• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पार्टीको काम, असारको रोपाइँ र घरको सम्झना


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##
    बैठकबाट घर फर्कने प्रचलन तोडेर यसपटक म सिधै कार्यक्षेत्रतर्फ अगाडि बढेँ । यसपटक म पार्टी कामका लागि दैलेख जिल्लामा तेस्रोपटक जाँदै थिए ।

    Advertisement

    “असार महिना पार्टी कामका लागि प्रतिकुल समय हो । किसानहरू जम्मै रोपाइँतिर लागेका हुन्छन्” सङ्गठनका साथीहरूले मलाई यो कुरा बैठकको बेलामै सुनाएका थिए तैपनि म दैलेख जिल्लाको गुँरासे पहाड छिचोल्दै, उकालीओराली गर्दै र अनेक खोलानाला तर्दै आफ्नो कार्यक्षेत्रतर्फ प्रवेश गरेँ ।

    खोलामा बग्ने धमिलो पानीले बर्खाको सङ्केत दिइसकेको थियो । हरिया घाँसले बारीका कान्लामा बहार आइसकेको थियो । अलि परतिरका अग्ला तर काला पहाडलाई सेतो कुहिरोले कहिले लुकाउने त कहिले देखाउने अजिबको खेल खेलेको दृश्यले मनमा कौतुहलता पैदा गरिदिन्थ्यो । उता, आकासमा भने बतासको गतिसँगै कालो बादल कहिले यता त कहिले उता विस्तारै हिँडेको देखिन्थ्यो । कालो बादलको यसै गतिसँगै घरी चर्काे घाम लाग्ने, घरी दर्केर झरी बर्सने प्रक्रिया हरदम दोहोरिइरहन्थ्यो । साँच्चै भन्ने हो भने यो प्रकृति बैँसले मात्तिएको झैँ निकै चञ्चले लाग्दथ्यो । प्रकृतिको यो अजिब बैंससँगै दैलेखी किसानहरू पनि कोही निकै नै उद्वेलित भइरहेका देखिन्थे त कोही मदमत्त भई लट्ठिएका झैँ लाग्दथे ।

    झरीबादल होस् वा चर्काे घाम, किसानलाई यसको कुनै मतलब थिएन । प्रकृतिले जतिसुकै रौद्र रूप देखाएता पनि किसानहरू आफ्नै सुरमा कोही हलो जोतिरहेका देखिन्थे त, कोही धान रोपिरहेका देखिन्थे । यी सब हेर्दै गर्दा मान्छेहरूको कृषि कर्ममा गोरुको भूमिका अतुलनीय रहेको महसुस गरेँ । च्याप्लेङचुप्लुङ पार्दै हिलोमाथि गोरुले मोई तानेको दृश्यले मन लोभ्याउथ्यो । बसको झ्यालबाट यिनै अनेकौँ दृश्य हेरेर म मन्त्रमुग्ध हुँदै थिए ।

    बस उकालोको घुम्ती हुँदै एउटा सुन्दर बजार क्षेत्रमा प्रवेश गर्‍यो । यो दैलेख जिल्लाको सदरमुकाम थियो । यहाँ आइसकेपछि केही यात्री सदरमुकाममा नै उत्रिए तर म चाहिँ उत्रिएन किनकि मेरो पुग्ने गन्तव्य अझै बाँकी थियो ।

    म भगवतिमाई गाउँपालिकाको बेस्तदाबजार पुगेर बसको यात्रा सम्पन्न गरेँ । अब मलाई दैलेखी साथीभाइहरूलाई भेट्दै हिँड्नु थियो । तसर्थ बेस्तदाको काख भएर बग्ने बेस्तदाखोलाको झोलुङ्गे पुल तरेर मेरा अश्रान्त पाइला उकालोतर्फ सोझियो । केही पाइला मात्र उकालो के चढेको थिएँ, कटकटी पेट दुख्न थाल्यो । वरिपरि अग्ला अग्ला सालका रुख थिए । जमिनमा स्याउला सोत्तर खसेका थिए र हरिया घाँस उम्रिएका थिए । चराचरुङ्गी सुरिला स्वरमा चिर्बिराइरहेका थिए ।

