काठमाडौं । अमेरिका एकैदिन कोरोनाभाइरस संक्रमणले दुई हजार जनाभन्दा बढीको मृत्यु भएको छ । एकै दिन यति ठुलो संख्यामा मृत्यु भएको यो पहिलो घटना हो ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख नाघेको छ।
अमेरिकाले छिट्टै कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ।
तर ह्वाइट हाउसस्थित कोभिड–१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा संक्रमण दर स्थिर हुन थालेको बताएका छन्। डा. डेबोरा बिर्क्स का त्यो राम्रो संकेत भएपनि प्रकोप अझै शिखरमा पुगिनसकेको बताइन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा आकलन गरिएको एक लाख भन्दा कम मानिसको मृत्यु हुने बताएका छन्।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणले १८ हजार ६९३ जनाको मृत्यु भएको र ५ लाख ३९९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ।
इटलीमा अहिलेसम्म १८ हजार ८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले एक लाख भन्दा बढी जीवन खोसेको छ।
अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए । मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको संख्या ९७० जना हुने उनीहरूको अनुमान छ।
विश्वभरि मृत्यु एक लाखनजिक
कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको संख्या एक लाखनजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उसका अनुसार विश्वभरि संक्रमित हुने व्यक्तिहरूको संख्या १६ लाख नाघेको छ।
उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्।
त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। तर सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ ।
तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।
त्यहाँ कोरोनाभाइरसबाट संक्रमित मानिसहरूको संख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा संक्रमण भएको पाइएको छ।
मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। संक्रमित हुने व्यक्तिहरूको संख्या करिब ६६ हजार छ।
भारतमा संक्रमित हुनेहरूको संख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ।
द नेदरल्यान्ड्सका अधिकारीहरूले कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको संखया सोचेभन्दा दुई गुणाले बढी हुन सक्ने बताएका छन्।
एप्रिल महिनाको पहिलो सात दिनमा एउटा औसत हप्ताको भन्दा दुई हजार बढी मानिसको ज्यान गएको तथ्यांकले देखाउँछ।
ती सबै मृत्यु कोरोनाभाइरस महामारीकै कारणले भएको हुन सक्छ। त्यो संख्या अभिलेख गरिएको कोभिड–१९ बाट मृत्यु हुनेहरूको संख्याभन्दा दुई गुणाले बढी हो। बीबीसीबाट