(गताङ्कदेखि क्रमश:)
यो कुराको पहिले नै उल्लेख भइसकेको छ कि करिब एक हप्ताको नारिकोटको किसान सङ्घघर्षपछि साहुमुखियाहरू किसानका माग पूरा गर्न सहमत नभएपछि हामीले उनीहरूलाई जबरजस्ती पक्रेर ओखरकोटको मच्छीतिर हिँडाल्यौँ । त्यसपछि साहुमुखियाका मान्छेले बाँजा बजाएर खुङका ठकुरीलाई मदतका लागि बोलाएका थिए । त्यसपछि खुङका ठकुरीहरू कुनै पनि बेला हातहतियारसहित साहुमुखियालाई छुटाउन र हामीमाथि आक्रमण गर्न आइपुग्ने सम्भावना थियो । हामीले एकातिर, किसानका माग पूरा नगराइकन साहुमुखियालाई नछाडदिने दृढनिश्चय गरेका थियौँ भने अर्कातिर, हिंसात्मक भिडन्तलाई पनि सकभर टाल्नेबारे पनि हामीले उच्च सतर्कताको नीति अपनाएका थियौँ ।
नारिकोटबाट मच्छीतिर जाने मूल बाटो तल्लो नारिकोटको देउरालीतिरबाट जान्थ्यो । त्यो बाटो जाँदा साहुका मान्छेले हामीलाई माथिबाट आक्रमण गर्ने सम्भावना थियो । त्यसैले सुरक्षाको ख्याल गरेर हामी उपल्लो नारिकोटको बाटो भएर बेओरीतिर झर्यौँ र त्यहाँबाट दारिमचौर र ढार हुँदै मच्छीतिर लाग्यौँ ।
मच्छी पुग्दा सबैको खाना तयार भइसकेको थियो । हामी सबैले छिटो छिटो गरेर खाना खायौँ र मच्छीका चारैतिर गार्ड राख्ने व्यवस्था गर्यौँ ।
करिब रातको ११ बजेको समयमा ढारतिरबाट मानिसको ठुलो समूह मच्छीतिर आउन लागेको देखियो । गार्डमा बसेका साथीहरूले तुरुन्तै हामीलाई त्यो कुराको सूचना दिनुभयो ।
ढारतिरबाट आउने साहुमुखियाका मान्छेहरू राँको र लालटिन बालेर आइरहेका थिए । सायद उनीहरूले हामी सबै जना सुतेका छौँ भन्ने सोचेर त्यसरी निस्फिक्री भएर आइरहेका थिए । राँकोको उज्यालोमा उनीहरूले समातेका बन्दुक, तरबार र लाठी पनि टाढैबाट देखिन्थे । उनीहरू आएको थाहा पाउनेबित्तिकै हामीले तुरुन्तै मोर्चाबन्दी गर्यौँ र सुरक्षाको आवश्यक व्यवस्था गर्यौँ ।
त्यो बेलाको सबैभन्दा प्रमुख कार्य साहुमुखियालाई उम्कन नदिनु थियो । हामीले उनीहरूलाई तुरुन्तै पिताजी खिम विक्रमसहितको गार्डका साथ ओखरकोटको खहरेतिर पठाइदियौँ । त्यहाँ बास बसेका किसानमध्ये बुढापाका जस्ता धेरै किसानलाई रिपापाका र चुँधारातिर पढाइदियौँ । ढारतिरबाट मच्छीतिर आउने बाटामाथि जङ्गल पर्दथ्यो । हामीले खगुलालको नेतृत्वमा बाटामाथि लडाकु साथीलाई बन्दुक र ढुङ्गामुढाहरू जम्मा गरेर बस्न लगायौँ ।
हाम्रो योजना यो थियो : साहुमुखियाका मान्छेहरू बाटैबाटो आउँदै थिए । उनीहरू नजिकै आइसकेपछि हामीले माथिबाट ढुङ्गामुढा बर्साउने र बन्दुकको हवाइफायर गर्ने योजना बनाएका थियौँ । ढुङ्गामुढा गर्दा हामीले यसबारे पनि उच्च सतर्कता अपनाएका थियौँ कि त्यसरी ढुङ्गामुढाबाट कसैलाई चोट नलागोस् । ढुङ्गामुढा र बन्दुकको फायर गर्नुका साथै हामीले ठुलो स्वरले हल्ला पनि गरेका थियौँ ।
