• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

मोहनविक्रम सिंहको ‘भीमकाय’ उपन्यास ‘जलजला’ मा के छ ?


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • प्रकाश गुरागाईं ##

    Advertisement

    काठमाडौँ । झ्यालबाट पारिलो घाम ओछ्यानसम्म छिरेको छ । झ्यालैनजिक सिरानी राखेर नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ढल्किएका छन् । कोठाको दुईतर्फ भित्ताका र्‍याकमा पुस्तकहरू सजाइएका छन् ।

    “अहिले केही पढ्दै हुनुहुन्छ कि ?” मैले कुराकानी सुरु गरेँ ।

    “अब पढ्न सक्नै छाडेँ । चस्माले समेत काम गर्दैन । कसैले पढिदिनुपर्ने भएको छ । त्यही भएर यसपटक पुस्तक प्रदर्शनीमा पनि गइनँ” उनले जवाफ दिए ।

    पुस्तक प्रदर्शनी हुँदा हरेकपटक उनी पुगेकै हुन्थे। यसपटक भृकुटीमण्डपमा मङ्सिर ५ देखि ९ गतेसम्म भएको दक्षिण एसियाली पुस्तक प्रदर्शनीमा गएनन् तर पार्टीका काममा भने सक्रिय छन् । गएको शनिबार (मङ्सिर १६ गते) उनको निवास पुग्दा भन्दै थिए– “आज १ बजे बैठक छ, पार्टी कार्यालय जानुछ ।”

    मोहनविक्रम ८९ वर्षका भए । उनलाई नेपाल कम्युनिस्ट आन्दोलनको ‘एउटा स्कुल’ नै मानिन्छ । २००७ सालमा नेपाली काङ्ग्रेसबाट राजनीति सुरु गरेर २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले त्यसयता कति राजनीतिक दस्तावेज लेखिभ्याए, हिसाबै गर्नुपर्छ । कति पुस्तक पढिभ्याए, गन्ती हुनै सक्दैन । उनले नाटक, कथा र संस्मरण लेखे । कथा त २००९ सालतिरै लेख्न थालिसकेका थिए । त्यस बेला झापामा भएको एउटा प्रतियोगितामा उनको कथा प्रथम भएको थियो र एउटा पत्रिकामा छापिएको थियो । तर अहिले न त्यो कथा छ, न छापिएको पत्रिका नै । त्यो संस्था पनि कुन थियो बिर्सिए ।

    उनले राजनीतिक लेख र किताब लेखेका छन् । संस्मरण लेखेका छन् । लेखनका धेरै विधामा हात हालेका छन् तर उपन्यास ?
    उपन्यास पनि धेरैओटा लेखे तर प्रकाशन हुनै पाएनन् । अब भने उनको पहिलो उपन्यास प्रकाशनको अन्तिम तयारी चलिरहेको छ ।

    नेपालीमा प्रकाशन नहुँदै हिन्दी र अङ्ग्रेजीमा अनुवाद पनि भइरहेको छ । त्यो ‘भीमकाय उपन्यास’ मा पाँच लाखभन्दा धेरै शब्द छन् ।

    “लियो टल्सटोयको उपन्यास वार एन्ड पिसमा साढे पाँच लाखभन्दा बढी शब्द छन् । मेरो उपन्यासमा पनि झन्डै झन्डै त्यति नै हुन्छन्” उनले भने ।

    उनलाई करिब सात वर्षअघि बागबजारस्थित नेकपा (मसाल) को सम्पर्क कार्यालयमा भेट्दा पनि उनले उपन्यासको चर्चा गरेका थिए ।

    त्यस बेला अब दुई भाग मात्र लेख्न बाँकी भएको जनाएका थिए । ती दुई भाग लेख्न उनलाई आधा दसकभन्दा बढी समय लागिसकेको छ ।

