काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डमा सांसद र सरकारमा रहेका संलग्न रहेको आरोप लगाउनुभएको छ ।
बुधबारदेखि खुलेको संसद बैठकमा धारणा राख्दै सांसद केसीले तस्कर र भ्रष्टाचारी संसद र सरकारमै रहेको व्यंग्य गर्दै अन्त खोज्नुनपर्ने बताउनुभयो ।
‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने, ललिता निवासको जग्गा बिक्री गर्नेहरु र भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनाउनेहरु यही संसद्मा बस्ने, खेल्ने र सत्ता चलाउनेसँग सम्बन्धित छैनौँ र ? हामीले कसलाई भनिरहेका छौँ,’ केसीले भन्नुभयो ।
करिब एक महिना संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने अध्यक्ष केसीको माग छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै साउन १० गतेदेखि निरन्तर संसद् अवरोध गर्दा जनताको समस्या उठाउन नपाएको केसीले बताउनुभयो ।
‘कसले बन्द गर्न लगायो, कसले बन्द गर्यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ,’ केसीले भन्नुभयो, ‘देश भयंकर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनासम्म संसद् बन्द गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौँ ।’
सात दलबीच बुधबार दुईबुँदे सहमति भएसँगै संसद खोल्न एमाले तयार भएको हो।

