मोहनविक्रम सिंह ##
म सर्वप्रथम २००९ सालमा विदेशी हस्तक्षेप विरोधी संयुक्त विद्यार्थी आन्दोलनको सिलसिलामा काठमाडौँको भद्रगोल जेलमा परेँ । त्यसपछि २०११ सालमा प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनको सिलसिलामा अन्य पाँच जना साथीसहित हामी प्युठानको जेलमा पर्यौँ । त्यहाँबाट अन्य दुई जना साथीसहित हामीलाई पाल्पाको जेलमा चलान गरियो । पछि हाम्रो मुद्दा सल्यान पुनरावेदन अदालतमा गयो र हामीलाई प्युठान हुँदै पुन: सल्यान जेलमा चलान गरियो । त्यहीँबाट करिब डेढ वर्षपछि हामी जेलबाट मुक्त भयौँ ।
२०१८ सालको फागुनमा अन्य दुई जना कामरेडसहित हामी तौलिहवाबाट गिरफ्तार भयौँ । त्यहाँ हामीलाई करिब चार वर्ष राखियो । अन्य दुई जना साथी शक्ति लम्साल र खिमानसिङ गुरुङ त्यहीँबाट छुट्नुभयो भने मलाई त्यहाँबाट भैरहवा जेलमा चलान गरियो । त्यहाँ म करिब एक वर्षजति बसेँ । त्यहाँबाट मलाई काठमाडौँको सेन्ट्रल जेलमा चलान गरियो । त्यसपछि मलाई हनुमानढोका, डिल्लीबजारको खोर र नख्खु जेलमा बेग्लाबेग्लै समयका लागि राखियो । त्यसपछि मलाई लामो समयसम्म काठमाडौँको भद्रगोल जेलमा राखियो र अन्तमा २०२७ सालको चैतमा त्यहीबाट मुक्त गरियो ।
त्यसको एक वर्षपछि मेरो नाममा वारेन्ट काटियो । त्यसपछि मेरो करिब पाँच दसकको भूमिगत र अर्धभूमिगत जीवन सुरु भयो । त्यो कालसित सम्बन्धित मेरा थप्रै संस्मरण छन् तर अहिले म तिनीहरूको चर्चा गर्नपट्टि लाग्दिनँ र भविष्यमा कुनै बेला तिनीहरूलाई उल्लेख गर्ने प्रयत्न गर्ने छु । अहिले यहाँ मैले जेलजीवनसित सम्बन्धित केही संस्मरणको नै उल्लेख गर्ने प्रयत्न गर्ने छु ।
यस सिलसिलामा पार्टीबाट निष्काशित भएपछि दक्षिण भारततिर जाँदा त्यो बेलाको मद्रास, अहिलेको चेन्नईमा गिरफ्तार भएर त्यहाँको जेलमा करिब १५ दिन बिताएको छोटो अनुभव पनि रहेको छ । त्यो जेलसित सम्बन्धित केही संस्मरणलाई पनि उल्लेख गर्ने प्रयत्न गर्ने छु । निश्चय नै त्यस प्रकारका संस्मरण सैद्धान्तिक वा वैचारिक प्रकारका नभएर सामान्य र व्यक्तिगत घटनासित नै सम्बन्धित हुने छन् ।
विभिन्न समयमा गिरफ्तार हुँदा पुलिसहरूले कसरी झुटा रिपोर्ट तयार पार्दछन् ? त्यसबारे पनि मलाई केही अनुभव हुने गरेको छ ।
विद्यार्थी आन्दोलनको बेलामा काठमाडौँमा गिरफ्तार हुँदा हामीसितै गिरफ्तार भएको एक जना विद्यार्थी साथी—त्यो पनि धेरै नै लडाकु साथी—पुलिसको सिआइडी भएको कुरा थाहा भएको थियो । ऊ हामीसित नै जुलुसमा सामेल थियो र त्यसले चर्का नारा पनि लगाउने गर्दथ्यो । उसले ढुङ्गा टिपेर पुलिसलाई पनि हान्ने गर्दथ्यो । हामीले उसलाई रोक्न खोज्दा उसले झन् उर्फी उर्फी नारा लगाउने गर्दथ्यो ।
