हेम बिजी ##
यो सुन काण्डैकाण्डको युगमा
यो देशका महासयहरू
आफ्नो आलोचना र आक्रोश पनि
सुनकै अक्षरले
लेखियोस् भन्ने चाहना हुन्छ होला
आफ्नो खेद र खबरदारी पनि
सुनकै अक्षरले
कोरियोस् भन्ने इच्छा हुन्छ होला
तर महासयहरू
मसँग त
लेख्न पनि कागजको पाना छ
कोर्न पनि प्लास्टिकको कलम छ
र अक्षर पार्न पनि रङ्गिन पानीको मसी छ
त्यसैले
माफ गर्नुहोस् महासयहरू
सुनको अक्षरले लेख्न सकिनँ
महासयहरूको आलोचना र आक्रोश
महासयहरूको खेद र खबरदारी
सायद
मैले पनि
महासयहरूले जस्तै
नेपाली नागरिक
नक्कली भुटानी शरणार्थी बनाएर
लाखौँ लुट्थेँ भने
सुनको पाना किन्ने थिए होला
सरकारी जग्गा
ललितानिवास
व्यक्तिलाई बुझाएर करोडौँ कुम्ल्याउथे भनेँ
सुनको कलम बनाउने थिएँ होला
र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकाबाट
सुनका थैलाहरू
छिराउन सक्थेँ भनेँ
सुनको मसी रङ्गाउने थिएँ होला
अर्थात्
महासयहरूले जस्तै
मैले पनि
सत्ताको रसमा डुबुल्की मार्थें भनेँ
सेटिङमा मिलेर देश लुट्थेँ भनेँ
सायद
महासयहरूको आलोचना र आक्रोश
सुनको अक्षरले लेख्थेँ होला
खेद र खबरदारी
सुनको अक्षरले कोथेँ होला
माफ गर्नुहोस् महासयहरू
सुनको अक्षरले लेख्न सकिनँ
यो सुन काण्डैकाण्डको युगमा
महासयहरूको आलोचना र आक्रोश
खेद र खबरदारी
किनकि
महासयहरूले जस्तै मैले
इमान र इज्जत सुनमा बेच्न सकिनँ
विचार र विश्वास सुनमा साट्न सकिनँ
अनि महासयहरूले जस्तै मैले
जनता झुक्याउन सकिनँ
सुन काण्डहरू घटाउन सकिनँ
त्यसैले देश मास्ने महासयहरूसँग
आखिर मैले भन्नैपर्छ
माफ गर्नुहोस् महासयहरू
सुनको अक्षरले लेख्न सकिनँ
महासयहरूको आलोचना र आक्रोश
खेद र खबरदारी
किनकि
सुनको अक्षरले लेख्ने
मेरो मन पनि थिएन
सुनको अक्षरले कोर्ने
मेरो मनसाय पनि थिएन