काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बेलायती प्रधानमन्त्री बोरिस जोहनसोनलाई पनि छोडेन । प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार ट्विटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको छ । उहाँले हाल आफू सेल्फ आइसोलेसनदिनुभएको छ । प्रधानमन्त्री जोनसनले आफूले भिडियो सम्मेलनमार्फत सरकारको काम गरिरहेको पनि बताउनुभएको छ ।
बेलायत सरकारले हालै २ हप्ताको लागि देश लकडाउन गरेको छ । यसबीचका सबैलाई घरमै बस्न आग्रह गरिएको छ ।
बेलायतमा बुधबारसम्म ११ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन् । त्यहाँ ५७८ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको संक्रमणपछि बेलायती प्रधानमन्त्रीको सन्देश
‘कोरोना भाइरसको लक्षण देखिएपछि मैले चिकित्सकको सल्लाहअनुसार कोरोनाको परीक्षण गराए । परीक्षणपछि ममा कोरोना पोजिटिभ देखियो । त्यसैले अहिले मैले घरैबाट काम गरिरहेको छु । म सेल्फ आइसोलेसनमा ‘घरमै एकान्तबास’ बसिरहेको छु । यसो गर्नु पुरै उचित कार्य हो । तर यस्तो अवस्थामा पनि म प्रविधिका कारण आफ्नो टिमसँग कुरा गर्न पाइरहेको छु जो कोरोनाविरुद्धको अभियानमा लागि परेका छन्। नयाँ प्रविधिलाई धन्यवाद भन्नैपर्छ ।
म राष्ट्रिय स्वास्थ्य सेवा लगायत सबैलाई धन्यवाद भन्न चाहन्छु जो कोरोना भाइरसविरुद्ध लडिरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवाका सदस्यले निकै राम्रो काम गरेका छन् । प्रहरी, समाजसेवी सार्वजनिक सेवामा रहेका सबैले गज्जबको काम गरिरहेका छन् । नागरिकहरु सबैले कोरोनाविरुद्धको अभियानमा साथ दिएका छन् ।
६ लाख नागरिकले प्रत्यक्ष कोरोनाविरद्ध स्वंयसेवा कार्यक्रममा भाग लिएका छन् । देशलाई कोरोनामुक्त बनाउन साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। हामीले यो अवस्था बाट अवश्य पार पाउनेछौं । कोरोनाबाट कसरी बच्न सकिन्छ भन्नेबारे तपाइँहरुले सुनेका कुरालाई व्यवहारमा उतारेर हामीले कोरोनाबाट उन्मुक्ति पाउँछौं ।
जति धेरै हामी कोरोनाविरुद्धका उपायहरु अबलम्ब गर्दछौं त्यति चाँडो हामी समस्याबाट छुट्कारा पाउँछौं । जसले अहिले मजस्तै घरबाट काम गरिरहेको छ म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । घरमै बसौं, भीडभाड नगरौं । यसरी हामीले कोरोना भाइरसलाई जित्ने छौं ।’

