देवनारायण पोखरेल ##
तिज सदियौँदेखि चलिआएको जीवन्त संस्कृति हो । पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवम् आध्यात्मिक ग्रन्थहरूमा, खास गरी स्कन्दपुराण र भविष्योत्तर पुराणमा व्याख्या भएअनुसार राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान् विष्णुसँग गरिदिने निधो गरेपश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुर्याए । त्यही गौरी (पार्वती) ले कठोर तपस्या गरिन् । उनको तपस्याबाट महादेव प्रशन्न भएर भदौ महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयम् प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिए । तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भदौ महिनाको शुक्ल पक्षको तृतीयाका दिन तिज पर्व मनाउने गरियो ।
त्यस्तै, सखीहरू (आलिका) बाट हरेर तपस्या गराई सफल भएकाले तिज पर्वलाई हरितालिका तिज पनि भन्ने गरिएको पाइन्छ ।
तिज पर्व अहिले नेपालमा मात्र नभएर भारतका विभिन्न स्थानमा मनाउने गरेको पाइन्छ । यस पर्वलाई हरियाली तिज, काजरी तिज, केभाडा तिज, अखा तिज, काजल तिज, तिजरी तिज आदि आदि नामबाट पनि मनाइन्छ । कतै कतै वैशाख तथा साउन महिनामा पनि मनाउने गरिन्छ तर समग्रमा तिजको महत्त्व र मान्यता समान देखिन्छ ।
हरितालिका तिज नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसँग मनाउने गरिन्छ । अहिले आएर संसारका विभिन्न देशमा नेपाली र भारतीय समुदायले तिज पर्व मनाएको पाइन्छ । खास गरी नेपाली समुदायले विदेशमा विशेष पर्वको रूपमा हरितालिका तिज पर्व अत्यन्तै धुमधामसँग मनाउँंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो पर्व नेपालीको सांस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित भइराखेको पनि देखिन्छ ।
पुरातन कालमा सञ्चार र चेतनाको कमी थियो । त्यसले गर्दा चेलिबेटी विवाह भएपछि आफ्नो घरमा मात्र केन्द्रित हुन्थे । त्यो बेला छोरी र बुहारीमा ठुलो भिन्नता थियो । त्यसले गर्दा तिज मात्र यस्तो समय थियो, जुन बेला बुहारीले आफ्ना सुखदुख नाचगानमार्फत व्यक्त गर्न अवसर पाउथे ।
त्यति बेला माइती आफ्ना चेलिबेटी लिन उनीहरूका घर जान्थे । माइती नआएमा माइत आउन पाउँदैनथे । त्यस समयमा उनीहरू ज्यादै दुखी हुन्थे । तिजको समयमा चेलिबेटीहरू आफ्ना दाजुभाइलाई पर्खिरहेका हुन्थे । जब चेलिबेटीहरू माइत आउथे, उनीहरू दर खाएर अत्यन्तै खुसी भई तिज मनाउथे । गाउँघरका सबै चेलिबेटी भेला भएर सुखदु:ख साटासाट गर्ने गर्थे तर आजको व्यस्त समाजमा दिनप्रतिदिन चुनौती बढ्दै गइरहेको छ ।
सञ्चार, चेतना, यातायात र अवसरको बढ्दो विकासले सहज वातारण सृजना गरेको छ । तिज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवम् तात्त्विक महत्त्व रहेको पनि छ ।
त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्त्वले ओतप्रोत छन् । सामाजिक सद्भाव, मेलमिलाप एवम् समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौँहजार वर्षदेखि यो चाड मनाइदै आएको पनि छ । यो चाडले सांस्कृतिक रीतिरिवाज परम्परा एवम् गीतसङ्गीत अनि भेषभुषालाई संरक्षण र सवद्र्धन गर्दै आएको छ । हालका दिनमा संसारभर छरिएर रहेका नेपालीमार्फत तिजको माध्यमबाट सांस्कृतिक पहिचान गराउने काम भइरहेको छ ।
समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवम् सृजनशील परिवर्तनले समाज र सभ्यतालाई वैभवता प्रदान गर्दै विकासको उचाइमा पुर्याएका छन् । समयको बदलिँदो प्रवाह सँगसँगै नकारात्मक र असिर्जनशील परिवर्तनले समाज र सभ्यतालाई बद्नाम गर्दै विनाशको विन्दुसम्म पुर्याएका छन् ।
तिज पर्व पनि समयको परिवर्तित चक्र सँगसँगै परिवर्तन हुँंदै आएको छ जबकि समयअनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरी परिवर्तन हुन आवश्यक छ । हिजो माइतीघर, ब्रत, पूजा, पँधेरो, चौतारो अनि मन्दिरमा सीमित हुने पर्व आज सहरबजार, बस्ती, व्यवसाय, विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत हुँदै व्यापकता लिएको छ । हिँजो डम्फु, मादल, थपडी र मुर्चुङ्गामा गाइने तिजका भाका आज सुव्यवस्थित तबरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तिज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवम् साङ्गीतिक उपलब्धि हासिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यी सकारात्मक पक्ष पनि हुन् ।
विगत केही वर्षदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता, सजिलो आयआर्जनको लोभमा तिज जस्तो पवित्र चाडलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको सिकार बनाइदै छ । “पोइल जान पाम” जस्ता गीत, डिस्कोमा तिज, छोटो लुगा आदि आदि हुँदै अगाडि बढेको तिजगीतको आधुनिक यात्राले यसपालिको तिजमा दरको साटो रक्सी खाइन्छ । “देखियो जामा फाटेर” सम्मको कुन उचाइ छोईराखेको छ ? थाहा छैन, यो आधुनिकताको स्वच्छन्द गतिले कुन उचाइ छुने हो ? यस्ता उच्छृङ्खल र छाडा गीतसङ्गीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्ििरयता र सहज आर्जन गराए पनि हाम्रो संस्कार, संस्कृति एवम् परम्परालाई पटक्कै फाइदा पुग्ने छैन ।
जीवन्त समाज र सभ्यताका विनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलाप रोक्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । तिज पर्वलाई पश्चिमी छाडा संस्कृतिबाट उत्ताउलो वा भड्किलो हैन, समाजमा नारीमाथि हुने विभेद, असमानता, थिचोमिचोको विरुद्धमा समाज रूपान्तरणको दिशामा तिज पर्वलाई मनाउन सक्यौँ भने मात्र तिज पर्वप्रति न्याय गरिने हुने छ ।