समीर सिंह##
सर्वहारा विश्वदृष्टिकोणको अझ धेरै ज्ञान प्राप्त गर्न नेपालबाट जर्मनी पुगियो । १४ दिनसम्म यसका विभिन्न पक्षहरूको बारेमा छलफल, अध्ययन तथा व्यावहारिक विषयको बारेमा केन्द्रित भइयो ।
सामान्यत: प्रश्न उठ्न सक्छ : एउटा दृष्टिकोणको पनि त्यति धेरै महत्त्व हुन्छ र ? एउटा दृष्टिकोणले मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन तथा राजनीतिक जीवनमा त्यति धेरै प्रभाव पार्छ र ? दृष्टिकोणको प्रशिक्षणका लागि एउटा कुनै पार्टीले किन यति धेरै समय तथा लगानी गरेको होला ? वास्तवमै यी प्रश्न गम्भीर छन् ।
सर्वहारा दृष्टिकोणसम्बन्धी सम्पूर्ण कोर्सको पहिलो सेमेस्टरमा यसका आधारभूत विषयमा अध्ययन तथा छलफल गरियो । यो विषयलाई दर्शनशास्त्रसँग जोड्दै यसको चिरफार गर्ने प्रयास गरियो । वर्गीय समाजमा कस्ता प्रकारका दृष्टिकोण जन्मिने गर्दछन् ? त्यसले सामाजिक तथा राजनीतिक आन्दोलनमा कस्तो प्रभाव पार्दछ ? लगायतका विषयमा हामी केन्द्रित भयौँ । जर्मनी भाषामा प्रशिक्षण दिइए पनि अनुवादकहरूले हामीलाई विषयवस्तु बुझाउन निकै मिहिनेत गरिरहनु भएको थियो अनि फुर्सदको समयमा उहाँहरू हामीलाई सोध्ने गर्नुहुन्थ्यो : ‘बुझ्न केही गाह्रो भएको हो कि ?’ केही नबुझेका शब्द तथा वाक्यको बारेमा अझ हामी प्रस्ट रूपमा छलफल गथ्र्यौं । यसरी हाम्रो ज्ञानको आकार बढ्दै गयो ।
वास्तवमै सर्वहारा विश्वदृष्टिकोण एउटा बृहत विषय हो । यो विषय कुनै निश्चित अवधारणासम्म मात्र सीमित छैन । यसले विभिन्न विषय समेटेको हुन्छ । यो दृष्टिकोणको आधार भनेको द्वन्द्वात्मक भौतिकवाद हो । समाजमा चल्ने विभिन्न आन्दोलन तथा सङ्घर्षसँगै यसको यथार्थ स्वरूप निर्धारित हुँदै गइरहेको हुन्छ । त्यति मात्रै होइन, ती आन्दोलन र सङ्घर्षको नेतृत्व पनि यही दृष्टिकोणको आधारमा हुने गर्दछ ।
एउटा मानिस आफ्ना इच्छा र आवश्कता पूरा गर्न उत्पादनसँग जोडिन्छ । सामूहिक गतिविधिमा क्रियाशील हुन्छ । मानिस मानिसबिचका विभिन्न सम्बन्ध निर्माण हुन्छ । त्यो सम्बन्धभित्र सहकार्य पनि हुन्छ अनि प्रतिस्पर्धा पनि । कतिपय अवस्थामा सुमधुर सम्बन्ध कायम हुन्छ; कतिपय अवस्थामा अन्तर्विरोध चर्किंदै गएको हुन्छ । यी सबै सम्बन्धको आधार हो : उत्पादन प्रणाली । विद्यमान उत्पादन प्रणालीले उत्पादन सम्बन्ध निर्धारण गरिरहेको हुन्छ । उत्पादन प्रणाली र उत्पादन सम्बन्धबिच एकरूपता भयो भने विकास र समृद्धिले तीव्र रूप लिन्छ अन्यथा अन्तर्विरोध झनै चर्किँदै गइरहेका हुन्छन् ।