हामीलाई गिरफ्तार गरेर हनुमान ढोकामा लगेपछि उसले पुलिस अफिसरलाई सलाम गर्यो र हामीले पुलिसमाथि ढुङ्गा हानेको रिपोर्ट गर्न थाल्यो । उसको त्यस प्रकारको व्यवहारबाट मलाई थाहा भएको थियो, पुलिसले पार्टी वा जुलुसमा कसरी घुसपैठ गर्ने गर्दछन् ।
२००९ सालमा म, जस्तो कि माथि लेखियो, विद्यार्थी आन्दोलनको सिलसिलामा भद्रगोल जेलमा परेको थिएँ । त्यो बेला हामीलाई एक महिनाजति जेलमा राखिएको थियो । त्यहाँ म एक जना लाल कम्युनिस्ट पार्टीका नेता—अहिले मलाई नाम याद भएन—सित सँगै बसेको थिएँ । त्यो बेला मैले माक्र्सवाद–लेनिनवाद वा कम्युनिस्ट पार्टीलाई समर्थन गर्दैनथेँ र म तिनीहरूका विरुद्ध थिए । त्यसैले लाल कम्युनिस्ट पार्टीका नेतासित मेरो चर्काे छलफल हुने गर्दथ्यो ।
तौलिहवामा २०१८ सालमा हामीलाई गिरफ्तार गरेर थानामा लगेपछि थानामा पुलिसले दुई जना केटा हाम्रा अगाडि प्रस्तुत गरेका थिए । उनीहरूले हाम्रा विरुद्ध यो रिपोर्ट गरेका थिए : ‘यिनीहरूले सुपाखोलामा (अहिलेको अर्घाखाँचीमा ठाँडानजिकै पर्ने एउटा स्थान) हाम्रो हुलाकी सामग्रीलाई लुटेर आगो लगाइदिएका थिए ।’ त्यसरी पुलिसले हामीमाथि हुलाक लुटेको र जलाएको समेत आरोपमा ‘अराष्ट्रिय तत्त्व’ को मुद्दा लगाएर जेलमा हाल्न खोजेका थिए । संयोगले त्यो बेला तौलिहवाको हाकिम कृतिबहादुर विष्ट हुनुहुन्थ्यो । उहाँ रत्नबहादुर विष्ट—जो पछि सर्वाेच्च अदालतको प्रधाना न्यायाधीश पनि बन्नुभएको थियो—को भाइ पर्नुहुन्थ्यो । रत्नबहादुर विष्टसित हाम्रो बुबाको मित्रता थियो । म खिम बिक्रमको छोरा भएको थाहा पाएपछि तौलिहवाको बडाहाकिमले हाम्रा विरुद्ध पुलिसले लगाउन खोजेको हुलाक लुटेको मुद्दा लगाउन दिनुभएन । हामीलाई १०/१२ दिनसम्म रातको समयमा आफ्नै निवासमा राखेर राजा र व्यवस्थालाई मानेर गिरफ्तारीबाट बचाउन उहाँले धेरै कोसिस गर्नुभएको थियो । हामीले नमानेपछि हामीलाई सुरक्षा कानुनअन्तर्गत जेलमा पठाउनुभएको थियो ।
जेलमा परेपछि सबै जेलबन्दीसित हाम्रो घनिष्टता हुने गर्दथ्यो । उनीहरूको जीवनबारे हामीलाई धेरै थाहा हुन्थ्यो । जेलमा ज्यान, डकैती, चोरी आदि मुद्दामा परेका पनि धेरै बन्दी हुन्थे तर त्यसका साथै कतिपय सामन्त, जालिफटाहा वा जमिनदारले झुटा मुद्दामा फसाएर जेलमा पठाएका बन्दी पनि ठुलो सङ्ख्यामा हुन्थे । जेलमा परेपछि हामीलाई जेलबन्दीको जीवनबारे जान्ने वा उनीहरूको विषयमा अध्ययन गर्ने धेरै राम्रो अवसर प्राप्त भयो । उनीहरूको जीवनमा कतिपय विचित्रता पनि हुन्थे ।
