काठमाडौं । चीनले सहयोग गरेको तथा सरकारले खरिद गरेको १३ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिचान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहानै काठमाडौं ओर्लिएको हो ।
कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामाग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन-९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमुना संकलन गर्ने किटलगायत सामग्री ल्याइएका हुन् ।
ज्याक माँले सहयोग गरेका सामान पनि आइपुग्यो
चिनियाँ धनाढ्य ज्याक माँले नेपाललाई प्रदान गरेका कोरोना महामारीको आपतकालिन रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइएको छ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार ज्याक माँ फाउण्डेसन र अलिबाबा फाउण्डेसनबाट नेपाललाई प्रदान गरिने सामग्रीमध्ये यो पहिलो खेप आइपुगेको हो। चिनियाँ दूतावासको सक्रिय संयोजनमा यी सामग्री ल्याइएको हो।
कोरोना भए नभएको परिक्षण र संक्रमणको आशंका भएका व्यक्तिको परिक्षण तथा संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउनै पर्ने सुरक्षा कवच (पीपीई) लगायतका अत्यावश्यक सामग्रीको अभाव हुँदा आपतकालिन कामहरु समेत प्रभावकारी हुन नसकिरहेका बेला यी सामग्री ल्याइएको हो।