माथिबाट ढुङ्गामुढा र हवाइ फायर तथा ठुलो हल्ला भएपछि नारिकोटबाट आएका मानिसहरू बाटाबाटै फङ्गाल्दै झिम्रुक तरेर तुसाराको पिडाल्नेको फाँटतिर गए । त्यहाँ गहुँको खती थियो । त्यसकारण त्यहाँ लुक्नका लागि उनीहरूलाई सजिलो थियो ।
ती मानिसहरू राति त्यही बस्छन् वा फर्केर जान्छन् ? त्यो पत्ता लगाउन ढारतिर केही साथीहरूलाई पठाएका थियौँ । तुसाराको पहाडको फेदीमा र खेतको छेउमा यदु गिरीका थारा थिए । एक/दुई जना साथीहरूलाई त्यहाँ पनि निगरानी गर्न पठायौँ ।
पिडाल्नेतिर भागेर गएका मानिसले केही बेरपछि झिम्रुकको तलतिरको भागबाट नदी तरेर मच्छीतिर आउन प्रयत्न गरेका थिए ।
त्यसपछि हामीले पहिले बाटामाथि राखेका साथीहरूलाई तलतिर लग्यौँ । बाटामा बसेका लडाकु साथीहरूमध्ये केही साथीलाई बाटामाथि जङ्गलमा बस्न भनेर हामी तलतिर गयौँ । त्यहाँ गएर कैयौँ पल्ट हवाइफायर गर्ने कार्य पनि भयो । त्यसपछि झिम्रुक तरेर आउन थालेका नारिकोटबाट आएका मानिस फर्केर पिडाल्ने खेततिर नै लागे ।
अब मच्छीमा धेरै बेर बस्दा पुन: कतैतिरबाट आक्रमणको सम्भावना हुन सक्दथ्यो । उनीहरूले पिडाल्नेको खेतैखेत झिम्रुक र गर्तङको दोभानतिर गएर त्यहाँबाट पनि मच्छीतिर आएर आक्रमण गर्न सक्दथे । त्यसैले हामीले राति मच्छीमा बस्नु उचित ठानेनौँ र केही साथीहरूलाई मच्छीका घरमा राख्ने व्यवस्था गरेर शिविरका बाँकी साथीहरू ओखरकोट गाउँतिर निस्कियौँ र त्यहाँका विभिन्न घर र थारामा छरिएर बस्यौँ ।
केही घण्टापछि पच्छीमा बसेका साथीहरूबाट हामीमाथि आक्रमण गर्न आएका मानिस मच्छीतिर नआएको समाचार प्राप्त भयो । ढारतिर गएर बसेका साथीहरूबाट पनि हामीमाथि आक्रमण गर्न आएका मानिसहरू फर्केर नगएको समाचार प्राप्त भयो ।
ती समाचार प्राप्त भएपछि हामी बिहान मच्छीतिर झर्यौँ । खहरेबाट साहुमुखियालाई पनि मगायौँ र आसपासमा बस्न गएका किसानलाई पनि मच्छीमा नै बोलायौँ । बिहानको खान खाने बेलासम्म त्यहाँ हाम्रा मानिसको ठुलो भिड जम्मा भइसकेको थियो ।
मच्छी ठाटीको नजिकैको बरको रुखमुनि ठुलो सभा सुरु भयो । त्यो सभामा हामीले साहुमुखियासित किसानका माग पूरा गर्ने कुरा उठायौँ । सुरुमा त उनीहरू अकमकाए तर पछि त्यसका लागि उनीहरू तयार हुँदै गए ।
त्यही बेला पिडाल्नेतिरबाट लुकेर बसेका साहुमुखियाका मान्छेले दिउसै आएर हामीमाथि आक्रमण गर्ने र साहुमुखियालाई छुटाएर लैजाने योजना बनाएको कुरा थाहा भयो । उनीहरूले एउटा आफ्नो मान्छेद्वारा हामीले पक्रेर राखेका साहुमुखियालाई पनि त्यो समाचार गोप्य रूपले पठाएका थिए । त्यो समाचार पाएपछि केहीबेर पहिले किसानका माग पूरा गर्न तयार भएका उनीहरू आफ्नो
कुराबाट पछाडि हटे र उनीहरूले नडराइकन भन्न थाले : ‘हाम्रा मान्छेहरू हातहतियारसहित पिडाल्नेको फाँटमा आएर बसेका छन् । उनीहरूले हामीलाई छुटाएर लैजाने छन् । तिमीहरूले हामीलाई केही गर्न सक्दैनौँ ।’
त्यस प्रकारको बदलिएको स्थितिमाथि विचार गर्न तुरुन्तै पार्टी न्यूक्लसको बैठक बस्यो । लडाकु साथीहरूको पनि इमर्जेन्सी बैठक बस्यो ।
