मोहनविक्रम सिंह ##
कामरेड जलजला उपन्यास केही लामो छ । त्यो करिब १३/१४ सय पृष्ठको हुने छ तर त्यो उपन्यासभन्दा लामो त्यसको अन्तरकथा छ । यदि त्यसलाई लिपिबद्ध गर्ने हो भने त्यसको आकार उपन्यासको भन्दा दुई गुणाभन्दा बढी भयो भने पनि आश्चर्यको कुरा हुने छैन तर त्यति ठुलो पुस्तक लेख्ने मेरो कुनै योजना छैन, न म त्यसका लागि आवश्यक समय दिन सक्ने अवस्थामा नै छु तैपनि सम्भव भयो भने २/३ सय पृष्ठको त्यो अन्तरकथा लेख्ने मेरो प्रयत्न हुने छ ।
मैले यहाँ संक्षिप्तमा त्यो अन्तरकथाबारे केही प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।
कामरेड जलजला उपन्यास प्रेमको कथा ता हो नै तर त्यो भन्दा बढी त्यो विश्वको दर्शन हो । हेगेल र लेनिन दुबैले यो लेखेका छन् : व्यक्ति विश्वमा अन्तरनिहित हुन्छ र विश्व पुन: व्यक्तिमा निहित हुन्छ । त्यसैले कुनै व्यक्तिलाई ठिकसँग बुझ्न सम्पूर्ण विश्वलाई बुझेपछि नै सम्भव हुने छ तर त्यो यस्तो कार्य हो, जो कसैको पनि वशभित्रको कुरा होइन ।
जलजला एउटा व्यक्ति हुन् । उपन्यास उनको वरिपरि नै घुम्दछ तर त्यसका साथै प्रस्तुत उपन्यासले सम्पूर्ण विश्वलाई पनि बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । सुरुमा उपन्यासको क्षेत्र खालि कर्णाली प्रदेश (कर्णाली भन्नाले मैले वर्तमान कर्णाली प्रदेश होइन, ऐतिहासिक कालमा उल्लेख गरिए जस्तो प्युठानदेखि सुदूरपश्चिमसम्मको भूभागलाई नै लिएको छु) र गढवाल–कुमाउका पहाडी जिल्लालाई नै लिइएको थियो तर पछि उपन्यासको क्षेत्रको विस्तार हुँदै गयो । त्यसले संसारका सबै महादीप, सबै महासागर तथा अन्तरिक्ष, खालि “मिल्की वे” तारामण्डल मात्र होइन, सुदूरका सबै तारामण्डलसमेतमा प्रवेश गर्ने प्रयत्न गरेको छ । त्यसका साथै त्यो उपन्यासले वर्तमान ज्ञात ब्रह्माण्डबाहेक अन्य अज्ञात ब्रह्माण्डलाई पनि झाँक्ने प्रयत्न गर्दछ ।
माथि जे भनियो, त्यो दिशामा उपन्यासले सामान्य रूपले नै प्रयत्न गरेको छ तर त्यसका साथै त्यो उपन्यासमा नेपालको कर्णाली प्रदेश, त्यहाँको इतिहास र संस्कृति, कपिलवस्तु र लुम्बिनीको बौद्ध संस्कृति, नेपालको ढुङ्गेयुगीन र रामापिथेकसको सभ्यता, थारू, मगर र खस जस्ता प्रागऐतिहासिक महान् जातिको इतिहास र संस्कृति, काठमाडौँ उपत्यकाको इतिहास, अष्टमात्रिकाको इतिहास, कुमाउको इतिहास र संस्कृति, युरोप र फ्रान्सको कला, संस्कृति, त्यहाँ राजतन्त्र विरुद्धको सङ्घर्ष र बलिदानको इतिहास, जर्मनीको हिटलरको फासिज्म, त्यहाँका कन्स्ट्रेसन क्याप (यातनागृह), फासिज्मका विरुद्ध जर्मन जातिको महान् र बलिदानपूर्ण सङ्घर्षको इतिहास, रुसको समाजवादी क्रान्ति र हिटलरको आक्रमण विरुद्ध स्टालिनग्राद र लेनिनग्राद र मास्कोका वीरतापूर्ण सङ्घर्ष, रुसको प्रतिक्रान्ति, युनानको प्राचीन इतिहास र त्यहाँका त्याग र बलिदानले भरिएका कैयौँ कथा आदिसमेतलाई उपन्यासमा गहन रूपले प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
