काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सभामुख देवराज घिमिरेले उनलाई शपथ खुवाएका हुन्। शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन्।
सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐनरनियमका सामग्री प्रदान गरेका थिए।
कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।
सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। उनी एमालेकै तर्फबाट निर्वाचित भएका हुन्।
चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका थिए।