काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको छ ।
मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । उनले बैठकमा संघीय संसदको आगामी अधिवेशनका बारेमा छलफल भएको र नेपाली कांग्रेसले संसदीय छानबिन समिति हुनुपर्ने मागलाई यथावत राखेको बताए ।
उनले सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता गर्नका लागि गम्भीर भएर लाग्नेमा आशावादी रहेको बताए । उनले सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको देखिएको बताए ।
उनले भने, ‘हामीले संसदीय छानबिन समितिको जुन माग गरेका थियौँ । हामीले त्यही कुरा राखेका छौँ । हामीले के विश्वास लिएका छौँ भने सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौँ वचतकर्ताहरुले अर्बौं रुपैयाँ वचत गरे । त्यसको हिनामिना र अपचलन भयो । त्यसलाई छानबिन गर्न जरुरी छ । त्यसका बारेमा सरकारका स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ ।’
उनले सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको र समस्या सम्बोधन नगरेको जिकिर गरे ।
उनले संसदीय छानबिन समिति बनाउनुको विकल्प नरहेको बताए ।