भक्तपुर । एक महिनासम्म मनाइने गुँलापर्व २०८० साउन ३२ गते बिहीबारदेखि सुरु भएको छ ।
विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । यस वर्ष साउन ३२ गतेदेखि भदौ ३० गतेसम्म मनाइने भएको छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी रामशेखर शाक्यले बताउनुभयो ।
उहाँका अनुसार बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।
दुईदेखि तीन सय धर्मावलम्बीको सहभागितामा गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ पर्व मनाइने शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गर्ने प्रचलन छ ।
यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहा:, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ ।
राँगा, भेडाको सिङबाट बनाइएका ‘न्याकुँ’ बाजा, दाफा, धा:, बाँसुरी, धिमे, भुस्यालगायत बाजा बजाएर परिक्रमा गर्ने प्रचलन रहेको शाक्यले बताउनुभयो । उहाँका अनुसार गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ ।
‘गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ’ उहाँले भन्नुभयो– ‘पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ ।’
उहाँका अनुसार पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धा: बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन् ।