मनोज भट्ट, काठमाडौँ ।
लामो समयदेखि पाठकहरूले का. मोहनविक्रम सिंहको जलजला उपन्यासको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् यद्यपि प्रतिक्षाको घडी अझै लम्बिने छ । यही २०८० साउन २३ गते आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले राजनीतिक व्यस्तताका कारण यो वर्ष उपन्यास प्रकाशन हुन नसक्ने सार्वजनिक गर्नुभएको छ ।
यो वर्ष प्रकाशन हुन नसके पनि यो खुसीको विषय हो कि उपन्यासलेखन कार्य पूरा भइसकेको पनि जानकारी गराउनुभएको छ । तयार भएको उपन्यासलाई एक चोटि पढेपछि मात्र प्रकाशनमा दिने योजना रहेको देखिन्छ ।
यो उपन्यासको योजना, फिल्ड भिजिट, अध्ययन तथा तयारीमा का. मोहनविक्रमलाई वर्षौंवर्ष लागेको छ । आकारका हिसाबले उपन्यास १३–१४ सय पृष्ठको हुने तथा यसले ज्ञानका विभिन्न क्षेत्र समेटेको, मुख्य पात्र एउटै भए पनि थुप्रै पात्रको चरित्र चित्रण भएकाले नेपालको उपन्यास जगत्मा सम्भवत: यो नौलो अभ्यास हुने छ । नेपाली साहित्यमा अहिलेसम्म महा उपन्यास लेखिएको छैन । सायद जलजला त्यसको अभाव पूर्ति गर्न सफल हुने छ ।
यस लेखमा मेरो उद्देश्य “कामरेड जलजला” को विषयमा अहिलेसम्म का. एमबीले सार्वजनिक गर्नुभएको जानकारीमा प्रवेश गर्नु नभएर लेखकले कुनै रचना तयार गर्दा लाग्ने समयका विषयमा मात्र आफूलाई सीमित राख्नु रहेको छ ।
विश्वको साहित्य इतिहासमा कुनै लेखकलाई उच्च स्तरको कालजयी रचना; जस्तै : उपन्यास, शोधग्रन्थ, अनुसन्धानमाथि आधारित कुनै पुस्तक, विश्वकोश, शब्दकोश, महाकाव्य तयार पार्न लामो समय लाग्ने गरेको प्रशस्त उदाहरण पाइन्छन् यद्यपि कतिपय उत्कृष्ट रचना छोटो समयमा पनि तयार भएर पाठकमाझ पुग्ने पनि गरेका छन् । यसका विविध पक्ष हुन्छन् । कतिपय रचना लेख्दालेख्दै विभिन्न कारणले पूरा हुन नसकेर अधुरो रहेका उदाहरण पनि पाइन्छन ।
विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’ लाई तयार पार्ने क्रमा लियो टल्सटायलाई उपन्याससम्बन्धी सोचाइ बनाउन पाँच वर्ष लेख्न र प्रकाशन गर्न सात वर्ष गरी १२ वर्षको समय लागेको थियो । फारसीका महाकवि फिरदौशीले ६० हजार श्लोक भएको विश्वविख्यात महाकाव्य ‘शाहनामा’ तयार पार्न ३५ वर्ष लगाएका थिए । विश्वप्रसिद्ध अङ्ग्रेजी शब्दकोश ‘वेब्सटर्स डिक्सनरी’ तयार पार्न त्यसका लेखक नोह वेब्स्टरलाई ३६ वर्ष लागेको थियो ।
नेपालको सन्दर्भमा पारिजातको जीवनमाथि आधारित पुस्तकका लेखक गोविन्द गिरी ‘प्रेरणा’ लाई पारिजातबारे अध्ययन गर्न १६ वर्ष र लेख्नमा चार वर्ष गरि २० वर्ष लागेको थियो ।
यता, महाकवि लक्ष्मिप्रसाद देवकोटाले ३०० पृष्ठभन्दा केही बढी आकारको ‘सुलोचना’ महाकाव्य तयार पार्न जम्मा १० दिन अझ त्यसमा पनि ६० घण्टा लागेको थियो । ‘कुञ्जिनी’ शीर्षकको खण्डकाव्य त लक्ष्मिप्रसाद देवकोटाले एक रातमा तयार पारेका थिए ।
कतिपय लेखकले धेरै समय र परिश्रम लगाएर तयार पार्न खोजिएका रचनाहरू पूरा हुन नसकेर अपूर्ण रहने गरेका पनि थुप्रै उदाहरण पाइन्छन । उदाहरणका लागि लक्ष्मिप्रसाद देवकोटाको ‘चम्पा’ शीर्षकको उपन्यास पूरा हुन पाएन । त्यस्तै, लियो टल्सटायको ‘डिसेम्बरवादीहरू’ शीर्षकको उपन्यास तीन अध्यायमा लेख्ने उहाँको योजना थियो । पछि त्यो विकसित भएर तीन उपन्यासको योजना बन्यो । टल्सटायले पहिलोमा रुसमा जारका विरुद्ध भएको डिसेम्बर विद्रोहको पृष्ठभूमि, दोश्रोमा विद्रोह र तेश्रोमा साइबेरिया निर्वासन र निर्वासनबाट फर्केपछिको जीवनका बारेमा उपन्यास लेख्ने योजना थियो । पहिलो कालको कथा विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’ तयार भयो तर योजनाअनुसार दोश्रो र तेश्रो पुस्तक पूरा हुन सकेन । पछि अपूर्ण उपन्यासको तीनओटा अध्यायका तीनओटा खेस्रा पुस्तकको रूपमा प्रकाशित भएको थियो ।
त्यसैले लेखकलाई रचना तयार पार्न लाग्ने समयका लागि धेरै फ्याक्टरले काम गरिरहेको देखिन्छ ।