काठमाडौं । शनिबार एकै दिन तीन जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि सरकारले लकडाउनलाई थप कडा बनाउने भएको छ । बाहिरबाट आएका व्यक्तिबाट स्थानीयमा कोरोना भाइरस सरेपछि थप कडाइ गर्ने निष्कर्षमा सरकार पुगेको हो ।
शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ ।
यद्यपी सरकारले लकडाउनको समय अवधि थप्ने निर्णय गरिसकेको छैन । यस अघि नै दोस्रो पटक लकडाउनको अवधि थपेर चैत २५ सम्म कायम गरिएको छ । तर, लकडाउन थप कडा बनाएको सरकारले अवधि लम्ब्याउने सम्भावना देखिएको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनको समय बढाउने वा नबढाउने निर्णय भने अहिले नभइसकेको जानकारी दिनुभएको छ ।
अबको एक हप्तामा निर्णायक
नेपालमा पहिलो पटक स्थानीय समुदायमा कोरोनाको संक्रमण सरेपछि अवको एक हप्ता चुनौतीपुर्ण हुने विज्ञहरुले बताएका छन् ।
आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा संक्रमण देखिएको छ। मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो।
महिला भने यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले (कम्युनिटी ट्रान्समिसन)लाई संक्रमणको दोस्रो चरण बताएको छ । पहिलो चरण संक्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउनुहुन्छ ।
‘पहिले हामी पहिलो चरणमा रहेका थियौं। नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौं’, उहाँले भन्नुभयो, ‘विदेशबाट आएका मानिसमा मात्र होइन। अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ।’
उहाँले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा संक्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने उहाँको भनाई छ ।
सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ संक्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक संक्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले समुदायमा संक्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताउनुभयो ।
‘यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ’, उहाँले भन्नुभयो, ‘अहिले एकै दिनमा तीन जनामा समेत देखियो। यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।’
यो लकडाउनको अवधिमा नेपालमा रहेका संक्रमितको तथ्यांक आउने भएकाले जोखिम मानिएको हो। कोरोना भाइरसका संक्रण देखिने अनुसन्धानबाट दुई हप्ता हो। यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कम मात्रामा लक्षण देखिने गर्दछन् ।