त्यो उपन्यासमा नेपालको पञ्चायती काललाई पनि विस्तृत रूपले चित्रण गर्ने प्रयत्न गरिएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो उपन्यासमा प्युठानबारे पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।
त्यो उपन्यासमा कैयौँ वास्तविक व्यक्तिलाई पनि चित्रण गर्ने प्रयत्न गरिएको छ† जस्तै कि सत्यमोहन जोशी, बालकृष्ण पोखरेल, पुष्पलाल, निर्मल लामा, चित्रबहादुर केसी, खगुलाल गुरुङ, रश्मी नेपाली, खम्बासिङ काजी, थवाङका बर्मन बुढा, गढवालका चन्द्रसिंह गढवाली, सरला बहन, कुमाउका सुन्दरलाल बहुगुणा, बिमला बहुगुणा, राधा बहन आदि । निश्चय नै ती सबैलाई औपन्यासिक रूपमा नै चित्रण गर्ने प्रयत्न गरिएको छ तर त्यसो गर्दा उनीहरूको मूल दृष्टिकोण र भूमिकाको सीमाभित्र नै उनीहरूलाई प्रस्तुत गरिएको छ ।
माथि भनिएका विभिन्न स्थानबारे जानकारी प्राप्त गर्न मैले ती सबै स्थानको भ्रमण गर्नुका साथै त्यहाँका कतिपय व्यक्तिसित भेटघाट गर्नुपरेको छ । त्यस सिलसिलामा मैले फ्रान्स, जर्मनी, रुस, युनान आदि कैयौँ देशको भ्रमण गरेको छु । निश्चय नै पार्टीकामको सिलसिलामा अन्तर्राष्ट्रिय बैठकमा जाँदा नै मैले ती स्थानको भ्रमण गरेको छु । गढवाल र कुमाउका पनि कैयौँ स्थानको मैले भ्रमण गरेको छु । नेपालका विभिन्न स्थानबारे त मैले बताउनुपर्ने आवश्यकता भएन । त्यहाँका कैयौँ स्थानको पनि मैले पहिलेदेखि नै भ्रमण गर्दै आएको छु ।
उक्त विभिन्न स्थानबारे जानकारी प्राप्त गर्न मैले त्यहाँको जनजीवन, इतिहास, संस्कृति, दर्शन वा भौगोलिक विवरणबारे पनि विस्तृत रूपले अध्ययन गर्नुपरेको थियो । उपन्यासका लागि सामग्री जुटाउन मैले नैनिताल, दिल्ली, इलाहवाद वा काठमाडौँका कैयौँ पुस्तकालयमा अध्ययन गर्नुपरेको थियो । इन्टरनेटबाट त मैले थुप्रै सामग्री निकालेको छु र ती सामग्रीका कैयौँ भोल्युम अहिले पनि मसित सुरक्षित छन । पहिले पिएचडीको सिलसिलामा गढवाल र कुमाउमा सङ्कलन गरेका सामग्री वा नोटले पनि मलाई उपन्यासको तयारीका लागि धेरै मदत पुर्याएका थिए । संसारका विभिन्न महादीप र समुद्र, संसारका प्राचीन लुप्त सभ्यता† जस्तै कि माया सभ्यता, मेसापोटामियाको सभ्यता, सिन्धुघाँटीको सभ्यता आदि, अन्तरिक्षका अरबौँ तारामण्डलबारे पनि मैले सकेसम्म अध्ययन गर्ने र जानकारी जुटाउने र तिनीहरूबारे उपन्यासमा उल्लेख गर्ने प्रयत्न गरेको छु ।