    उनले यो उपन्यास ‘जलजला’ लेख्नै करिब दुई दसक लगाए । कहिलेबाट सुरु गरेका थिए, ठ्याक्कै बताउन सक्दैनन् । “२०–२२ वर्ष भयो होला । दुर्घटनामा जलजलाको मृत्यु भएको केही वर्षपछि नै उपन्यास लेख्ने विचार आएको हो । कहिलेबाट सुरु गरेँ भन्ने थाहा पाउन पहिलो ड्राफ्ट खोज्नुपर्छ” उनले भने ।

    जलजला उर्फ विद्या ढकाल उनको पार्टीकै एक कार्यकर्ता र सिंहकी प्रेमिका थिइन् । २०३४ सालदेखि २०३८ सालसम्म उनीहरू प्रेमीप्रेमिका भए। जलजलासँग विवाहेत्तर सम्बन्ध राखेको आरोपमा पार्टीले मोहनविक्रमलाई तीन वर्ष र जलजलालाई एक वर्ष निष्काशन पनि गरेको थियो । निष्काशसनको अवधि सकिएपछि दुवै जना पार्टीमा पुन: सक्रिय भएका थिए ।

    त्यति बेला नेकपा गठन र विघटनको सिलसिला चलिरहेको थियो । मोहनविक्रमले २०४२ चैतमा भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी नेकपा (मसाल) खोलेका थिए।

    जलजलाले मोहनविक्रमको नयाँ पार्टी देख्नै पाइनन्। रोल्पाको थबाङमा एक वर्ष सङ्गठनको काम गरेपछि अन्तर्राष्ट्रिय ब्युरोमा काम गर्न दिल्ली पुगेको केही समयमै २०३८ कात्तिकमा बस दुर्घटनामा उनको मृत्यु भयो । यही अपूरो प्रेमलाई मोहनविक्रमले लेखनमार्फत् अमर त बनाएका छन् नै, उपन्यास लेखनको असफल यात्रामा पनि ‘ब्रेक’ लगाएका छन् ।

    छाप्दै नछापिएका ती चार उपन्यास

    कम्युनिस्ट पार्टीमा लागेपछि मोहनविक्रम सिंहले आफ्नै बाबु विरुद्ध पनि सङ्घर्ष गरेका थिए । गरिबको जग्गा कब्जा गरेका बाबुलाई ती जग्गा फिर्ता गर्न बाध्य बनाएका थिए । प्युठानमै भ्रष्टाचार विरुद्धको आन्दोलनमा सक्रिय थिए तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भने २००८ सालदेखि नै प्रतिबन्धित थियो । आन्दोलनकै सिलसिलामा उनी २०११ सालमा गिरफतारीमा परे ।

    उनलाई पाल्पा कारागारमा राखिएको थियो । २०१२ सालमा पाल्पा जेलमै हुँदा उनले दुईओटा उपन्यास लेखेका थिए । त्यहाँबाट अड्डासार गरेर प्युठान हुँदै सल्यान लैजाने कुरा चल्यो । अड्डासार गर्दा हराउने डरले ती उपन्यासका पाण्डुलिपि उनले पाल्पाकै एक जना व्यापारी मित्रलाई राख्न दिए तर ती व्यापारीले प्रतिबन्धित पार्टीका दस्तावेज ठानेर सबै नष्ट गरिदिएछन् ।

    राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुआत गरेको करिब दुई वर्षपछि २०१८ सालमा उनी फेरि पक्राउ परे । उनलाई कपिलवस्तु जेलमा राखिएको थियो । त्यहाँ बस्दा पनि उनले एउटा उपन्यास लेखे । त्यो उपन्यास पूरा गर्न चार वर्ष लागेको थियो ।

    पञ्चायतकालमा राजनीतिक बन्दीलाई अड्डासार कुनै अनौठो थिएन अनि अड्डासार गरिएका बन्दी अर्को जेलमा पुग्छन् नै भन्ने सुनिश्चित थिएन । नेपालको कम्युनिस्ट आन्दोलनको प्रथम सहिद मानिने नेत्र गुरागाईंलाई २०१९ सालमा यसरी नै हत्या गरिएको थियो ।