    अब म मूल बाटोमा आएर उकालो चढ्न थाले । उकालोमा छिटफुट रूपमा बाख्रा र गाईभैँसी चराउँदै गरेका गोठालागोठाल्नीहरू भेटिन्थे । ठाडो परेको यो उकालो बाटोले सुरुमा कट्टी गाउँसम्म पुर्‍याउथ्यो । आज मलाई त्यही कट्टी गाउँमा पुगेर बास बस्नु थियो ।

    उकालो चढ्दै गर्दा दर्केर पानी पर्‍यो । झोलाबाट छाता निकालेर ओढे तर ठुलो झरीको कारण छाताले काम गरेन । संयोगले नजिकै एउटा रित्तो घर भेटियो । त्यही घरमा गएर केही बेर ओत लागेँ । विस्तारै झरी कम भएपछि म त्यहाँबाट अगाडि बढेँ ।

    साँझपख म साथी कृष्ण केसीको घरमा पुगँे । साथी कृष्ण केसी हाम्रो पार्टीको आस्था र निष्ठामा अविचलित र अडिग बनेर बसिरहेका एक इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई पेसाको रूपमा हेर्दा आधा व्यापारी र आधा किसानीको काम गर्नुहुन्थ्यो ।

    सुरुमा म उहाँकै घरमा पुगेको थिएँ । साथीको घरमा कोही थिएनन् । घरमा ताल्चो लगाइएको थियो तर भकारोमा बाँधिएको एउटा भैँसीले र दुईओटा खसीबाख्राले घाँस चपाइरहेका थिए । भकारोमा बाँधेका भैँसी र बाख्रा देखेपछि घरपति आउन्जेल घरको बार्दलीमा आराम गरेर बसेँ ।

    साँझको करिब ७ बजेतिर हिलाम्य शरीर लिएर घरपतिहरू घरमा आइपुगे । असारको महिना, दिनभरि खेतमा काम गरेकाले उनीहरू थकाइले लखतरान परेका देखिन्थे । उनीहरूलाई देख्नेबित्तिकै बार्दलीबाटै घरपतिहरूलाई नमस्कार गर्दै सन्चोबिसन्चोको हालखबर सोधेँ । उनीहरूले सबै ठिकै भएको कुरा बताए । यसपछि कृष्णजीकी पत्नी खाना तयार गर्न भान्छा कोठातिर लाग्नुभयो । कृष्णजी र म साङ्गठनिक सल्लाह गर्न तल्लो कोठामा पस्यौँ ।

    खाना तयार हुनेबित्तिकै कृष्णजीकी पत्नीले हामीलाई बोलाउनुभयो । भान्सामा मासको दाल, आलुको तरकारी र भात पाकेको रहेछ । हामी सबै सँगै बसेर खाना खायौँ ।

    दिनभरीको कामको कारण थाकेर हुन सक्छ, कृष्णजीले आराम गर्ने कुरा गर्नुभयो र मलाई त्यही तल्लो कोठामा सुताएर घरपतिका सपरिवार आआफ्ना बिछ्यौनातिर लागे ।

    साथीहरूले भने जस्तै असार त साँच्चिकै कामैकामको चाङले भरिएको महिना हो रहेछ । यस्तो महिनामा सङ्गठनको काम गर्न भनी दैलेख जिल्लामा त आइयो । अब यहाँको साङ्गठनिक जिम्मेवारी कसरी पूरा गर्ने होला ? सङ्गठनका लागि भनेर साथीभाइलाई यस्तो असारे काम छोड्नुस् पनि भन्न नसकिने ! यही पिरलोले साँझ अबेरसम्म निद्रा लागेन । मनमा कुरा खेलाउँदा खेलाउँदै कति बेला निद्राले भुतुक्क पारेछ ।

