मोहनविक्रम सिंह ##
बालबालिकाको आफ्नै संसार हुन्छ । उनीहरूसित सम्बन्धित मेरा कैयौँ आत्मीय, सरल र मधुर संस्मरण रहेका छन् । यस अङ्कमा मैले त्यस प्रकारका केही संस्मरणको उल्लेख गर्ने प्रयत्न गर्दै छु ।
१. सुन्तला माग्दै बच्चा कराउँदा
म चेन्नईबाट रेलद्वारा दिल्लीतिर जाँदै थिएँ । मैले चेन्नईमा नै एक किलो सुन्तला किनेको थिएँ । मैले रेलमा एउटा सुन्तला फोकेर खाएँ । म बसेको सिटको पल्तिरको सिटमा एउटा अधबैँसे व्यक्ति, उनकी पत्नी र उनीहरूको एक जना सात वर्षजतिको छोरो बसेका थिए । मैले सुन्तला खाएको देखेर त्यो बालक पनि ‘सुन्तला’ भन्दै कराउन थाले । रेलमा कतै सुन्तला किन्ने ठाउँ थिएन । मेराअगाडि बसेका अधबैँसे व्यक्तिले आफ्नो छोरालाई सम्झाउने धेरै कोसिस गरे तर बालक कराई नै रहे ।
मैले आफूसित भएका दुईओटा सुन्तला त्यो बालकलाई दिन खोजेँ । मैले सिधै त्यो बालकलाई सुन्तला दिन मिल्दैनथ्यो । त्यसैले मैले बालकको बाउलाई सुन्तला दिएर बालकलाई दिन भनेँ तर उनले मबाट सुन्तला लिन अस्वीकार गरे । त्यसरी कुनै अपरिचित व्यक्तिबाट सुन्तला लिनु राम्रो पनि हुँदैनथ्यो । उनी त्यही सोचेर उनले मबाट सुन्तला नलिएका होलान् तर बालक ‘सुन्तला’ भन्दै लगातार कराइरह्यो ।
बालक ‘सुन्तला’ भन्दै कराएको देखेर मलाई त्यो बच्चालाई सुन्तला दिन धेरै नै मन लागेको थियो । केही बेरसम्म मैले त्यो बालकलाई सुन्तला कसरी दिने भनेर सोचिरहेँ । अन्तमा मैले आफूलाई रोक्न सकिनँ र आफ्नो अगाडि बसेका व्यक्तिलाई भने– ‘बालकलाई सुन्तला खाना धेरै मन लागेको छ । त्यसका लागि कराइरहेको छ ।’
मैले अगाडि भनेँ– ‘तपाईंले यस्तो गर्नुस्, मैले दिएको सुन्तला त्यसै लिन तपाईंलाई राम्रो लागेन भने मलाई सुन्तलाको पैसा दिनुस् र बालकलाई सुन्तला खान दिनुसु ।’
ती व्यक्तिले केही बेरसम्म मेरो मुखमा हेरिरहे । त्यो बालककी आमा र बच्चाले पनि घोरिएर मेरो मुखमा हेरिरहे । त्यसपछि त्यो बच्चाको बाउले मलाई भनेँ : ‘हुन्छ, सुन्तला दिनुस् ।’
मैले दुईओटा सुन्तला दिएँ । त्यो बेला त्यो बच्चाको अनुहारमा जुन प्रशन्नताको भाव देखा परेको थियो, त्यो भावलाई मैले अहिलेसम्म पनि सम्झिन्छु । त्यो बेलाको त्यो बच्चाको मुहारको भावलाई सम्झेर मलाई अहिलेसम्म पनि धेरै नै आनन्द लागेर आउँछ ।
२. बसमा सिट नपाएकी बालिका
म पान्डिचेरीबाट बसमा मद्रास (अहिलेको चेन्नई) तिर जाँदै थिएँ । बसमा धेरै भिड थियो । दुई जना बाउआमा र उनीहरूको सात/आठ वर्षकी एउटी छोरी सिट नपाएर बसमा उभिएका थिए । मैले बच्चीलाई ल्याएर आफ्नो काखमा राखेँ । केही बेरपछि बसका मान्छे झर्दै गए र त्यो बच्चीका बाउआमा पनि आफ्नो सिटमा गएर बसे । मेरो काखमा बसेकी बच्ची पनि मेरो काखबाट उठेर गएर आफ्ना बाउआमासित सँगै बसिन् ।
