काठमाडौं । नेकपा (मसाल) बाट अलग भएर मोटो मशाल निर्माण गरेको समूह छिन्नभिन्न भएको छ ।
सन्तबहादुर नेपाली नेतृत्वको एक समूहले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता गरेकोमा विमल शर्मा नेतृत्वको समूह असन्तुष्ट बनेको छ ।
शर्मासहित चारजना केन्द्रीय सदस्यले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी मोटो मशाललाई नै निरन्तरता दिने बताएका छन् ।
‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसँग चलेको वार्ता र छलफलमा राजनीतिक तथा सङ्गठनात्मक मतभिन्नतालाई समाधान नगरिकन भएपनि पार्टी एकता’ गरिएको भन्दै त्यसमा सामेल नहुने सो विज्ञप्तिमा उल्लेख छ ।
यसअघि सो समूहका दाङ र तनहुँ जिल्ला समितिले समेत वैद्यसँगको एकता अस्वीकार गर्ने घोषणा गरेका थिए ।
यता, सन्तबहादुर नेतृत्वको एक पक्षले भने मंगलबार नै वैद्य समूहसँग पार्टी एकता गरिसकेको छ । करिब तीन सय जनाको केन्द्रीय समितिमा ६५ जना लिएर मोटो मशाल क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित भएको स्रोतले जनाएको छ ।
एकताको औपचारिक घोषणा भने आज हुँदै छ ।
- क्रान्तिकारी माओवादीकै नाम र नीति स्वीकार गरेर ‘मशाल’ समूहको पार्टी एकता !
- वैद्य माओवादीसँगको एकतामा सामेल नहुन ‘मशाल’ दाङको अपील
- दाङपछि तनहुँ ‘मशाल’ द्वारा वैद्यसँग नमिसिने घोषणा
- “मशाल” समाहित हुने भएपछि बैद्य पक्षमा फुट