२०११ सालमा प्युठानको जेलमा परेपछि एउटा विचित्र प्रकारको बन्दीसित हाम्रो भेट भएको थियो । उनी ज्यानमुद्दामा जेलमा परेका थिए । त्यसरी जेलमा परेकोमा उनी यति धेरै असन्तुष्ट र निराश थिए कि उनीहरू कसैसित बोल्ने पनि गर्दैनथे । एक छाक मात्र खाना खान्थे । उनले आफ्नो खाना पकाएको कसौडी पनि कहिले माज्दैनथे । उनको त्यस प्रकारको व्यवहार देखेर हामीलाई धेरै नै आश्चर्य र दु:ख पनि लागेर आउथ्यो ।
पछि मैले आफ्नो उपन्यासमा भैरहवाकी एक जना महिला बन्दीको त्यही प्रकारको चरित्रको चित्रण गर्ने प्रयत्न गरेको छु । उनले आफ्नो खाना पकाएको भाडा कहिल्यै पनि माज्दैनथिन् । उनी कसैसित बोल्दैनथिन् । सधैँ रिसाएको जस्तो देखिन्थिन् । उनको त्यो चरित्र चित्रण गर्दा मैले प्युठान जेलका एउटा वास्तविक बन्दीको नै चरित्र चित्रण गर्ने प्रयत्न गरेको छु ।
कपिलवस्तु जेलमा मलाई विभिन्न बन्दीको जीवन वा शैलीबारे धेरै कुरा थाहा भयो । तिनीहरूमध्ये एउटा बन्दी जमिन्दारको हत्याको आरोपमा जेलमा परेका थिए । उनको नाम परमेश्वर थियो । उनी अत्यन्त सिधा स्वभावका व्यक्ति थिए । उनले कुनै मान्छेको हत्या गर्ने कुरा परै छ, सामान्य किराफट्याङ्ग्रालाई पनि मार्न सक्दैनथे भन्ने देखिन्थ्यो तर उनले अदालतमा पनि आफूले नै जमिन्दारको हत्या गरेको साविति बयान दिएका थिए भने जेलमा पनि लगातार त्यो कुरा दोहोर्याइरहन्थे तर उनको कुरा माथि कसैले पनि विश्वास गर्दैनथ्यो ।
पछि थाहा भयो, उनकी दिदीको आँगनमा एउटा जमिन्दारले जबरजस्ती किलो ठोकेर त्यहाँ आफ्नो गाई बाध्न थालेको थियो । त्यो घटनाबाट उनकी दिदी धेरै नै रुने गर्दथिन् । त्यसपछि उनले आसपासका गाउँको एउटा मानिसलाई सम्पर्क गरेर त्यो जमिनदारलाई मारिदिन अनुरोध गरे । उनले यो पनि कबुल गरेका थिए कि त्यो जमिनदारलाई मारेपछि त्यसको जिम्मा उनले लिने छिन् र त्यसको पूरै सजाय उनले नै भोग्ने छन् ।
आखिर भयो पनि त्यही नै । त्यो मान्छेले आएर जमिनदारलाई मारिदियो र परमेश्वरले ती मुद्दामा साविति बयान दिएर जेलमा बसे । अब उनलाई आजीवन कैदको सजाय भएको थियो र त्यसरी सारा जीवन जेलमा बिताउन उनी सहर्ष तयार भएका थिए । आफ्नी दिदीलाई जमिन्दारको अन्यायबाट बचाउन उनी त्यस प्रकारको त्याग र बलिदान गर्न तयार भएका थिए र त्यसका लागि उनलाई ठुलो सन्तोष थियो ।
तौलिहवा जेलमा नै चुवा भन्ने एउटा १४/१५ वर्षको केटो थियो । ऊ चोरी मुद्दामा जेलमा परेको थियो । त्यो बेलासम्म ऊ पाँच/छपल्ट जेलमा परेको थियो । उसले हात्तीको बोली पनि जानेको थियो । प्रायश: कसैको हात्ती चोरेर लगेर दिउँसो कसैको घरमा पसेर चोरी गर्ने गर्दथ्यो । उसको बानी दिउँसोमा मात्र चोरी गर्ने थियो । ऊ त्यति सानो उमेरमा पनि भारतका धेरै ठाउँमा घुमेको थियो र उसलाई विभिन्न ठाउँमा गाली गर्ने शब्दको धेरै नै