केही बेरपछि बस एक ठाउँमा खाजा खाने भनेर रोकियो । मैले पनि चियाखाजा खान बाहिर जाने विचार गर्दै थिएँ, त्यही बेला मेरो काखमा बसेकी बच्चीले प्लास्टिकको एउटा थालमा केही नास्ता ल्याएर मलाई दिइन् । उनीहरूले घरैबाट केही नास्ता बनाएर ल्याएका थिए र मलाई पनि उनीहरूका बाउआमाले भाग छुट्याएर पठाइदिएका थिए ।
उनीहरूले मलाई पनि नास्ता पठाइदिएको देखेर धेरै खुसी लाग्यो । उनीहरूको भाषा पनि तामिल थियो र मैले बुझ्दैनथेँ तर भाषा नबुझे पनि मलाई नास्ता दिने बेलामा त्यो बच्चीको मुखमा जुन प्रकारको आत्मीयताको भाव थियो, त्यो देखेर मलाई धेरै खुसी लाग्यो ।
मैले पछाडि फर्केर त्यो बच्चीका बाउआमाको मुखमा हेरेँ । बच्चीको बाउले मुखले केही भने । मैले उनीहरूको कुरा बुझिनँ तर उनले हातको इसारा गर्दै भने जस्तो लाग्यो : ‘खानुस्’ । मैले धेरै नै प्रशन्न हुँदै त्यो नास्ता खाएँ ।
केही बेरपछि उनीहरू बसबाट झरे । झर्ने बेलामा ती बच्ची र उनीहरूका बाबुआमा दुवै जना हाँस्दै बिदा भए । सानी बच्चीले पनि मलाई हात जोडेर ‘नमस्ते’ गरिन् । मैले धेरै बेरसम्म उनीहरू गएको दिशामा हेरिरहेँ ।
३. बसबाट टाउको बाहिर निकाल्ने बालक
म काठमाडौँको कलङ्कीबाट बसबाट रत्नपार्कतिर जाँदै थिएँ । म बसेको सामुन्नेको सिटमा एउटा महिला र उनको पाँच/छ वर्षको एउटा छोरा बसेका थिए । छोरो झ्यालतिर बसेको थियो । उसले आफ्नो टाउको बारम्बार झ्यालबाट बाहिर निकाल्थ्यो । उसकी आमाले टाउको बाहिरतिर ननिकाल्न भन्थिन् तर उसले झन् जोडले टाउको बाहिर निकाल्दथ्यो ।
मैले उसकै आमालाई भनेँ– ‘तपाईंले केही नभन्नुस्, मैले उसलाई सम्झाउँछु ।’
मैले त्यो बालकतिर फर्केर कडा स्वरले भनेँ– ‘टाउको बाहिर निकाल !’
मैले दुई/तीनपल्ट टाउको बाहिर लैजान भनेँ तर उसले ‘बाहिर लैजान्न’ भन्दै टाउको झन् जोडदार किसिमले भित्र ल्याउने गरिरह्यो ।
त्यसरी त्यो बालकलाई टाउको भित्र लगेको देखेर त्यसकी आमा पनि खुसी भएर हाँसिन् र सिटमा बसेका अरू मानिस पनि हाँसे ।
४. समीरको भात खाने ढङ्ग
त्यो बेला समीर सानै थियो । सायद पाँच/छ वर्षको थियो होला । उसले र मैले आआफ्ना थालमा सँगै खाना खाँदै थियौँ । खाना खाने थालबाट त्यसले धेरै नै भात बाहिर पोखेको थियो । त्यो देखेर मैले भने– ‘तिम्रो भात खाने ढङ्ग नै छैन । यतिका भात पोखेका छौ ।’
उसले पनि मैले खाइरहेको थालतिर हेर्यो । मेरो थालबाट पनि केही भात बाहिर पोखिएको थियो । त्यसले मेरो थालबाट पोखिएको भात देखाउँदै भन्यो : ‘मेरो पनि ढङ्ग छैन । बुबाको पनि ढङ्ग छैन ।’
५. विश्व हामीलाई छोडेर भाग्न खोज्दा