    तत्कालीन नेकपा पूर्वी क्षेत्रका नेता गुरागाईंलाई पक्राउ गरी तेह्रथुम लैजाने बहानामा बाटोमै हत्या गरियो । त्यसपछि यस्ता घटनाले पञ्चायतभरि निरन्तरता पायो ।

    मोहनविक्रमलाई पनि कपिलवस्तु जेलबाट अड्डासार गरेर भैरहवा हुँदै काठमाडौँ लगिएको थियो । आफ्नो जीवनकै टुङ्गो नभएका उनले कपिलवस्तु कारागारमा लेखेको उपन्यास नजिकका मित्र टेकबहादुर पन्थीलाई राख्न दिए । उनी २०२७ सालमा जेलबाट छुट्दा टेकबहादुरको मृत्यु भइसकेको थियो । उनको परिवारले त्यो उपन्यास पत्ता पाउनै सकेनन् ।

    मोहनविक्रम जेलबाट छुटेको एक वर्षपछि कम्युनिस्ट पार्टी पुनर्गठनका लागि केन्द्रीय न्युक्लियस गठन भयो । उनी बनारस बसेर पार्टी काममा सक्रिय भए । उपन्यास लेख्ने उनको हुटहुटी छँदै थियो ।

    बनारसमा उनले ‘तारा’ नामको उपन्यास लेखे तर त्यो पनि हरायो । कहाँ र कसरी भेउ नै पाएनन् ।

    उपन्यास लेखनको यही हुटहुटीले मोहनविक्रमलाई ‘जलजला’ लेखायो । लेखिसक्नै करिब २२ वर्ष लाग्यो । उनले उपन्यासलाई भन्दा पार्टी काम, राजनीतिक लेख र पुस्तकको लेखनलाई महत्त्व दिँदा पनि समय लामो लागेको हो तर त्यति मात्र पनि होइन, पाँच लाख शब्द, आठ भाग र ८० अध्यायको उपन्यास भीमकाय छ । उपन्यास जति लामो छ, लेख्नका लागि गरेको सङ्घर्ष पनि उति नै महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।

    मोहनविक्रम भन्छन्– “जलजला उपन्यास लेखनको अन्तरकथा लिपिबद्ध गर्ने हो भने त्यसको आकार उपन्यासभन्दा दुई गुणाभन्दा ठुलो हुन्छ तर त्यति ठुलो पुस्तक लेख्ने मेरो योजना छैन, न त म त्यसका लागि आवश्यक समय दिने अवस्थामा नै छु । समय भयो भने २–३ सय पेजको अन्तरकथा लेख्न सक्छु ।”

    नेपालदेखि युरोप र अन्तरिक्षसम्मको विषय

    विद्या ढकाललाई पार्टीले पूर्णकालीन कार्यकर्ता बनाएर रोल्पाको थबाङ पठाएको थियो । त्यहाँ जानुअघि उनलाई नयाँ नाम दिइएको थियो जलजला । यो नामकरण मोहनविक्रमले नै गरेका थिए । जलजला उपन्यास त्यही थबाङबाट सुरु हुन्छ ।

    पहिला त मोहनविक्रमले जलजलाको विषय मात्र समेटेर उपन्यास लेख्ने सोच बनाएका थिए । सामान्य प्लट थियो, जहाँ प्रेम र राजनीति आउँथ्यो । मानव मनोविज्ञानलाई पनि विषय बनाउने सोचेका थिए । “तर ती विषयमा जोडिएका र छोइने सबैलाई विस्तारमा हेर्दै जाने मेरो प्रयत्न भयो अनि यसको कथा रोल्पा हुँदै भारतको कुमाउ, फर्किएर काठमाडौँ, चितवन, रुपन्देही, कपिलवस्तु, कर्णाली, फ्रान्स, जर्मनी, रुस, युनान मात्र नभई अन्तरिक्षसम्म पुग्यो” उनी भन्छन्।

    यो उपन्यासको समय नेपालको पञ्चायत कालखण्ड हो । यसमा नेपालको राजनीति, संस्कृति र इतिहास छ । बेथिति छ । अष्टमात्रिकाबारे पनि उल्लेख गरेका छन् । त्यसपछि कुमाउको विस्तृत इतिहास र संस्कृति छ ।

