भीष्म जोशी ##
सत्यम् शिवम् सुन्दरम् भने झैँ साहित्य र कलाले सत्य बोल्नुपर्दछ र अन्तिम सुन्दरता पनि त्यही साहित्यमा हुनुपर्दछ। जहाँ जनताका आवश्यकता र समस्या बोलेका होउन् । साहित्यले आनन्दको त्यो क्षणको महसुस गराउन सक्नुपर्छ, जसले मानिसलाई सुखमय बनाउन सकोस् ।
साहित्य र कलाको पनि आफ्नै वर्गीय पक्षधरता हुन्छ । समाजका हरेक चिजवस्तु जस्तै साहित्य र कला पनि गतिशील र समयसँगै परिवर्तनशील भएर आएका हुन्छन् ।
एक चोटीको साहित्य दोस्रो चोटी लेखिँदैन । साहित्यमा गतिशीलता हो यो । जसरी प्राचीनकालको साहित्य र अहिलेको साहित्यमा फरक छ ।
साम्यवादी आन्दोलनका प्रवर्तक माक्र्सले साहित्य र कलाको पनि समाजमा आफ्नै महत्त्वपूर्ण स्थान हुने कुरा बताएका छन् । माक्र्सको कलाप्रतिको धारणा गहन र बृहत् रहेको पाइन्छ । माक्र्सलाई विश्व साहित्यको राम्रो ज्ञान थियो । उनले साहित्यलाई औधि माया गर्नुहुन्थ्यो । माक्र्सले शास्त्रीय सङ्गीत, चित्रकला र सङ्गीतमा गहन रुचि थियो । युवावस्थामा उनले कविता पनि रचेका थिए । माक्र्स सेक्सपियर, डिकेन्स, गोथे आदिबाट प्रभावित थिए । साथै विभिन्न देशका महाकाव्य, लोककथा, लोकगीतबाट पनि प्रभावित थिए । विश्वसाहित्यको खजानाबाट उनले आफ्नो दर्शनलाई सुन्दर बनाएका थिए ।
माक्र्स र एङ्गेल्सले बिम्ब, प्रतीक, व्यङ्ग्य आदिको प्रयोग गरी आफ्नो दर्शनलाई गहन बनाएका थिए । उनले साहित्यमा द्वन्द्वात्मक भौतिकवादको आँखाले वैज्ञानिक सौन्दर्य सिद्धान्तको व्याख्या गरेका छन् । उनले पुरानो युगको जटिल सौन्दर्यसम्बन्धी प्रश्नको जवाफ मात्रै दिएका छैनन् कि उनले नयाँ युगको वैज्ञानिक सौन्दर्यलाई सुन्दरताको नियमअनुसार व्याख्या पनि गरेका छन् । उनले वैभवशाली किसिमले र तार्किक ढङ्गले सौन्दर्य विज्ञानको व्याख्या गरेका छन् ।
उनले कला र साहित्यको मुख्य कृति नलेखे पनि उहाँले हामीलाई कला र साहित्यसम्बन्धी महत्त्वपूर्ण दृष्टिकोण छोडेर गएका छन् । यो दृष्टिकोण हो : वैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण माक्र्सले कलाको प्रकृति, यसको मार्ग र विकासका लागि खेल्नुपर्ने भूमिका र सामाजिक उद्देश्यअनुरूप नै साहित्य हुनुपर्ने बताएका छन् । माक्र्सवादी दृष्टिकोणले नै सुन्दर समाजको निर्माणका लागि साहित्य सिर्जित हुनुपर्छ भनेको छ ।
उनले आफ्नो सौन्दर्य सिद्धान्त विकास गर्ने बेला आफ्ना पूर्वजहरूबाट नै सिकेका थिए । यसमा उनले साहित्य र यथार्थबिचको सम्बन्ध र साहित्यले सामाजिक समस्या समाधान गर्न प्रयत्न गर्नुपर्दछ भनेका छन् । साहित्यलाई पनि सबै विषय† जस्तै : द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । पुरानो साहित्यको विकास र यसको प्रष्फुटन केवल आदर्शवादी कोणबाट भएको र त्यसले समाजको यथार्थ बताउन नसक्ने कुरा भनेका छन् ।
पुरानो साहित्यले समाजभित्रको आन्तरिक विकासक्रमलाई बुझ्न नसकिएको देखिन्छ । साहित्यले समाजको विकासक्रम, आर्थिक अवस्था, सामाजिक भूमिका, सामाजिक प्रणालीको विश्लेषण बोल्नुपर्ने बताउँछन् । समाजको उत्पादक शक्ति को हो ? उत्पादक शक्तिको बारेमा साहित्य लेखिनुपर्ने बताउँछन् । साहित्यले मानवीय हितका कुरामा मुख्य भूमिका खेल्नुपर्दछ, तब मात्र साहित्यले सामाजिक चेतना निर्माणमा योगदान पुर्याउन सक्दछ ।
साहित्य वर्गीय हुन्छ । साहित्यले सत्य पत्ता लगाउन सर्वहारा र क्रान्तिकारीको पक्षमा बोल्नुपर्दछ । साहित्य पनि समाजमा लामो चरण पार गरेपछि मात्रै वास्तविक रूपले आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम हुन्छ । जब उसले समाजको पिछडिएको वर्गको उत्थानका लागि योगदान गर्न सक्दछ, तब मात्रै सुन्दरताको नियममा आधारित साहित्य बन्दछ । जब वास्तविक उत्पादकको पक्षमा साहित्य काम गर्दछ, तब समाजले आफ्नो अग्रगामी पथको निर्धारण गर्ने गर्दछ ।