    बिहान ५ बजेतिर आँखा खुले । उठेर आँखा मिच्दै म बार्दलीमा गए अनि तलतिरको खेततर्फ नजर घुमाएँ । कृष्णजी पानीको पाइप तान्दै तलमाथि गरिरहनु भएको थियो । उहाँकी पत्नीले धानको बिउ काँडिरहनु भएको थियो । बिहानै गाउँका छिमेकीहरू खेताला गर्न आइसकेका थिए । गोरु लिएर हलीभाइले खेत जोत्न थालिसकेको थियो । यसरी सबै मानिस काममा खटिरहेका बेला बार्दलीमा उभिएर रमिते बन्नुपर्दा म आफैलाई भित्रैदेखि लाज महसुस भयो । त्यसैले म लुसुक्क कोठामा पसेँ अनि के गर्ने होला भनेर सोच्न थालेँ तर अहँ ! केही उपाय निस्केन । सोचेँ, आज दिनभरि घरपतिहरूसँगै खेतमा काम गर्छु तर खेतमा मैले गर्ने जस्तो काम नै के छ र ?

    म जन्मेको गाउँमा धानखेती गर्ने चलन नै थिएन । त्यसैले मैले अरू अरू काम गरे पनि रोपाइँको काम जिन्दगीमा नै गरेको थिएन । त्यसैले खेतमा गएर काम गर्ने भन्ने कुरामा पनि मैले खासै मेसो पाउन सकिनँ । अब कोठामा एक्लै बसेर सोची बस्ने समय पनि थिएन । म आफू सुतेको कोठाबाट फेरि बाहिर निस्केँ ।

    “मैले गर्ने केही काम छ भने भन्नुस् है । मैले पनि काम गर्छु” खेतमा कुलो लगाइरहेका साथी कृष्णजीको नजिकै गएर उहाँलाई भनेँ ।

    “नाइ, केही गर्नुपर्दैन । तपाईंं आराम गर्नुस्” कृष्णजीले मेरो भावना बुझेर कुरा गर्नुभयो । यसपछि भने मन अलि ढुक्क भयो ।

    बिहानको ११ बजेपछि फेरि मेरो मनमा पुन: छट्पटी हुन सुरु हुन थाल्यो । एक्लै एकान्त कोठामा कामबिना नै बस्नुको पीडाले मन कता कता दौडिरह्यो । यसैबिचमा घरको याद आयो । घरमा छोराले के गर्दै होला ? पत्नीले के गर्दै होलिन् ? अझ बुढी भइसकेकी मेरी आमालाई सञ्चो छ कि बिसन्चो ? पढ्नलाई घर छोडेका छोरीहरूलाई केही समस्या पो परेको छ कि ? यिनै यादहरूले यो कमलो हृदयलाई पटक पटक झस्काई रहन्थ्यो ।

    घरपतिका सपरिवार हली, खेतालाहरूका साथमा यति व्यस्त थिए कि उनीहरूलाई एक घुट्को पानी पिउनसम्म पनि फुर्सद थिएन । यता कोठामा गुम्सिएर बस्दा बस्दा मलाई भोक लागिसकेको थियो । कति खेर आएर खाना पकाउने हुन् र मलाई खुवाउने हुन् भन्ने कुरामा मैले कुनै अनुमान गर्न सकिरहेको थिइनँ ।

    “ओई कान्छा, सरलाइ खाना दे । भोकाउनुभयो होला” तल खेतबाट कृष्णजीकी पत्नीले आफ्नो जेठा छोरालाई अह्राएको कुरा मेरा कानसम्म आइपुग्यो । ऊ यस्तै बाह्रतेह्र वर्षको हुँदो हो ।

    “कतिमा पढ्छौ बाबु ?” हिजो साँझ उसलाई सोधेको थिए ।

    “अहिले आठमा गएँ” उसले जवाफ दिएको थियो ।

    “खान खान आउनुस् अङ्कल” म बसेको ठाउँमै उसले मलाई बोलाउन आइपुग्यो ।

    म आफ्नो ठाउँबाट उठेर बाबुको पछि पछि भान्साकोठासम्म पुगेँ । भान्सामा सबै खाना बिहानै पाकिसकेको रहेछ । त्यसैले खाना चिसो भइसकेको थियो । भोक निकै नै लागेकोले बाबुले दिएको खाना चिसै भए पनि खुब मिठो लाग्यो । खाना खाइसकेपछि त्यहाँबाट अन्तै हिड्नुबाहेक मसँग अर्काे विकल्प थिएन किनकि हिजो साँझको बसाइँमा साथी कृष्णजीलाई मैले सोधेको थिएँ : “तपाईंको रोपाइँ कति दिनमा सकिन्छ ?”

