धनगढी । कैलालीमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको हो ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखेका थिए । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकी उनको र्यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
उनीसहित १७ जना चैत ९ मा लम्की पुगेका थिए । स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखेका थिए ।
लम्किचुहा नगरपालिका स्रोतका अनुसार क्वारेन्टिनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो ।
तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । त्यसबारे औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा दिइने जनाइएको छ ।