म, दुर्गा र विश्व लखनऊमा एउटा कोठा लिएर डेरा गरेर बसेका थियौँ । त्यो बेला विश्वको उमेर त्यही सात/आठ वर्षको जति थियो होला ।
एक दिन त्यो धेरै नै रिसायो । त्यसले ‘म यहाँ बस्दिनँ, नेपाल जान्छु’ भन्दै ढोकाबाट बाहिर निस्कियो । बाहिर निस्केर ऊ बाटामा अगाडि बढ्दै गयो । म पनि उसलाई केही नभनिकन पछाडि पछाडि गएको थिएँ । उसले बिचमा फर्केर हेथ्र्यो र मलाई पछाडि पछाडि आएको देखेर झन् अगाडि दगुथ्र्यो ।
त्यति सानो बालकलाई एक्लै कतै जान लागेको देखेर एउटा मान्छेले ऊसँग नजिक आएर उसलाई भन्यो– ‘जाने कहाँ हो ?’ त्यो मान्छेले उसलाई समात्न खोज्यो ।
त्यो मान्छे को थियो ? उसलाई किन समात्न खोजेको थियो ? त्यो त मलाई थाहा भएन तर त्यो मान्छेले समात्न खोजेको देखेर ऊ धेरै नै आत्तियो । ऊ पछाडि फर्केर दुगर्दै आयो र मलाई अँगालो हाल्यो ।
६. दिव्यका भ्रातृप्रेम
एकपल्ट कुनै कुरामा रिसाएर दुर्गाले विश्वलाई पिट्न थालेकी थिएन् । उनले एकदुई चोट विश्वलाई हानी पनि सकेकी थिइन् । त्यही बेला विश्व भुइँमा रुँदै पल्टिएको थियो । त्यही बेला दिव्यले दाइलाई अँगालो हालेर उसमाथि सुत्यो र भन्न थाल्यो– ‘ममी, दाइलाई नपिट्नुस्’ ।
दिव्यले दाइलाई नपिट्न भनेर त्यसरी अँगालो हालेको देखेर हामी सबै दङ्ग पर्यौँ र दुर्गाले विश्वलाई पिटिनन् ।
७. चोरसँगको समझदारी
त्यो केटाको नाम त अहिले मलाई याद छैन तर त्यो बेला त्यसको उमेर १२ वर्षजतिको थियो होला तर उसले सानै उमेरदेखि चोरी गर्ने गरेको थियो र त्यो कुरा गाउँमा सबैलाई थाहा थियो ।
त्यो बेला मेरो नाममा वारेन्ट थियो । ओखरकोटको दाजीको घरमा त्यो बेला कोही बस्दैनथ्यो । त्यसैले भूमिगत भएको बेलामा म प्रायश: त्यो घरमा एक्लै बस्ने गर्दथेँ । त्यो घर खाली छ भन्ने कुरा सबैलाई थाहा थियो । त्यसैले त्यो घरमा कोही आउने गर्दैनथ्यो । त्यसैले राती भएपछि म यताउता जाने गर्दथेँ र दिउसो त्यही घरमा बस्ने गर्दथेँ ।
एक दिन दिउसो म त्यही घरमा बसेको थिएँ । त्यही बेला त्यो चोर केटो झ्यालको बाटो त्यही कोठामा पस्यो । मलाई देखेर त्यो केटो पनि डरायो । उसलाई देखेर म पनि तर्सिएँ । त्यो केटालाई चोरी गर्न आएको थाहा पाएर मैले पक्रन्छु भनेर ऊ डराएको थियो । त्यसले म यहाँ बसेको कुरा हल्ला गर्दिन्छ र त्यो कुरा पुलिसलाई पनि थाहा हुन्छ भनेर म तर्सेको थिएँ ।
मैले उसलाई भने– ‘तिमी यहाँ चोर्न आएको कुरा थाहा भयो भने गाउँका मान्छेहरूले तिम्लाई पक्रन्छन् र पुलिसलाई बुझाउने छन् । त्यसैले तिमी यहाँ आएको र मलाई देखेको कुरा कहिँ नबताउनू ।’
त्यसपछि हामीमाझको कुरा त्यही साम्य भयो : मैले उसको कुरा गरिन† उसले मेरो कुरा गरेन ।