उपन्यासको प्रारम्भ अल्मोडाको कौसानीबाट हुन्छ र त्यसको अन्त रोल्पाको थबाङमा हुन्छ ।
कौसानीको सम्बन्ध सुनन्दासित छ । उनी उपन्यासकी जलजलापछिकी दोस्रो मुख्य महिला पात्र हुन् । उनी धार्चुलाको दार्मा प्रगन्नाको दाँतु गाउँकी सौका जातकी महिला हुन् र उनी दिल्ली युनिभर्सिटिकी शोधछात्रा हुन् । उनी उपन्यासको सुरुदेखि अन्तसम्म रहन्छिन् । उनीबारे उपन्यासको प्राक्कथनमा लेखिएको छ : ‘सुनन्दाबिना उपन्यासको गति अगाडि बढ्न नै सक्दैन ।’
थबाङ जलजलाको कर्मक्षेत्र हो, जहाँ जाने बेलामा उनी विद्या ढकालबाट जलजला बनेकी थिइन् । त्यसरी उपन्यासमा कौसानी र थबाङ दुबै स्थानको अत्यन्त महत्त्वपूर्ण स्थान रहेको छ ।
सुनन्दा एउटी काल्पनिक पात्र हुन् तैपनि उपन्यासको लागि सुनन्दा जस्ती उपयुक्त पात्र खोज्न मैले गढवाल र कुमाउका धेरै स्थानको भ्रमण गर्नुपरेको थियो वा धेरै स्थानबारे अध्ययन गर्नुपरेको थियो ।
उपन्यासको सिलसिलामा अध्ययन र सामग्री जुटाउन कैयौँ व्यक्तिले मलाई धेरै मदत पुर्याउनुभएको छ । फ्रान्समा डा. बिनोइट केलमेलले मलाई धेरै मदत गर्नुभएको थियो । उहाँले मेरो विषयमा म र प्युठानको पार्टीको विषयमा पेरिस युनिभर्सिटीबाट नै पिएचडी गर्नुभएको थियो । जर्मनीमा एमएलपिडीका कामरेडहरूले मलाई धेरै सहयोग पुर्याउनुभएको थियो । रुसमा कृष्णप्रसाद श्रेष्ठ र त्यो बेलाका रुसका नेपाली राजदूत रविमोहन कोविला र अन्य कैयौँ नेपाली साथीहरूले पनि मलाई धेरै मदत गर्नुभएको थियो । म उहाँको दूतावासमा नै डेरा गरेर बसेको थिएँ । त्यहाँबाट म स्टालिनग्राद र लेनिनग्रादमा समेत घुम्न जाने गर्दथे । युनानमा अध्ययन र भ्रमणका लागि शेखर पौडेलबाट धेरै मदत पुगेको थियो ।
गढवाल र कुमाउमा उपन्यासका सामग्री जुटाउने सिलसिलामा दुर्गा पौडेलले मलाई धेरै नै मदत गरेकी छिन । एकपल्ट धार्चुलाको निषेधित क्षेत्रमा जाँदा त्यहाँ झन्डै हामी दुबै जना गिरफ्तार भएको कुरा मैले पहिलेको एउटा संस्मरणमा उल्लेख गरिसकेको छु । वास्तवमा गढवाल र कुमाउका कैयौँ अग्ला पहाड, त्यहाँका गाउँका भित्री भागसम्म गएर सामग्री जुटाउन उनले मलाई धेरै मदत गरेक थिइन् । उनी नभएको भए मलाई गाउँमा गएर त्यहाँका महिलासित भेटघाट गर्न सजिलो हुने थिएन ।
पहिले जलजला र म कैयौँ पल्ट कुमाउमा गएका थियौँ । त्यो बेला उपन्यास लेख्ने मेरो कुनै विचार थिएन । उनको मृत्युपछि नै मैले त्यो उपन्यासको योजना बनाएँ र लेख्न थालेँ । त्यसबाट यो पनि प्रष्ट छ कि यदि उनको मृत्यु नभएको भए त्यो उपन्यास कहिल्यै पनि लेखिने थिएन । जलजलासित कुमाउमा घुम्दा प्राप्त जानकारीले पनि मलाई उपन्यासको आधार तयार पार्न धेरै मदत पुर्यायो ।