प्रकृति र समाजसँग सङ्घर्ष गर्दै जाँदा मानिसमा कुनै न कुनै सैद्धान्तिक अवधारणा तयार हुने गर्दछ । त्यो अवधारणा तयार हुने मात्र होइन, त्यसको निर्णय प्रक्रियामा पनि उनीहरूको संलग्नता हुन्छ । यसरी कुनै सैद्धान्तिक अवधारणा बन्नु र निर्णय प्रक्रियामा संलग्न हुने सम्पूर्ण प्रणाली विश्वदृष्टिकोण हो; जस्तै : एउटा सामन्तले किसानमाथि शोषण गर्दछ भने त्यो वस्तुगत परिस्थिति भयो । त्यस प्रकारको परिस्थितिका आधारमा शोषण कसरी हुँदो रहेछ ? त्यसको बारेमा अवधारणा तयार हुँदै गइरहेको हुन्छ । त्यति मात्र नभएर त्यस प्रकारको शोषणको विरुद्ध त्यो किसानको भूमिका कस्तो हुने ? त्यस प्रकारको निर्णय प्रक्रियामा पनि ऊ संलग्न हुन्छ । यस प्रकारको सम्पूर्ण प्रणाली विश्वदृष्टिकोण हो ।
कुनै पनि मानिस प्रकृति र समाजबाट अलग भएर बस्न सक्दैन । ऊ विभिन्न प्रकारको उत्पादनका लागि सङ्घर्ष गरिरहेको हुन्छ । यो सम्पूर्ण प्रक्रियामा हरेक मानिसका फरक फरक अवधारणा बनिरहेको हुन्छ । त्यही अवधारणा कुनै पनि निर्णय प्रक्रियाको आधार हो ।
यसरी तयार भएको विश्वदृष्टिकोणले मानिसलाई उसको क्रियाशीलताका लागि मार्गनिर्देशन गरिरहेको हुन्छ ।
समाजमा बस्ने सबै मानिसको दृष्टिकोण तयार भएको हुन्छ । कुनै चोरको दृष्टिकोण एउटा हुन सक्छ । अर्को साधुको अर्कै दृष्टिकोण तयार भएको हुन सक्छ । कुनै सामन्तको एउटा दृष्टिकोण तयार भएको हुन सक्छ तर सामन्तकहाँ काम गर्ने किसानको अर्कै दृष्टिकोण तयार भएको हुन्छ । विशेष गरेर आर्थिक उत्पादनसँगै जोडिँदै जाँदा यस प्रकारका फरक फरक दृष्टिकोण तयार भएको हुन्छ ।
जर्मनीको मानिस र नेपालको मानिसको दृष्टिकोण एक प्रकारको नहुन सक्छ । पुँजीवादी उत्पादन प्रणालीअन्तर्गतको मानिस र सामन्ती समाजअन्तर्गतको मानिसको दृष्टिकोणमा एकरूपता नहुन सक्छ । एउटा कारखानामा काम गर्ने मजदुर र एउटा खेतमा काम गर्ने किसानमा फरक फरक दृष्टिकोण तयार भएको हुन्छ । यसरी तयार हुने दृष्टिकोणको प्रमुख आधार उत्पादन प्रणाली हो ।
विश्वदृष्टिकोणको आधारमा उत्पादन सम्बन्ध र त्यही सम्बन्धका आधारमा सहकार्य तथा अन्तर्विरोधको स्थिति निर्धारण हुँदै जाने हो ।
आआफ्नो स्वार्थअनुसार वर्गसङ्घर्षको अवस्था पनि सिर्जना हुने गर्दछ । उत्पादन प्रणालीअनुसार विश्वदृष्टिकोण तयार हुने अनि विभिन्न प्रकारका वर्गसङ्घर्षको परिस्थितिबाट अगाडि बढ्दा विश्वदृष्टिकोणको स्वरूपमा पनि परिवर्तन आउँदै गइरहेको हुन्छ ।
माओत्सेतुङले आफ्नो पहिलो सङ्कलित रचनामा भन्नुभएको छ : ‘वर्गीय समाजमा कुनै पनि मानिस कुनै वर्गको सदस्यको रूपमा रहेको हुन्छ । ती मानिसहरूको सोचाइमा एउटा निश्चित वर्गको छाप अन्तर्निहित रहेको हुन्छ ।’ कुनै पनि मानिसका दृष्टिकोणले कुनै वर्गको स्वार्थको प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यही आधारमा उसका हरेक गतिविधि निर्धारित भइरहेका हुन्छन् ।
अहिलेसम्मको मानव समाजको अध्ययन गर्दा विशेष गरेर दुई प्रकारका विश्वदृष्टिकोण अस्तित्वमा रहेको देखिन्छ : एउटा बुर्जुवा विश्वदृष्टिकोण र अर्काे सर्वहारा विश्वदृष्टिकोण । बुर्जुवा दृष्टिकोणको दार्शनिक आधार प्रत्ययवाद (आदर्शवाद) हो भने सर्वहारा विश्वदृष्टिकोणको भौतिकवाद । पहिलो विश्वदृष्टिकोणले सामन्तवाद तथा पुँजीवादको हितको प्रतिनिधित्व गरेको हुन्छ । त्यसको विपरीत दोस्रोले किसान तथा मजदुरको हितको प्रतिनिधित्व गरेको हुन्छ ।