ज्ञान थियो । कसैले सोध्यो भने उसले खररर पन्जाब, बम्बई, मद्रास, कोलकत्ता आदि ठाउँका गालीमा प्रयोग गर्ने शब्द बताउन सक्दथ्यो । अब उसको उमेर ७५ वर्षको भइसकेको होला । पछि उमेर छिप्पिँदै गएपछि उसले कति धेरै ठाउँमा चोरी गर्यो होला ? अहिले ऊ कहाँ र कस्तो होला ? त्यो जान्नका लागि म उत्सुक भइरहन्छु । ऊ तौलिहवा वा अहिलेको कपिलवस्तुको मान्छे थियो । त्यसैले तौलिहवाका मान्छेलाई उसबारे ज्ञान हुन सक्दछ ।
तौलिहवाको जेलमा भएका एक जना हरिराम श्रीवास्तवलाई पनि मैले धेरै सम्झन्छु । उनी डकैती मुद्दामा जेलमा परेका थिए । उनी धेरै नै साहसी र लडाकु पनि थिए । एकपल्ट उनले जेलबाट भाग्ने प्रयत्न पनि गरेका थिए तर गिरफ्तार भएका थिए । त्यही जेलमा भएको बेलामा उनी पार्टीको सम्पर्कमा आएका थिए र जेलबाट छुटेपछि पार्टीको सदस्य पनि भएका थिए । उनले पिरो र रक्सी धेरै नै खान्थे । उनले मासु पकाए भने यति धेरै खुर्सानी हाल्दथे कि अरू कुनै मान्छेले मुस्किलले नै त्यो मासु खान सक्दथ्यो । जेलबाट छुटेपछि एकपल्ट कृष्णनगरबाट घरतिर जाने बेलामा बाटामा एउटा पोखरीमा डुबेछन् र त्यही उनको मृत्यु पनि भएको थियो ।
पाल्पाका जेलसँग सम्बन्धित मेरा अनुभव धेरै छन् । त्यो जेलमा त्यहाँका नाइके र जेलरसमेतका विरुद्ध हामीले सङ्गठित रूपले धेरै आन्दोलन गरेका थियौँ । त्यस सिलसिलामा जेलभित्र नाराजुलुस, भूमिगत रूपले पाल्पा जेलबन्दी सङ्घको गठन (त्यसको सम्मेलनको रिपोर्ट ‘चार दसक’, द्वितीय भागमा प्रकाशित भएको छ) र अक्टोबर दिवसको कार्यक्रम आदि सम्पन्न भएका थिए । जेलभित्रको आन्दोलनको सिलसिलामा मैले एकपल्ट त्यहाँको जेलरलाई जुत्ताले पनि हानेको थिए । ती सबै कुराको मैले पहिलेका संस्मरणमा उल्लेख गरिसकेको छु । त्यसैले तिनीहरूबारे मैले विस्तृत रूपले चर्चा गर्न चाहान्न ।
जस्तो कि मैले माथि उल्लेख गरेँ, मद्रासको जेलमा म करिब १५ दिन मात्र बसेँ । त्यो जेल अत्यन्त ठुलो थियो र त्यहाँ हजारौँ बन्दी थिए । मलाई एउटा बेग्लै कोठामा राखिएको थियो र बेलुका सबै कोठामा ताल्चा लगाउने गरिन्थ्यो । त्यहाँ धेरैजसो बन्दीले तामिल नै बोल्दथे । कसैकसैले फाट्टफुट्ट रूपमा हिन्दी र अङ्ग्रेजी पनि बोल्दथे ।
त्यहाँ एक दिन धारामा नुहाउन गएको बेलामा साबुन धारामा नै बिर्सेर गएछु । पछि बन्दीहरूले एउटा केटालाई देखाउदै भनेँ : ‘त्यो केटाले नै तपाईंको साबुन चोरेको हुन सक्दछ ।’ त्यो केटो चोरी मुद्दामा नै जेलमा परेको थियो र जेलभित्र पनि कसैको सामान पाएमा प्रायश: चोर्ने गरिरहन्थ्यो । त्यो केटाको चोर्ने बानीबारे जेलमा सबैजसोलाई थाहा थियो ।