कपिलवस्तु र लुम्बिनीको अध्ययनको लागि मलाई डा. गीतु गिरी र बद्रे आलमबाट धेरै सहयोग प्राप्त भयो । डा. गीतु गिरीले लुम्बिनी र कपिलवस्तु तथा त्यहाँको बौद्धसभ्यता, संस्कृति र इतिहासबारे गहन अध्ययन गर्नुभएको छ र कैयौँ पुस्तक लेख्नुभएको छ । तिनीहरूको अध्ययनबाट पनि मलाई उपन्यासका लागि सामाग्री जुटाउन धेरै मदत पुग्यो । थारूजाति र उनीहरूका सांस्कृतिक कार्यक्रमबारे सामग्री जुटाउन मलाई रश्मिराज नेपाली र शिव पौडेलबाट धेरै मदत पुगेको थियो । कर्णाली प्रदेश वा सुदूरपश्चिमसम्बन्धी सामग्री जुटाउन मलाई मनोज भट्ट र प्रेम कैदीबाट धेरै मदत पुग्यो । खास गरेर त्यहाँको मष्टा, मतवाली क्षेत्रीसमेतबारे जानकारी प्राप्त गर्न उहाँहरूबाट मलाई धेरै मदत पुग्यो । त्यस्तै, रोल्पा थबाङकी तुलकुमारी बुढाले पनि उपन्यासको सामग्री जुटाउन मदत गर्नुभएको थियो ।
उपन्यासका कतिपय परिच्छेद केरलासित सम्बन्धित छन् । त्यहाँ मैले पार्टीबाट निष्काशित भएको बेलामा करिब १० महिनाको समय बिताएको थिएँ । मेरो त्यो अत्यन्त दु:ख र आपतको बेलामा त्यहाँका मानिसबाट प्राप्त आत्मीयता र सहयोग मैले सधैँ सम्झिरहन्छु । त्यहाँकी एउटी बुढी आमाले मेरो भाषा बुझ्नु हुँदैनथ्यो । त्यो बेला मेरो डेरा सहरबाट टाढा गाउँमा पर्दथ्यो ।
बाहिरबाट राति अबेला आएपछि म थाकेको हुन्थे र खाना नपकाइकन सुत्दथे । ती बुढी आमाले मैले खाना पकाएँ कि पकाइनँ ? खाना आएँ कि आइनँ भनेर आफ्ना केटाकेटीलाई हेर्न पठाउनु हुन्थ्यो र म खाना नखाइकन सुतेको थाहा पाएपछि थालमा हालेर खाना पठाइदिनुहुन्थ्यो । एक दिन होइन, दुई दिन होइन, कैयौँ दिनसम्म मलाई त्यसरी खाना पठाइदिने गर्नुहुन्थ्यो । त्यो ता एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । केरलाका मानिसको त्यस प्रकारको आत्मीय स्वभावबाट म धेरै प्रभावित भएको थिएँ । त्यसैले कुमाउपछि मैले भारतको सबैभन्दा राम्रो मान्ने ठाउँ केरला नै हो ।
उपन्यास तयारीको सिलसिलामा मैले भारतीय दर्शन र धार्मिक ग्रन्थको पनि अध्ययन गर्नुपरेको थियो । खास गरेर शाङ्ख्य दर्शन र गीताबाट मैले उपन्यासका लागि कैयौँ सामग्री लिएको छु । शाङ्ख्य दर्शनले दु:खसुख, मानअपमान आदिका बेलामा समभाव राख्ने कुराको शिक्षा दिन्छ । त्यसबाट मलाई सबै प्रकारका मानअपमान, गालीबेइज्जती आदिका बेलामा पनि स्थिर रहने वा त्यस्तो बेलामा पनि सुखी र प्रसन्न रहन मदत पुर्याउने गरेको छ ।