नेपाल जस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राज्य संरचनामा बुर्जुवा विश्वदृष्टिकोणले आफ्नो प्रभाव बढाउँदै गइरहेको अवस्था छ । सामाजिक, राजनीतिक, आर्थिक विकृति–विसङ्गतिहरू यस प्रकारको दृष्टिकोणको आधार हो । धार्मिक मूल्यमान्यताको आधारमा भाग्य, कर्म, स्वर्ग, नर्क तथा धर्मको आडमा जातीय र लैङ्गिक विभेद जस्ता सांस्कृतिक चिन्तनले यथास्थितिको पृष्ठपोषण गरिरहेका हुन्छन् । त्यसका साथै धर्मको नाममा राजनीति तथा जातिवादी र नारीवादी सोचाइले पनि बुर्जुवा विश्वदृष्टिकोणका लागि पृष्ठपोषण गरिरहेको हुन्छ ।
कम्युनिस्ट विरोधी गतिविधि पनि बुर्जुवा विश्वदृष्टिकोणको आधार हो । कतिपय अवस्थामा कम्युनिस्टको नाम लिएर भ्रष्ट राजनीतिमा संलग्नताले पनि कम्युनिस्ट चरित्र तथा वर्गसङ्घर्षको आधार कमजोर बन्दै गइरहेको हुन्छ । सिद्धान्तमा आदर्शको कुरा गर्ने तर व्यवहारमा प्रतिक्रियावादी सत्तालाई हित हुने कार्य गर्नुले कम्युनिस्ट आन्दोलन झनै कमजोर हुँदै गइरहेको हुन्छ । नेपालकै सन्दर्भमा कम्युनिस्टको नाम लिएर जातिवादी, महिलावादी तथा उत्तरआधुनिकतावादी सोच र चिन्तनबाट मुक्त हुन नसक्नु पनि बुर्जुवा विश्वदृष्टिकोण हो ।
द्वन्द्वात्मक गोष्ठीको पहिलो सेमेस्टरमा सकारात्मकतावाद र व्यवहारवादलाई पनि बुर्जुवा विश्वदृष्टिकोणको आधार मानिएको छ ।
ब्ल्याक होल तथा बिग ब्याङ सिद्धान्तमाथि आलोचना तथा आधुनिक विज्ञानको सङ्कटको विषयलाई पनि बुर्जुवा विश्वदृष्टिकोण भनेर उल्लेख गरिएको छ । यो विषयमा आगामी अङ्कमा आलोचनात्मक छलफल चलाउँदै जाने छु तर नेपाली समाजको अर्थराजनीतिक सन्दर्भमा कम्युनिस्ट आन्दोलन तथा वर्गसङ्घर्षमाथि कसरी आक्रमण भइरहेको छ ? यो प्रश्नको समाधान गर्ने सन्दर्भमा नै बुर्जुवा विश्वदृष्टिकोणको विषयप्रति स्पष्ट हुन सकिने छ ।
मानव समाजमा चल्ने विभिन्न वर्गसङ्घर्षको दौरानमा बुर्जुवा विश्वदृष्टिकोण तथा सर्वहारा विश्वदृष्टिकोणबिचको स्वरूप प्रस्ट हुँदै गइरहेको हुन्छ । एउटा धारणा बन्छ; त्यसको अनुभूति गरिन्छ अनि निर्णय प्रक्रियामा क्रियाशील हुँदै जाँदा विषयवस्तुमाथि प्रष्टता हुँदै गइरहेको हुन्छ । यो प्रक्रियाबाट अगाडि बढ्दै जाँदा कतिपय अस्पष्टतामा प्रष्टता आउँदै गइरहेको हुन्छ । वर्गसङ्घर्ष चर्किंदै जाँदा प्रत्ययवादको प्रभाव कमजोर हुँदै जान्छ । त्यसको विपरीत द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको पकड अझ बलियो हुँदै गइरहेको हुन्छ । यसरी सर्वहारा विश्वदृष्टिकोणको भविष्य उज्ज्वल छ भनेर मूल्याङ्कन गर्न सकिन्छ । (क्रमश:)