    उपन्यासको मूल पात्र जलजला भए पनि उनलाई ज्यादै कम मात्र भेटिन्छ । अर्को मुख्य पात्र अजित पनि पहिलो र अन्तिम अध्यायमा मात्र आउँछ ।

    कथालाई सुरुदेखि अन्त्यसम्म डोर्‍याउने काम सुनन्दाले गरेकी छिन् । उनी कुमाउकी बासिन्दा र दिल्ली युनिभर्सिटीकी सोधछात्रा (रिसर्च स्कलर) हुन्छिन् । नेपाल र कुमाउको मध्यकालीन इतिहासबारे विद्यावारिधि गर्दै छिन् । त्यही क्रममा धेरै ठाउँको भ्रमण गर्छिन् र पाठकलाई आफूसँगै घुमाउँछिन् ।

    उपन्यासको पहिलो भाग कुमाउको संस्कृति, पर्यावरण, आन्दोलन, इतिहासलगायतसँग सम्बन्धित छ । कुमाउबारे अध्ययन गर्न मोहनविक्रम धेरैपटक पत्नी दुर्गासँग त्यहाँ पुगेका थिए, पात्रलाई भेटेका थिए । त्यसअघि जलजलासँग प्रेममा पर्दा पनि धेरैपटक कुमाउ घुमघाम गरेका थिए ।

    तर उपन्यासमा जलजलाले नभई सुनन्दाले कुमाउ घुमाउँछिन् । सुनन्दा सुरुमा गान्धीवादी हुन्छिन् । क्रमश: आफूलाई माक्र्सवादी–लेनिनवादी बनाउँछिन् । लेखकले पछि उनैमा जलजला पात्र देख्न थाल्छन् ।

    उपन्यासको दोस्रो भाग काठमाडौँ उपत्यकाको संस्कृति, इतिहास, मठमन्दिर, राजनीतिसँग सम्बन्धित छ । खासगरी, पञ्चायतका भ्रष्टाचार, कम्युनिस्ट पार्टीले गरेका सङ्घर्षलगायत विषय समावेश छ ।

    तेस्रो भाग जलजलाको गृहजिल्ला चितवनबाट सुरु हुन्छ । यो भागमा पात्रलाई ढुङ्गे युगसम्म पुर्‍याइएको छ । रामापिथेकसको दाँत भेटिएको बुटवल क्षेत्र र बुद्ध जन्मेको कपिलवस्तु लगिएको छ । तीनओटा जाति मगर, थारू र खसबारे विस्तृत अध्ययन गरिएको छ ।

    चौथो, पाँचौँ र छैटौँ भागमा नेपाल र भारतका विभिन्न ठाउँ घुमेर सुनन्दाले इतिहास, राजनीति, संस्कृतिलगायतसँग सम्बन्धित घटना सुनाउँछिन् । कतिपय वास्तविक पात्रलाई उपन्यासमा राखिएको छ तर ती औपन्यासिक पात्र भएर आएको मोहनविक्रम बताउँछन् ।

    उनले लक्ष्मीप्रसाद देवकोटा, सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, पुष्पलाल, निर्मल लामा, चित्रबहादुर केसी, खगुलाल गुरुङ, रश्मिराज नेपाली, बर्मन बुढालगायतलाई पात्र बनाएका छन् । गढवालका चन्द्रसिंह गढवाली, सरला बहन, कुमाउका सुन्दरलाल बहुगुणा, विमला बहुगुणा पनि वास्तविक पात्र हुन् ।

    उपन्यासको सातौँ भागमा नेपालको कर्णालीदेखि युरोपसम्मको यात्रा छ । खासगरी फ्रान्सको साहित्य, संस्कृति र राजनीतिक आन्दोलन, जर्मनीमा हिटलरको फासिवाद र त्यस विरुद्धको आन्दोलनबारे लेखिएको छ । रुसको प्रतिक्रान्ति, इरानको प्राचीन सभ्यता, दर्शन र बलिदानको कहानी छ । त्यसपछि फेरि उनले पाठकलाई पश्चिम नेपाल फर्काउँछन् । प्युठान र रोल्पा लैजान्छन् ।