    यसको जवाफमा कृष्णजीले भन्नुभएको थियो : “यो त अब असार महिनाभरि नै चलिरहन्छ । मेरो आफ्नो खेतको रोपाइँ त तीन दिनमा नै भ्याइन्छ तर यसपछि मेरो रोपाइँमा आएका सबैको परिमो (पैँचो) तिर्न जानुपर्छ । परिमो तिर्न भ्याइएन भने अन्तिममा मात्रै पैसा तिर्नुपर्ने हुन्छ ।”

    यसरी साथीलाई असार महिनाभरि नै फुर्सद् नहुने कुरा मैले बुझिसकेको थिएँ । तसर्थ म त्यहाँबाट गोठीगाउँमा बस्नुहुने साथी नरबहादुर सिंहको घरमा जानका लागि तयार भएँ ।

    साथी नरबहादु सिंह पार्टी सङ्गठनको काम भनेपछि हुरुक्कै हुने व्यक्ति हुनुहुन्थ्यो । उहाँ पार्टी सङ्गठनको काम परिआयो भने जसरी भए पनि समय व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने जोसिलो र भर्भराउँदा युवा भएकाले सङ्गठनको कामका लागि मेरो विशेष रोजाइ गोठीगाउँ बन्यो ।

    गोठीगाउँ दैलेख जिल्लामा पछाडि पारिएको गाउँमध्ये एक हो । त्यहाँको गाउँले अझै पनि बाटो र बिजुलीको सुविधा प्राप्त गर्न सकेको छैन । अग्लो पहाड अनि वारिपारिबाट छङछङ गर्दै झर्ने झरना र घना जङ्गलको नजिकै अवस्थित गोठीगाउँको प्राकृतिक सुन्दरता भने विशेष उल्लेखनीय रहेको छ । यसै सुन्दर गाउँमा जानका लागि मैले मेरो झोला ठिक्क पारेँ । साथी कृष्ण भकारोमा रहेका भैँसी र बाख्रालाई घास खुवाउँदै हुनुहुन्यो ।

    “आज म गोठीगाउँ नरबहादुरजी कहाँ जान्छु । बस्नुहोला है” मैले घरपति साथीसँग बिदा मागेँ ।

    “हुन्छ, राम्रोसँग जानुस् । केही भएमा फोन गर्नुहोला” साथीले मलाई सहर्ष बिदाइ गर्नुभयो ।

    साथीबाट बिदाबारी भएर म त्यो घरबाट निस्किएँ । खेतबारी, गाउँघर, डाँडापाखा अनि जङ्गलमा लाग्ने जुकाहरूसँग साक्षात्कार गर्दै साँझपख नरबहादुरजीको घरमा पुग्दा उहाँले मलाई आफ्नो घरमा मुस्कुराउँदै स्वागत गर्नुभयो ।

    सिङ्गो देश असार महिनाको चपेटामा परेका बेला उहाँको घर पनि यसबाट अछुतो रहने कुरै भएन । रोपाइँको लागि उहाँको खेतले पनि आकाशे पानी कुरेर बसिरहेको थियो । यसपटक उहाँको घरको जनसङ्ख्या घटेको रहेछ । पहिलोपटक म उहाँको घरमा जाँदा सात जनाको परिवार देखेको थिएँ तर यसपटक उहाँको घरमा ४ कक्षामा पढ्ने सानो छोरो, एसइई दिएर बसेकी छोरी र नरबहादुरजीका बुढाबुढी गरी चार जनालाई मात्र देख्न पाएँ । उहाँको एक छोरो र एक छोरी भारतको शिमलातिर मजदुरी गर्न हिँडेका रहेछन् । एउटी छोरीको पनि बिहे भएछ् । घरमा पालिएका कुकुर, बिरालो, बिसबाइसओटा बाख्रा, पाँचओटा गाइगोरु, तीनओटा भैँसी, कुखरा चल्ला—यी सबैको हेरविचार गर्नुपर्ने । सोत्तर स्याउला, दाउराघास—यी पनि गरिराख्नुपर्ने । यी सब कामका लागि कम्तीमा पनि घरमा तीनजना होलटाइमर मान्छे त अनिवार्य हुनैपर्ने देखिन्थ्यो ।