बन्दीहरूले मेरो साबुन चोरेको कुरा गरेपछि त्यो केटाले आएर मेरो साबुन फर्काइदियो तर त्यसले ठुलो स्वरले हल्ला गर्दै भन्यो : ‘मेरो गल्ती होइन’ । मतिर सङ्केत गर्दै त्यसले भन्यो : ‘त्यो मान्छेले मेरो बेइज्जत गरेको छ । गल्ती त्यसैको हो । त्यसले धारामा साबन नछोडेको भए मैले किन लैजान्थे ?’ ठुलो स्वरले त्यस प्रकारको हल्ला गर्दै जेलभरि घुमेको थियो । उसले सबै कुरा तामिलमा नै भनेको थियो । मैले उसको कुरा बुझ्दैनथेँ तर अरू बन्दीले त्यस्ले भनेका कुरा वा मलाई लगाएको आरोपबारे मलाई अनुवाद गरेर सुनाएका थिए ।
काठमाडौँको सेन्ट्रल जेलमा पुगेपछि त्यहाँ नाइकेले गर्ने अन्याय, अत्याचार वा ठगीका विरुद्ध हामीले आन्दोलन सङ्गठित गरेका थियौँ ।
त्यस सिलसिलामा हामीले जेलभित्र पस्ने ढोका पनि बन्द गरिदिएका थियौँ । जेलमा त्यस प्रकारको आन्दोलन भएपछि काठमाडौँ, भक्तपुर र ललितपुरसमेतका करिब १२ सय पुलिस आएर जेलमा आक्रमण गरेका थिए र मलाई गिरफ्तार गरेर हनुमानढोकाको खोर लगेका थिए । उनीहरूले मलाई पैतलामा कोर्रा पनि लगाएका थिए । त्यहाँ मलाई करिब एक वर्षजति राखेका थिए । हनुमानढोकाको खोरमा बस्दाको एउटा अनुभव मैले अहिले पनि सम्झन्छु ।
त्यहाँ नेपाल रेडियोकी एक जना कलाकारको मानसिक सन्तुलन बिग्रेपछि उनलाई त्यहाँ ल्याएर थुनिएको थियो । कुनै युवकसितको प्रेम असफल भएपछि उनको मानसिक सन्तुलन बिग्रेको थियो । उनले थानामा बस्दा दिनभरि नै गीत गाइरहन्थिन । उनी कलाकार थिइन् । त्यसकारण उनका गीत धेरै नै मधुर हुन्थे तर उनलाई धेरै दिन त्यहाँ राखिएन । पछि उनलाई अन्तै कतै लगिएको थियो ।
मलाई सुरक्षा कानुनअन्तर्गत थुनिएको थियो । त्यसकारण कुनै बेला नौ महिनामा र कुनै बेला १८ महिनामा मलाई जेलबाट छाडिन्थ्यो र पुन: पक्रेर लगेर सुरक्षा कानुनअन्तर्गतको अर्काे पुर्जी दिएर जेलमा पठाउने गरिन्थ्यो । त्यस सिलसिलामा एक/दुईपल्ट मलाई डिल्लीबजारको खोरमा पठाइएको थियो भने एकपल्ट नख्खु जेलमा पनि पठाइएको थियो ।
डिल्लीबजारको खोरमा त खालि एकाध रात मात्र राखिन्थ्यो । त्यसकारण त्यहाँको अवस्थाबारे मलाई धेरै थाहा हुन सकेन वा अहिले मलाई त्यसको सम्झना पनि छैन । नख्खु जेलमा एक महिना मात्र राखिएको थियो । त्यहाँ धेरै राजनीतिक बन्दी थिए । मेरो सम्बन्ध उनीहरूसित पनि भयो । उनीहरूसित प्रायश: राजनीतिक विषयमा नै कुराकानी हुन्थ्यो ।
