खेमराज गौतम, बागलुङबजार ।
पुस्तान्तरणको अभावमा हराउन थालेका बागलुङका लोककथा अब लिपिबद्ध हुने भएका छन् ।
बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोककथा तथा किम्बदन्ती हराउँदै गएपछि लोक कथा संरक्षणका लागि सङ्कलन तथा लिपिबद्ध गर्न थालिएको हो ।
रिड नेपालको आर्थिक सहयोग तथा विद्यामन्दिर पुस्तकालयको आयोजनामा बागलुङकोे कथा सङ्कलन तथा अभिलेखीकरणको काम गरिएको मात्रै छैन, कथामा आधारित चित्रसमेत निर्माण गर्न थालिएको छ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ईश्वरीप्रसाद गौतमले “बाजेबज्यैको कथा मेरो चित्र” अन्तर्गत विद्यामिन्दर पुस्तकालयमा बालबालिकालाई जम्मा गरेर ओदानको कथा सुनाउनुभयो ।
‘कथामध्येको किंवदन्ती कथा ओदानको कथामा बाइसेचौबिसे राज्यअन्तर्गत भुरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा प्राकृतिक ओदान खसेको थियो । उक्त ओदान खसेर तोरीखेतमा नाच्ने क्रममा एउटा खुट्टा भाँचिएपछि ओदान त्यहीँ रह्यो’ गौतमले बालबालिकालाई कथा सुनाउँदै भन्नुभयो– ‘अहिले त्यस स्थानको नाम ओदानडाँडा नामकरण गरिएको छ । दुईखुट्टे ओदान त्यहाँ संरक्षित छ ।’
अहिले उक्त ओदान भएको स्थानलाई ओदानेश्वर मन्दिरको नामकरणसमेत गरिएको छ । अहिले त्यहाँ ओदान देख्न सकिन्छ । इतिहास र प्रमाणका आधारमा भनिएको क्रिवदन्ती कथा बालबालिकाले पुनर्लेखन मात्रै गरेनन्, ओदानको कथासँग सम्बन्धित रहेर चित्रसमेत कोरेको छ ।
चार दिनसम्म चलेको “बाजेबज्यैको कथा स् मेरो चित्र” कार्यक्रम अन्तरगत सङ्कलित एक दर्जन लोककथा सङ्ग्रह, पुनर्लेखन र चित्रसहित “बागलुङको कथा” नामक पुस्तक प्रकाशन गरिने विद्यामन्दिर पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो ।
लोककथाका चार विधामध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेशसँग जोडेर लोककथा संरक्षणसँगै लिपिबद्ध गर्न थालिएको वरिष्ठ बाल साहित्यकार प्राध्यापक डा। धु्रव घिमिरेले जानकारी दिनुभयो ।
‘बागलुङको नामकरण कसरी भयो रु ओदानको कथा, कालिका मन्दिर कसरी स्थापना भयो रु सत्यवतीको कथालगायतका एक दर्जन लोककथा बाजेबज्यैले सुनाउनुभएको छ । कथालाई बालबालिकाले लेखन तथा चित्रमा उतार्नुभएको छ । कथालाई काँटछाट गरेर हामीले रिड नेपालको सहयोगमा प्रकाशनमा ल्याउने छौंँ’ घिमिरेले भन्नुभयो– ‘हामीले बाजेबज्यैसँग बालबालिकाको सामिप्यता बढाउन खोजेका छौँ । बागलुङको कथा रिड नेपालअन्तर्गतका पुस्तकालयमा उपलब्ध हुने छ, जसले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ । लोप भएका लोककथा जोगाउने छ ।’
बाजेबज्यैको काखमा बसेर पुराना कथा र कहानी सुन्न पाउन छाडेपछि नयाँ पुस्तालाई यससम्बन्धी ज्ञान दिनका लागि बाजेबज्यैको कथा बालबालिकालाई सुनाउन थालिएको हो ।
कलिला बालबालिका इन्टरनेट र विदेशी संस्कृतिमा जोडिँदा आफ्नो संस्कृतिसमेत भुल्ने र एक्लिने प्रवृति बढेपछि यस्तो अवधारणा ल्याइएको रिड नेपालकी वरिष्ठ फिल्ड संयोजक बिना गोलेले बताउनुभयो ।
गोलेका अनुसार रिड नेपालले १० वर्षदेखि लोककथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएकामा हालसम्म १४ जिल्लाका लोककथा सङ्ग्रह भइसकेको जानकारी दिनुभयो । उहाँले बागलुङमा थुप्रै लोककथा रहे पनि लिपिबद्ध नहुँदा हराउने भन्दै रिड नेपालले बागलुङको लोककथा सङ्ग्रह प्रकाशन गर्न थालेको बताउनुभयो । (रासस)