    साँझ सुत्नुभन्दा अगाडि साथी नरबहादुरजी र मेराबिचमा दैलेख जिल्लामा सङ्गठनको कामलाई कसरी अगाडि बढाउने भन्नेबारेमा सरसल्लाह भयो ।

    तीन दिनभित्र रोपाइँको काम सकेर घर छोड्ने सल्लाहबमोजिम आज बिहानै खेतमा पानी ल्याउनका लागि एक एकओटा कोदालो बोकेर नरबहादुरजी र म कुलो बनाउन निस्कियौँ । आकाशे पानीले पनि राम्रै साथ दिइरहेको थियो ।

    नजिकैको खोल्सामा सानो बर्खे मूल जागेको रहेछ । त्यै मूलपानीलाई कुल्याउँदै खेतसम्म ल्याइपुर्‍यायौँ । यसपछि अब खेतमा काम सुरु हुन थाल्यो । नरबहादुरजीले गोरु नारेर खेतमा मोई लाउन थाल्नुभयो । मलाई बाउसेको जिम्मा आइपर्‍यो । झरीमा रुझ्दै भिझ्दै काम गर्दा सुरुमा त मलाई खुब रमाइलो महसुस भइरहेको थियो तर त्यो रमाइलो धेरै टिक्न सकेन । कति बेला मेरो बायाँ हातको हत्केलामा फोका परेर फुटेछ ? त्यो निकै नै दुख्न थाल्यो । त्यसपछि मलाई बाउसो नचाउन मुस्किल हुन थाल्यो तपनि मेरो हातमा फोका परेर फुटेको कुरा कसैलाई बताइन बरु आफूले सकेको सबै शक्ति लगाएर निरन्तर काममा जुटिरहेँ ।

    पहाड अनि जङ्गलनजिकै साथीको खेत भएकाले प्रशस्त जुका पनि लाग्दा रहेछन् । तिनै जुकाहरूका टोकाइको कारण खुट्टाका काँप रक्ताम्य हुने गर्दथे ।

    बसको झ्यालबाट हेर्दाको रोपाइँ र प्रत्यक्ष आफै खेतमा पसेर अनुभूति गर्दाको रोपाइँबिच आकास पातालको अन्तर हुँदो रहेछ । किसानहरूले कतिबिघ्न दु:ख र पीडाको सामना गर्दा रहेछन् वा किसानहरूको जिन्दगी कति सङ्घर्षशील हुँदो रहेछ भन्ने कुरा मैले त्यस बेला मात्रै चाल पाए, जति बेला हातमा ठेला उठुन्जेल स्वयम् हिलाम्य खेतमा डट्नुपर्‍यो ।

    कामको चटारो परेका बेला साँच्चिकै राम्रोसँग खाना खान पनि पाइँदो रहेनछ । काम गर्दै गर्दा खानानास्ता खेतमै पुग्दथ्यो । दिनभरिको कामले साँझ थाकेर लखतरान परिन्थ्यो । जिउ निकै नै दुख्दथ्यो तैपनि जिउ दु:खेको र थाकेको कुरा कसैलाई भन्दैनथे ।

    “यी यो तेल घसेर सुत्नुस” सुत्ने बेलामा साथी नरबहादुरले शुद्ध तोरीको तेल ल्याइदिनुहुन्थ्यो अनि म जिउमा तेल घसेर सुत्ने गर्दथे ।
    यसरी लगातार तीन दिन खेतमा काम गरे पनि साथीको रोपाइँ सकिएन । अझै एक दिनको काम बाँकी रह्यो । चौथो दिनको दिन भने म साथीलाई खेतमा काम गर्न जान नसक्ने कुरा बताएँ ।