गीताले कर्म गर, फलको आशा नगर भन्ने कुरामा जोड दिएको छ । गीताले कर्म गरेपछि फल सबै भगवान्मा समर्पण गर्नुपर्दछ भनेको छ । भगवानलाई फल समर्पण गर्ने कुरामाथि ता मेरो विश्वास छैन तर त्यो गीताको भनाइलाई मैले यस अर्थमा बुझेको छु : देश र जनता, पार्टी र क्रान्तिका लागि जति गरे पनि त्यसबाट व्यक्तिगत फलको कुनै आशा गर्नुहुँदैन । गीताले भने झैँ निष्काम भावले, कुनै प्रतिफलको आशा नगरिकन आफ्नो कर्तव्य पूरा गर्दै जानुपर्दछ । निश्चय नै माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणको सारतत्त्व पनि त्यही नै हो । शाङ्ख्य दर्शन र गीताका ती भनाइलाई मैले उपन्यासका कतिपय परिच्छेदमा उल्लेख गरेको छु ।
उपन्यास लेख्नुपछाडिको मेरो मुख्य उद्देश्य सर्वहारा विश्वदृष्टिकोणलाई स्थापित गर्नु हो । व्यक्तिवादी र स्वार्थपरायण दृष्टिकोणका कारणले अहिलेको हाम्रो समाज नारकीय बनेको छ । त्यो दृष्टिकोणलाई बदलेर सामाजिक, मानवीय र क्रान्तिकारी दृष्टिकोण निर्माण गर्नुपर्दछ र उपन्यासको सम्पूर्ण जोड त्यही कुरामा छ ।
मैले उपन्यासका सकारात्मक पात्रलाई त्यही रूपमा ढाल्ने प्रयत्न गरेको छु भने नकारात्मक पात्रलाई पात्रलाई उदाङ्गो पार्ने प्रयत्न गरेको छु† जस्तो कि यो संस्मरणको सुरुमा नै भनियो, उपन्यासमा प्रेमको कथा पनि छ तर मैले प्रेमलाई पार्टी र क्रान्ति उच्च सामाजिक क्रान्तिकारी दृष्टिकोणका साथमा नै जोडेर हेर्ने प्रयत्न गरेको छु । त्यो अवस्थामा नै प्रेम पवित्र र उच्च हुन्छ । मैले त्यस प्रकारको प्रेमलाई नै उपन्यासमा प्रतिस्थापित गर्ने प्रयत्न गरेको छु ।
उपन्यासमा जम्मा २ खण्ड र ८ भाग छन् । उपन्यासको पहिलो भागको शीर्षक ‘कुमाउकी छोरी’ रहेको छ र त्यो भाग पूरै नै कुमाउसित सम्बन्धित छ । कुमाउबाट नै मैले उपन्यासकी एउटी महिला पात्र सुनन्दालाई पनि लिएको छु ।
जस्तो कि माथि उल्लेख भयो, थबाङ जलजलाको कर्मभूमि हो । मैले नै उनलाई जलजला बनाएर त्यहाँ पठाएको थिएँ । त्यसकारण मैले थबाङ र जलजला धुरीबारे उपन्यासमा विस्तृत रूपले चर्चा गरेको छु ।
म २०१३ सालमा त्यहाँ गएको थिएँ । त्यो बेला नै जलजला धुरीप्रति म धेरै आकर्षित भएको थिएँ । त्यही कारणले मैले विद्या ढकालको नाम जलजला राखिदिएको थिएँ । उनको मृत्युपछि मेरो त्यो स्थानप्रतिको आत्मीयता र प्रेम झन् बढेर गयो ।
त्यसकारण पछि जलजला धुरी र थबाङबारे सामग्री जुटाउन म जलजला धुरीको मेलाको अवसर पारेर त्यहाँ गएको थिएँ । थबाङबारे कैयौँ नोट सङ्कलन गरेर आएको थिएँ । त्यो बेला मेरा साथमा शशिधर भण्डारी, मेघनाथ विष्ट, फ्रान्सका बिनोइट केलमेल, सुवर्ण पौडेल, गोपाल नेपाली आदि हुनुहुन्थ्यो । पछि त्यहाँबाट नोट लेखेर ल्याएको मेरो कपी हरायो । त्यसैले करिब २ वर्षपहिले म पुन: त्यहाँ गएको थिएँ । पछिल्लो पटक जाँदा त्यहाँ जाने मोटरबाटो बनिसकेको थियो । त्यसैले हामी जिपमा नै गएका थियौँ । त्यो बेला मसित तिलक जिसी, मेघनाथ विष्ट, प्रकाश जिसी र ड्राइभर विष्णु श्रेष्ठ हुनुहुन्थ्यो । ती सामग्रीको आधारमा मैले उपन्यासको उपसंहार तयार पारेको छु । उपन्यासको अन्त उपसंहारमा नै हुन्छ र त्यो उपसंहार थबाङसित नै सम्बन्धित छ ।
