काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच हुने भनिको पार्टी एकतापछि पार्टीको नाम र नीतिसमेत क्रान्तिकारी माओवादीकै रहने बुझिएको छ ।
पार्टी एकता भएपनि पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी रहने प्रचार विभाग प्रमुख हुकुम सिंहले जानकारी दिए । दुई पार्टीबीच एकता भएपनि पार्टीको नाम परिवर्तन नहुने सिंहले बताए ।
यस्तै, दुवै पार्टीको एकता संयोजन समितिका बिचमा अन्तरिम कालका लागि पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधारा रहने, दशवर्षे जनयुद्धलाई ‘ऐतिहासिक माओवादी जनयुद्ध’ भन्ने र जातीय क्षेत्रीय समस्याका विषयमा ‘जातीय/क्षेत्रीय स्वशासन’ को अवधारणा अगाडि सार्ने लगायतका सहमति भएको बताइएको छ ।
सोमबार भएको क्रान्तिकारी माओवादीको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले मशालसँग एकता गरेपछि पार्टीले लगत्तै संयुक्त एकता महाधिवेशन गर्ने र त्यही महाधिवेशनबाट पार्टीको आगामी नीति तय गर्ने बताएका एक नेताले जानकारी दिए ।
दुवै पार्टीभित्र तीब्र असन्तुष्टि र फुटका बाबजुद उनीहरूले एकता गर्न लागेका हुन् ।
नेकपा (मसाल) लाई दक्षिणपन्थी भएको आरोप लगाएर बेग्लै पार्टी बनाएको सन्तबहादुर नेपाली नेतृत्वको ‘मशाल’ समूह ‘माओवादी जनयुद्ध’ र जातीय/क्षेत्रीय स्वशासन स्वीकार गरी मोहन वैद्य नेतृत्वको पार्टीमा समाहित हुन लागेको हो ।
पार्टीको नीति परित्याग गरी वैद्य माओवादीमा समाहित हुन लागेको भन्दै मशाल समूहमा भने फुट भएको छ । राष्ट्रिय भेलाबाट बहुमतको आधारमा पार्टी एकता गर्ने निर्णय गरेको ‘मशाल’ का दाङ, तनहुँलगायत विभिन्न जिल्ला समितिले पार्टी एकतामा सामेल नहुने घोषणा गरिसकेका छन् ।
नेकपा (मशाल) दाङका सचिव रामबहादुर जिएम र तनहुँका सचिव नरबहादुर थापाद्वारा जारी विज्ञप्तिमा ‘सिद्धान्तविहीन र राष्ट्रिय विखण्डनको नीतिलाई समर्थन गरी क्रान्तिकारी माओवादीसँग पार्टी एकताको निर्णय गरेको’ आरोप लगाइएको छ ।
- वैद्य माओवादीसँगको एकतामा सामेल नहुन ‘मशाल’ दाङको अपील
- दाङपछि तनहुँ ‘मशाल’ द्वारा वैद्यसँग नमिसिने घोषणा
सिद्धान्तहीन एकतामा सामेल नहुन कार्यकर्ता पंक्तिसित आग्रह गर्दै ‘सैद्धान्तिक रूपमा पथ प्रदर्शक सिद्धान्तको रूपमा माओवाद वा विचारधारा के मान्ने, दशवर्षे सशस्त्र द्वन्दलाई उग्रवामपन्थी गल्ती भन्ने वा नभन्ने, नेपाललाई एकात्मक राज्य मान्ने कि बहुराष्ट्र साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मानेको संघीयताको विषयमा जातिय पहिचानसहित पृथक हुन पाउने आत्मनिर्णयको अधिकारबारे गम्भीर विवाद’ रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, केन्द्रीय तहका कतिपय नेताहरूसमेत पार्टी एकतामा सामेल नहुने बुझिएको छ ।
यता, ‘जनयुद्ध’ को विरोध गर्ने समूहलाई पार्टीमा भित्र्याउन खोजिएको भन्दै मोहन वैद्यको पार्टीभित्र पनि ठूलै विद्रोह भएको छ ।मंगलबार पत्रकार सम्मेलन नै गरेर ११ जना केन्द्रीय नेताहरूले बेग्लै पार्टी बनाउने घोषणा गरेका छन् ।
पार्टीका सचिवालय सदस्यद्वय पूर्णबहादुर सिंह, खेम थपलिया र केन्द्रीय सदस्यहरु हरि श्रेष्ठ, विनोद थापा, अशोक सुवेदी, शम्भु फुयाँल, नवराज भट्ट, बद्री चौलागाई, रणबहादुर विक र केन्द्रीय सल्लाहकार ढुण्डीराज अधिकारीले विद्रोह गरेका हुन् ।
“मशाल” समाहित हुने भएपछि बैद्य पक्षमा फुट
उनीहरूले भनेका छन्– “विश्व साम्राज्यवादले सच्चा कम्युनिस्टमाथि चौतर्फी हमला गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फासिवाद’ र ‘उग्रवामपन्थी भड्काव’ को मिथ्या आरोप लगाउँदै जनयुद्ध कालमा प्रतिकारमा संलग्न गुटसँग गरिएको कथित पार्टीएकता हाम्रा लागि अस्वीकार्य छ ।’
नेकपा (क्रान्तिकारी माओवादी) र मोटो मशालबीच यही वैशाख १८ गते पार्टी एकता हुँदैछ ।