    “उसो भए तपाईंले खानानास्ता बनाउने भान्साको काम गरिदिनुस्, हामी खेतमा जान्छौँ” मैले खेतमा जान नसक्ने कुरा गरिसकपछि साथीले तुरुन्त अर्काे जिम्मा सुम्पिहाले । भान्साको जिम्मा लिने कुरा खासै सजिलो त थिएन तैपनि मैले “हुन्छ” भने ।

    बिहानैदेखि भान्साको काम सुरु गरेँ । रोटी र दाल पकाए दौरे (जङ्गलमा पाइने उन्यु प्रजातिको खान मिल्ने साग) को तरकारी फ्राई गरे । दिउँसोको लागि गोलभेँडाको चटनी बनाएँ । जे होस्, घरपतिले भन्दा पनि बढी जिम्मेवारीबोधका साथ कुशलतापुर्वक भान्सा तयार गराएर सबैलाई सन्तोष हुने गरी खुवाएँ ।

    यसरी आज म खेतमा नगए पनि घरपतिहरू निकै नै खुसी भए । यसरी साथी नरबहादुरजीको रोपाइँको काम सकियो ।

    रोपाइँको त्यो कडा कामको कारण एकदुई दिन आराम गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो तर सङ्गठनको काममा आएको मान्छे यसरी दिन बिताउनु ठिक हुँदैनथ्यो । तसर्थ साथी नरबहादुरजी र म सङ्गठनको कामले घरबाट निस्कियौँ ।

    दैलेख जिल्लाका थुवा, चिपिनलगायतका स्थानमा गाउँबस्ती चाहार्दै हामी नियमित हिँडिरह्यौँ । यसरी हिँड्दै गर्दा मेरो माथिल्लो ओठ पाकेर निकै सताएको थियो । ओठमा घिनलाग्दो घाउ आएर र सुन्निएर ओठ देखाउन नै लाजलाग्दो जस्तो भएको थियो तैपनि घिनलाग्दो ओठ देखाउँदै हिँड्नुपर्ने मेरो बाध्यता बनेको थियो । यसरी साथी नरबहदुरसँग हामी दुई जनाले कसैलाई खेतमा, कसैलाई गाई चराउने वनमा, कसैलाई गोठमा त कसैलाई घरमा पुगेर भेट्ने र सङ्गठनको काम गर्ने कार्य गर्‍यौँ ।

    यसैबिचमा मलाई मेहेलतोनीको गाउँमा भने एक्लै जानुपर्ने भयो । यात्राका बेला घुँडा र जोर्नी सुन्निएर दुख्ने मेरो मुख्य समस्या हो । यसैबिचमा घँुडादुखाइले पुन: समात्न थाल्यो । विस्तारै घुँडाको रमरम दुखाइले मेरो हिडाइ असहज हुँदै थियो ।

    “एउटा लट्ठी छ कि ?” मेहेल्तोनी जाँदै गर्दा साथी कृष्णसँग एउटा लट्ठी मागे । उहाँले एउटा चट्ट परेको ठिक्कको घँगारुको लट्ठी हातमा थमाइदिनुभयो ।

    मेहेल्तोनी पनि दैलेख जिल्लाको एउटा मनै लोभ्याउने सुन्दर गाउँ हो । बेस्तदा बजारबाट मध्यपहाडी लोकमार्गमा करिब एक घण्टा हिडेर उकालो चढ्ने हो भने मेहेल्तोनीको बस्ती भेट्न सकिन्थ्यो । हुन त बेस्तदा बजारबाट मोटर चढेर पनि केही बाटो त पार गर्न सकिन्थ्यो तर मैले त्यसो गरिनँ । मैले आफूसँग भएको सीमित पैसा जोगाउनका खातिर करिब एक घन्टा तेस्रो र दुई घन्टाजति उकालोको बाटो पैडल हिँड्ने निश्चय गरेँ । साथी कृष्णले व्यवस्था गरिदिएको घँगारुको लट्ठी टेक्दै मेहेल्तोनीमा बस्ने साथी हर्क रेग्मीको घर पुगे ।