मानिस जन्मले नै सुन्दर साहित्य सिर्जना गर्न सक्ने हुने नभई सामाजिक परिवेशले सुन्दर साहित्य जन्मने बताउँछन् । साहित्य पनि भौतिक जगत्कै नियमबमोजिम विकसित हुने हुन्छ किनकि प्राचीन युग र अहिलेको युगमा उस्तै प्रकारका साहित्य सिर्जना भएका छैनन् । प्राचीन समयको साहित्य र अहिलेको साहित्य फरक छ ।
साहित्यमा पनि आर्थिक तत्त्व निर्णायक हुने कुरा बताइएको छ । सर्वहारा साहित्यले पुँजीवादी साहित्यसँग विरोधाभासपूर्ण सम्बन्ध राख्दछ । पुँजीवादी समाजले सेक्सपियर, गोथे जस्ता साहित्यकारको जन्म भए जस्तै युगले आफूअनुकुल साहित्यकार जन्माउने गर्दछ । पुँजीवादी साहित्य सर्वहारा साहित्यको तुलनामा प्रतिकृयावादी साहित्य हो ।
साहित्य क्रान्तिकारी दृष्टिकोणबाट लेखिनुपर्दछ, जसले पुँजीवादी साहित्यको विरोध गर्न सकोस् र यसले पुँजीवादी साहित्यलाई परास्त गर्न सक्नुपर्दछ । कला र साहित्यले समाजको वास्तविकता प्रकाश गर्न सक्ने हुनुपर्छ । कलाका लागि मात्र कला हुनुहुन्न, कला र साहित्यले जनताको इच्छा र आकाङ्क्षालाई सँगसँगै लान सक्नुपर्दछ ।
साहित्य जीवन परिवर्तनको साधन बन्न सक्नुपर्दछ, जसले मानवताको आध्यात्मिक विकास गर्न सकियोस् । समयसँगै विश्व साहित्यमा आएको परिवर्तन† जस्तै : मध्ययुगीन साहित्य, साहित्यमा यथार्थवाद, मनोरञ्जनात्मकता, पुनर्जागरण, हिप्पी संस्कृति, आधुनिकतावाद, उत्तरआधुनिकतावाद आदि साहित्यको विद्यामा आएका युगीन परिवर्तन हुन् ।
तत्कालीन समयका यी आन्दोलन विश्व साहित्यको क्षेत्रमा चरम उपलब्धिको रूपमा आएका थिए । यी सबै कालभन्दा उच्चस्तरीय साहित्य हो । सर्वहारा साहित्य, जसले मानवीय समस्याहरू सम्बोधन गर्ने गरेर लेखिएको छ† लेखिनुपर्छ† लेखिने छ । साहित्य जीवनसँग जोडिनुपर्छ र जीवनका समस्या समाधान गर्न अग्रसर हुनुपर्छ ।
माक्र्स र एङ्गेल्सले नयाँ, कम्युनिस्ट समाजको आधारभूत विशेषताको प्रत्याशामा उत्कृष्ट दूरदर्शिता देखाएका छन् । साम्यवाद भनेको व्यक्तिको सर्वाङ्गीण र सामञ्जस्यपूर्ण विकासका लागि वास्तविक स्वतन्त्रता हो ।
माक्र्सले भनेका छन् : “स्वतन्त्रताको क्षेत्र वास्तवमा त्यहाँबाट मात्र सुरु हुन्छ, जहाँ आवश्यकता र सांसारिक विचारद्वारा निर्धारण गरिएको श्रम समाप्त हुन्छ ।” मानिस वास्तविक रूपले स्वतन्त्र भएपश्चात मात्रै सृजनाको शिखरमा पुग्ने गर्दछ र त्यो बेला मात्रै उत्कृस्ट साहित्य जन्मिन्छ ।
शोषणबाट मुक्त श्रम, समाजवादमा सम्भव हुन्छ अनि शोषणमुक्त श्रम सबै आध्यात्मिक र सौन्दर्य रचनात्मकताको स्रोत बन्छ । माक्र्स र एङ्गेल्सले भनेका छन् कि साँचो आर्थिक, राजनीतिक र आध्यात्मिक स्वतन्त्रता दिएमा मात्र मानिसको रचनात्मक शक्तिको पूर्ण विकास हुन सक्छ । यसका लागि केवल सर्वहारा क्रान्तिले मात्र साहित्यको विकासमा अनन्त प्रगतिको असीम अवसर प्रदान गर्दछ ।
सर्वहारा वर्गको महान् ऐतिहासिक मिसन विश्वको कम्युनिस्ट पुनर्निर्माणमा समावेश छ । यो शक्ति सर्वहारा वर्गमा छ ।
माक्र्स र एङ्गेल्सले सर्वहारा वर्गलाई सामाजिक शक्ति देखेका थिए, जसले संसारलाई परिवर्तन गर्न सक्छ र अर्थशास्त्र र राजनीतिमा मात्र होइन, यसले संस्कृतिमा पनि थप प्रगति प्रदान गर्न सक्छ, जसले मानवजातिको पूर्ण अनुभूतिको लागि आवश्यक परिस्थिति ल्याउने छ । यसमा नै उच्च नैतिकता, वैभवशाली र सौन्दर्य मूल्य हुने छन् । त्यही हुने छm वास्तविक कला र साहित्य ।