्यारा छन् गाउँका भिरपाखा ।।
सन्तानलाई मन पर्ने परिकार पाक्दैनन्
लगिदिने मान्छे पाए आफूलाई राख्दैनन् ।
विसन्चो भए पनि भन्छन् आरामै छौँ
मेलापात गएका छन् भन्छन् घरमा छौ ।।
दबाई खान बिर्से पनि खाएकै छौँ भन्छन्
एक दिनमा सयौँपटक गएका दिन गन्छन् ।
सपनीमा बर्बराउँछन् कहिले आउछौँ भनी
बिछोडले झझल्किन्छन् उता सन्तान पनि ।।
पैसा पनि खुसी खुसी यहीँ छ भनिदिन्छन्
सकेसम्म घर खर्च आफ्नै शिरमा लिन्छन् ।
बिमारले सिकिस्त छन् देखिन्छन् ठिकठाक
आफ्ना दुःख लुकाउन कोसिस गर्छन् लाख ।।
सन्तान बाटा लागेदेखि चाड आएन उनको
उनीबिना छुट्टी भयो पूर्णिमाको जुनको ।
सन्तानलाइ देख्ने आसमा सकिन्छ उनको चोला
बाबाआमालाई यस्तो पीडा कहिलेसम्म होला ?