भद्रगोल जेलमा मेरो बढी समय लेखपढमा नै बित्यो । त्यहाँ मैले धेरै पुस्तक र लेख तयार पारेँ । त्यो जेलमा बस्दा निर्मल लामा, सिन्धुनाथ प्याकुरेल, कमल कोइराला, भक्त बहादुर, गोविन्द ढुङ्गाना, पेमा लामा, रूपचन्द विष्ट आदिसँगै थियौँ । त्यहाँ हामीले कुनै बेला भटमासको दुध बनाएर खिर खाने गर्दथ्यौँ । कुनै बेला राँगाका खुट्टा मगाउथ्यौँ र रातभरि हिटरमाथि ठुलो भाडो राखेर पकाउथ्यौँ र बिहान त्यसको सुप खाने गर्दथ्यौँ तर सिन्धुनाथ प्याकुरेलले राँगाको सुप खानु हुँदैनथ्यो । त्यसकारण उहाँका लागि खसीको खुट्टा मगाएर हिटरमा पकाउने व्यवस्था गरेका थियौँ । उहाँ बेग्लै कोठामा सुत्नुहुन्थ्यो । राति पकाउन राखेको भाडाको पानीले उनको खुट्टासमेत पूरै डढेछ । त्यसपछि उहाँले खसीको खुट्टाको सुप खाने कुरा नै बन्द गर्नुभयो ।
रूपचन्द विष्टको समस्या के थियो भने कुनै साथीसित घुम्दा उहाँले लामो कुरा गर्नुहुन्थ्यो । तीन/चार घण्टासम्म पनि उहाँको कुरा बन्द हुँदैनथ्यो । कसैले बिचमा केही बोल्न थाल्यो भने उहाँले रिसाएर हप्काउदै भन्नुहुन्थ्यो : ‘तपाईंमा कुरा सुन्ने धैर्यता नै छैन’ तर मसँग कुरा गर्न उहाँले धेरै नै मन पराउनुहुन्थ्यो किनभने जति कुरा गरे पनि मैले नआत्तिकन सुनिरहन्थेँ । उहाँले गरेका कैयौँ कुरा मैले सुन्दैनथे तैपनि मैले उहाँका कुरा चुपचापसित सुनिरहन्थो ।
भैरहवा जेलको एउटा स्मरणीय कुरा यो छ कि त्यो जेलमा नै हामीले एक महिनासम्म छलफल गरेर तीनओटा दस्तावेज तयार पारेका थियौँ : माओसेतुङ विचारधारबारे, कोअर्डिनेसनबारे, जनक्रान्ति र संयुक्तमोर्चाबारे । त्यो जेलमा नै हामीले नेपाली काङ्गे्रससम्बन्धी पहिलेको हाम्रो पार्टीको त्यसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी, जनतान्त्रिक शक्ति र नयाँ जनवादी क्रान्तिको मित्रशक्ति ठान्ने विश्लेषणलाई बदलेर त्यसलाई सामन्त तथा दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी तथा राजा जस्तै दुस्मनशक्ति भन्ने विश्लेषण गरेका थियौँ । त्यो विश्लेषणका कारणले जेलभित्र भएको बेलादेखि नै पुष्पलालसितको हाम्रो अन्तरविरोध धेरै नै बढेर गएको थियो ।
त्यहाँ मलाई बस्नका लागि एउटा बेग्लै कोठाको व्यवस्था गरिएको थियो । त्यहाँ म बिहान ३ बजे नै उठ्दथेँ र राति ८ बजेतिर सुत्दथेँ । त्यो बेला हाम्रो मेस र अन्य कार्यक्रम अत्यन्त व्यवस्थित हुन्थे । मेरो बढी समय लेखपढमा नै बित्ने भएकाले साथीहरूले मलाई मेसको कामको कुनै जिम्मा दिनुभएको थिएन तर कुनै जिम्मा नलिइकन बस्नु मैले उचित ठानेको थिइनँ । त्यसैले मलाई कुनै एउटा कामको जिम्मा दिनका लागि मैले साथीहरूसित धेरै अनुरोध गरेको थिएँ । त्यसपछि मेरो आफ्नै अनुरोधमा मलाई सबै साथीका जुत्ता पालिस गर्ने जिम्मा दिइएको थियो । मैले दिनको कुनै समय निकालेर जुत्ता पालिस गरिदिने काम गर्दथेँ ।
जेल जीवनसित सम्बन्धित मेरा थुपै्र संस्मरण छन् तर ती सबैको उल्लेख गर्नु अहिले सम्भव छैन र यो सानो संस्मरणमा त्यसो गर्नु उचित पनि हुने छैन ।