    हर्क रेग्मी एक साधारण किसान हुनुहुन्थ्यो तर उहाँलाई हाम्रो पार्टीको कट्टर समर्थक र दह्रो खम्बा भने पनि हुन्छ । साँझपख उहाँको घरपरिवारसँग निकै नै रमाइलो कुराकानी भयो । उहाँको आज मात्रै रोपाइँको काम सकिएको रहेछ । पार्टी कामका लागि समय दिन उहाँलाई खासै समस्या देखिएन तैपनि हर्कजीको गाउँमा धमाधम मेहल्तोनी हुँदै जाजरकोट जाने मोटरबाटो बन्दै रहेछ । त्यसैले उहाँ पनि मजदुरको रूपमा बाटो खन्ने काममा लाग्दै आउनुभएको रहेछ तैपनि त्यो गाउँमा दुई रात बास बसेर म त्यहाँबाट नयाँ गन्तव्यतर्फ लागेँ ।

    यस्तै यस्तै दैनिकीका साथ क्रियाशील हुँदै यसपालि दैलेख जिल्लामा आधा महिनाको समयावधि पूरा गरेँ । मेरो दैलेख बसाइको अन्त्यतिर जिल्ला सदरमुकाम दैलेखबजारमा एक दिन एक रातको साङ्गठनिक बसाइँ भयो । दैलेखबजारमा जिल्लाका विभिन्न स्थानबाट आउनुभएका पार्टीका साथीहरू भीमसिंह विष्ट, कृष्ण केसी, शेरबहादुर शाही, खगेन्द्र केसी, थुमबहादुर विष्ट, तुलाराम विष्ट, मानबहादु चन्द, नरबहादुर सिंहलगाएतका साथीहरूसँग न्यानो भेटघाटको कार्य सम्पन्न भयो ।

    दैलेखको साङ्गठनिक काम सकिँदै गर्दा मनमस्तिष्कमा पुन: घरको याद आएर घुम्न थाल्यो । कमलो हृदयलाई अनेकौँ बहानामा सताउने यो घरको याद घरी घरी नआए पनि हुँदो हो तर पनि निष्ठुरी बनेर घरी घरी आइदिन्छ घरको याद : छोराले यसपालि एसइई पास गरेकाले प्लसटू भर्ना कहाँ गर्ने होला ? अब उसको पढाइका लागि खर्च बढ्ने होला । पत्नीले चलाउँदै गरेको जाबो तरकारी पसलले खै के पो हुन्छ र ? त्यो पनि अलि राम्रो चल्ने पसल भए पो भन्नु ? आमा पनि बुढी भइसकेकी छिन् । हरदम मलाई सम्झिरहन्छिन् । अस्ति फोन गर्दा जिउ सञ्चो छैन बाबु भन्दै थिइन् आमाले ।

    यी जम्मै यादले मन कस्तो कस्तो हुँदै थियो । त्यसैले असार महिनाको साङ्गठनिक अनुभूतिलाई आत्मसात गर्दै दैलेख जिल्लाबाट आफ्नै गृहजिल्ला रुकुम पश्चिम फर्किऊँ फर्किऊँ झैँ लागेको थियो तर सङ्गठनको निष्ठामा लागेका हामी जस्ता कार्यकर्ताको लागि ठ्याक्कै भनेको जस्तो कहाँ हुन्छ र ? हामीले जस्तोसुकै कठिनाइका बाबजुद पनि आफ्ना जिम्मेवारी र कर्तव्य पालना गर्नुपर्ने हुन्छ ।

    यति बेला मेरो मोबाइलको म्यासेन्जरमा काठमाडौँमा काम भएको सन्देश आइसकेको थियो । त्यसैले म घरको यादलाई मनभित्रै साँचेर दैलेखबाट सुर्खेत झरेँ अनि एसीवाला रात्रीबस चढेर सिधै काठमाडौँतिर हुइँकिएँ ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.