उपन्यासको पहिलो भाग कुमाउसित नै सम्बन्धित हुनु र उपन्यासको एउटा मुख्य पात्र कुमाउबाट लिनुले मेरो कुमाउप्रतिको गहिरो आत्मीयता र प्रेमलाई बताउँछ ।
एकपटक कुनै पत्रकारले मलाई सोधेका थिए : ‘संसारमा तपाईंलाई सबैभन्दा राम्रो लाग्ने ठाउँ कुन हो ?’ मैले भनेको थिएँ : ‘ओखरकोट’ । ओखरकोटप्रतिको मेरो त्यो गहिरो माया अहिले पनि कायम छ । त्यसैले मैले सकेसम्म ओखरकोटको विकासका लागि सानैदेखि धेरै प्रयत्न गर्दै आएको छु । मलाई यसका लागि पनि धेरै प्रसन्नता छ कि मेरो त्यो काममा मैलेभन्दा बढी मदत दुर्गाले पुर्याउने गरेकी छिन् ।
एउटा अर्काे पत्रकारले ‘नेपाल बाहिर संसारमा तपाईंलाई सबैभन्दा राम्रो लाग्ने सहर कुन हो ?’ भनेर सोध्दा मैले भनेको थिएँ : ‘पेरिस’ ।
भारतमा मलाई सबैभन्दा राम्रो लाग्ने ठाउँ गढवाल–कुमाउ नै हुन् । त्यसका पछाडि कैयौँ कारणले काम गरेका हुन सक्दछन् । त्यहाँका पहाड, जङ्गल, डाडाकाँडा मात्र होइन, गढवाल–कुमाउका मानिसको स्वभाव, बोलचाल, भेषभूषा आदि पनि नेपालीका जस्ता नै छन् । पञ्चायती कालमा वारेन्ट भएकाले म खुलेर नेपालका गाउँमा जान सक्दैनथेँ । त्यो अवस्थामा नेपालप्रतिको आफ्नो भोक मेटाउन म प्रायश: गढवाल–कुमाउतिर घुम्न जाने गर्दथेँ । त्यसैले गढवाल–कुमाउप्रति मेरो मनमा धेरै नै प्रेम उत्पन्न भयो ।
कैयौँ पल्ट त्यहाँ जाँदा मेरा साथमा जलजला पनि हुन्थिन् । जलजलाको मृत्युपछि उनको सम्झनामा मलाई गढवाल–कुमाउको पनि झन् बढी माया लाग्न थाल्यो । त्यसैले मैले आफ्नो उपन्यासमा गढवाल–कुमाउको जीवन, त्यहाँको संस्कृति, चाडपर्व आदिबारे कैयौँ कुरा उल्लेख गरेको छु । त्यसैले मेरो उपन्यासको पहिलो भाग कुमाउसित नै सम्बन्धित छ ।
अन्तमा, उपन्याससित सम्बन्धित मेरा कैयौँ संस्मरण छन । त्यस प्रकारको संस्मरणका कारणले उपन्यासको अन्तरकथा धेरै नै लामो हुन जान्छ । ती सबैलाई संक्षिप्त रूपले उल्लेख गर्ने हो भने पनि एउटा अर्काे उपन्यास तयार हुने छ । सायद त्यो कार्य मैले कहिल्यै गर्न सक्नेछैन वा कुनै दिन मैले त्यो कार्य पूरा गर्न सके पनि त्यो उपन्यासको अन्तरकथाको अत्यन्त संक्षिप्त रूप हुने छ । अहिलेसम्म मैले लेख्नका लागि बनाएका धेरै योजना अपुरो रहने गरेका छन् । त्यसकारण अत्यन्त संक्षिप्त रूपमा भए पनि त्यो अन्तरकथा लेख्न सफल हुने छु वा छैन ? त्यो कुरा भविष्यले नै बताउने छ ।