धु्रव गिरी
बत्ति बालिरहेँ, उज्यालो दिइरहेँ
मान्छेका पाना पल्टाइरहे पाना पढिरहेँ
नयाँ कुरा के आउँछ, हरेक माध्यममा आँखा डुलाइरहेँ
मेसिनले औजार निर्माण गरे जस्तो मानव औजार निर्माण गरिरहेँ
आफ्नै सन्तानको भोको पेट र नाङ्गो शरीरमा आदर्श छाँटिरहेँ
आमाबुबाका सपना नैतिकता नै धन भन्दै थम्थमाइरहेँ
भौतिक सुविधा चाहिँदैन भनी भावनामा रमाइरहेँ
कस्तो अचम्म छ उज्यालो दिँदा बत्तिमुनि अँध्यारो हुन्छ
यस्तै भनेर चित बुझाइरहेँ
कस्तो मेरो पेसा ? राज्यको अपमान सहिरहेँ
बालकका तोते बोलीमा निखारता ल्याउन
आन्तरिक प्रतिभा प्रस्फुटन गरी क्षमता पहिचान गर्न
प्रत्येकको आँखा र अनुहारका भाव पढ्न
सबैको समस्या पहिचान गरी समाधान पहिल्याउन
दिनमा मात्रै होइन, कति रात खर्च गरेँ निकास ल्याउन
कसैको पीडामा आँसु पुछ्दापुछ्दै नभ्याएर आँसु बगाउन
कसैको भोकमा साझेदारी गर्न खल्तीको मोहोर खर्च गर्न
मैले मानवता र उपकारिताका
तम्सिरहे खाली ठाउँ भर्न
भ्रस्टाचार, तस्कर र अपमान नगरी सकेँ रुन दुखमा
आत्मसन्तुष्टि छ तर आकर्षक छैन मेरो पेसा
कस्तो मेरो पेसा ?
समकालीन समाजको बारेमा सहजीकरण गर्दै गर्दा
यथार्थ बोल्नैपर्छ बोल्छु कसैको अनाहक तारो बन्छु यसो गर्दा
राजनीति मूल नीति हो, राम्रो भए सबै पक्ष राम्रो हुन्छ भन्दै गर्दा
राजनीति गर्छ्स लुरे मास्टर भनेर तिमीले हेपेको देख्दा
भित्र भित्र रिसले आगो बने पनि सम्हालिन्छु तिम्रो हैसियत यत्ति देख्दा
म त समयको वेगसँग पाइला मिलाउन उद्यत भएको बेला
हुँदैन फुर्सद ताइनतुइका बकमफुसे सुन्न तिम्रा कुरा
निरीह सोच, बुझक्कड सोच तिमीसँग जे छ त्यही सोच
म त आफनै ध्याउन्नामा रहेको हुन्छु तिम्रो नजरमा हेपिएको पेसा
किन्नेले लाउन पाउन्न लाउनेले पाउन्न देख्न भन्ने झैँ कुरा
म हिँड्ने कानुनी बाटो मबिना तयार पचासौँ वर्षमा
नेपालको होइन शिक्षा विद्यालय शिक्षा ऐना पो हेरेर फोरौला
स्वाभिमान गिर्छ त्यो कानुनले भने हाँसेर ज्यान दिउँला
जन्मदा रोयौँ स्वाभिमानमा बाँचौँ त्यो बन्धन फालौँला
बालकका इच्छा छातीमा साची हातेमालो गर्दै आन्दोलनमा लागौँला
रहर त होइन, बाध्यता पर्यो स्कुल छोडी सडकमा आउनलाई
छोड्नु नि हुन्न घाँटी जोडेर आन्दोलन तुहाउनेलाई
अँध्यारो होइन, हाताको हात सुधार गरी त्यो हाम्रो ऐनलाई
उचाइमा पुर्याई शिक्षक एकता सफल पारौँ आन्दोलनलाई
नाक खुम्च्याउने होइन शिर, उचो पार्ने बनाऊँ पेसालाई
(२०८० भदौ ३० गते राति)