हामीले साहुमुखियालाई विभिन्न तरिकाले धम्कायौँ र पिडाल्नेका उनीहरूका मान्छेलाई पनि उनीहरूले मच्छीमा आक्रमण गरेमा उनीहरूको पूरै प्रतिकार गर्ने समाचार पनि पठायौँ । हामीले उनीहरूलाई तुरुन्तै पिडाल्नेको खेतबाट फर्केर जान अल्टिमेटम दियौँ अन्यथा कडा आक्रमण गर्ने चेतावनी दियौँ । हामीले यो पनि बतायौँ : उनीहरू त्यहाँबाट हटेर नगएमा साहुमुखियामाथि कडा प्रहार पनि हुन सक्दथ्यो ।
खगुलालले आमसभामा नै साहुमुखियाको सातो पुत्लो खाने गरेर ठुलो स्वरले गर्जेर यी कुरा भन्नुभएको थियो । उहाँको कुराबाट साहुमुखिया धेरै नै आत्तिए । त्यसपछि उनीहरूले आफूलाई समाचार दिन आएको मान्छेका हात आफ्ना मान्छलाई तुरुन्तै पिडाल्नेबाट हटेर जान समाचार पठाए । त्यसपछि केही बेरमा नै पिडाल्नेको खेत खाली भयो । त्यहाँबाट हामीमाथि आक्रमण गर्न आएका सबै मान्छे फर्केर गए ।
त्यसपछि साहुमुखियाले जसको खेत जग्गा खाएका थिए वा कीर्ते वा जाली कागजपत्र गरेका थिए, ती सबै फिर्ता गर्ने कबुलियतनामा गरे । त्यसपछि हामीले साहुमुखियालाई मुक्त गरिदियौँ ।
त्यो घटना २०१० साल फागुन २३ गतेको दिन थियो । अर्का दिन फागुन २४ गतेका दिन बिहान हामी विजयमार्चका साथ रातामाटातिर लाग्यौँ । त्यही दिनलाई हामीले फागुन २४ गतेको किसान आन्दोलन बताउँदै आएका छौँ ।
नेपालमा प्युठान नारिकोटको फागुन २४ गतेको किसान आन्दोलनभन्दा ठुला ठुला आन्दोलनहरू पाल्पा, काठमाडौँ र तराईका विभिन्न जिल्लामा भएका छन् तर फागुन २४ गतेको आन्दोलनको महत्त्व यो कुरामा छ कि त्यो आन्दोलन पार्टीको प्रत्यक्ष नेतृत्वमा तथा अत्यन्तै योजनबद्ध र सङ्गठित प्रकारले भएको आन्दोलन थियो ।
फागुन २४ गतेको आन्दोलनपछि जिल्लाका साहुसामन्त, मुखिया र जालीफटाहहरू जिल्लाव्यापी रूपमा हाम्रा विरुद्ध उभिए । झिम्रुक र लुङखोलाको दोभानको छेउमा रहेको बाटुलेचौरमा २०१० साल चैत ५ गते उनीहरूले एउटा ठुलो सभा गरे र त्यो सभामा शिविरको टुसोलाई तुरुन्तै नष्ट गरिदिने निर्णय गरे । त्यसपछि शिविर र हाम्रो पार्टीमाथि उनीहरूले कैयौँ प्रकारका आक्रमण गर्न थाले ।
त्यो बेला प्युठानको बडाहाकिम प्रतिमान बोहरा हुनुहुन्थ्यो । साहुमुखिया र जालीफटाहाले उहाँकहाँ गएर हाम्रा विरुद्ध कैयौँ उजुरी हाले तर प्रतिमान केही न्यायपरायण व्यक्ति हुनुहुन्थ्यो र उहाँलाई जालीफटाहले किसानमाथि गर्ने अन्याय, अत्याचारबारे पूरै जानकारी थियो । त्यसकारण उहाँले हाम्रा विरुद्ध कुनै कारबाही गर्नुभएन । त्यसपछि उहाँका विरुद्ध कम्युनिस्टसित मिलेको भनेर केन्द्रमा पनि कैयौँ उजुरी परे । त्यसपछि उहाँलाई सिंहदरबारमा झिकाईयो र उहाँका सट्टामा अर्काे एउटा बडाहाकिम पठाइयो । त्यसपछि प्युठानमा व्यापक दमन र धरपकड गर्ने काम गरियो । त्यसको विवरण अर्काे अङ्कमा दिइने छ । (बाँकी अर्काे अङ्कमा)