    उपन्यास लेख्ने क्रममा जुन ठाउँको उल्लेख गरेका छन्, त्यहाँ मोहनविक्रम आफैँ पुगेका छन् । पार्टी कामको सिलसिलामा फ्रान्स, जर्मनी र रुस जाँदा त्यहाँको संस्कृति, इतिहास र राजनीतिबारे बुझे, अध्ययन सामग्री लिएर आए । फ्रान्सका डा. बिनोइट केलमेलले उनी र प्युठानमा उनको पार्टीको गतिविधिको विषयमा पेरिस युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन् । उनै केलमेलले फ्रान्ससँग सम्बन्धित सामग्री मोहनविक्रमलाई उपलब्ध गराए । जर्मनीमा त्यहाँको कम्युनिस्ट पार्टी एमएलपिडीका ‘कमरेड’ ले सहयोग गरे । उनी पार्टी कामकै सिलसिलामा विदेश जाने हुँदा अध्ययनमा सहज भयो ।

    उपन्यासको दृष्टिकोण के ?

    जलजलासँग मोहनविक्रमको प्रेमका कारण जन्मिएको उपन्यास हो यो तर यसको दृष्टिकोण माक्र्सवादी भएको उनी बताउँछन् । त्यतिमा मात्र सीमित नभई उपन्यासको मूल विषय सर्वहारा विश्वदृष्टिकोण भएको उनको भनाइ छ । त्यहाँ प्रेम छ† धर्म र सत्ताले विकृत बनाएको समाज विरुद्ध आन्दोलन छ र मानवीय मूल्यको महत्त्व देखाइएको छ ।

    उनका अनुसार माक्र्सवादी दृष्णिकोणले पनि साहित्य र राजनीति एकअर्कासँग जोडिने मान्यता राख्छ । “साहित्य भनेको समाज हो । समाजका गतिविधि हुन्छन् । समाजको मनोविज्ञान हुन्छ । त्यो राजनीतिसँग जोडिएको हुन्छ । त्यस किसिमले साहित्यलाई पनि हामीले कम्युनिस्ट आन्दोलनका रूपमा हेर्ने गर्छौं” उनी भन्छन् ।

    तर साहित्य नाराबाजी हुनुहुँदैन भन्नेमा आफू सचेत रहेको उनले बताए । विचारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु नै साहित्य भएको पनि बताए । “साहित्यको सौन्दर्य पक्ष, कला पक्षलगायत आफ्नै रूप हुन्छ । त्यसको भाव पक्ष हुन्छ । त्यसलाई साहित्यको रूपमा नै स्थापित गर्ने प्रयत्न गरेको छु” उनी भन्छन् ।

    प्रगतिवादी समीक्षकहरू साहित्यमा कलालाई भन्दा विचारलाई बढी महत्त्व दिन्छन् । आन्दोलनका बेला साहित्य/कविता पनि नारा बन्ने उनीहरूको मत हुन्छ । रामेश र रायनले गाएको ‘गाउँ गाउँबाट उठ’ गीत २०६२–६३ सालको आन्दोलनमा नारा भएको उदाहरण दिन्छन् तर मोहनविक्रम सिंह केही फरक सुनिए ।

    “सिधै खुला रूपमा भन्न त साहित्य नै चाहिएन, राजनीतिक दस्तावेज त्यस्तै हुन्छ नि । म राजनीतिक दस्तावेज लेखेकै मान्छे हुँ ।

    राजनीतिक किताब पनि लेखेको छु” उनी भन्छन्– “साहित्यमा कलापक्ष महत्त्वपूर्ण हुन्छ । विचारलाई कलात्मक रूपमा भन्न सक्नुपर्छ ।”

    (उकालो डट कम, २०८० मंसिर २३, शनिबार बाट)

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.