धनवीर पुनमगर ##
अँध्यारोमा रमाउनेहरूलाई
लुक्न बाध्य पार्दै
सुतेका सारा मनुवालाई जगाउँदै
उषाको लालीमा झुमाउन
आउनुहोस् झुटा–साँचो चिनाउन
सूर्यास्तपछि उदय भइसकेको छ ।
अझै पनि किन बाँडदै छन् कालोपट्टि ?
स्वघोषित क्रान्तिहरू
किल्टिङ किल्टिङको कोलाहलमा
मुर्दावाद, जिन्दावादको भोल्युम म्युट
अनायासै प्रयास भइरहेछ
हसियाहथौँडा अङ्कित
राता तुल र तिरङ्गा बिछ्याएर
केन्द्रियताको नीति बिर्संदै
जनवाद, जनवादको नाउँमा
अराजकतावाद जिन्दावाद चर्काइरहेछन् ।
हसियाहथौँडा अङ्कित तुलवालहरूको
आपसी सङ्कीण, उत्तर, मध्यदक्षिणको
आरोप साटासाट गर्दै छन् ।
मुक्तिकामीहरू झोलेको आरोपमा
माथा खुम्च्याउनु नियति भएको छ ।
किन अझैसम्म छोपिँदै छ आकाश ?
निसासिँदो अध्यारोमा रम्न चाह्नेहरू
उज्यालोमा रम्नेहरूलाई गिज्याउँदै
अट्टहास व्यङ्ग गरिरहे छन् ।
रगत पसिनाको बलले आर्जेको अधिकारमाथि
सहिदको रगतमा आहाल खेल्दै
सहिदको पवित्र रगतलाई थुकिरहेछन् ।
हसियाहथौँडा अङ्कित तुलवालहरू
आरोप साटासाट गरिरहे छन् ।
प्रजातान्त्रिक गणतन्त्र
लोकतान्त्रिक गणतन्त्र
जनवादी गणतन्त्र
यो सबै सपनाहरू होइनन्
यी सबै लडेर ल्याइएका
लडेरै ल्याउने
परिस्थितिले ल्याउने
आवश्यकताले ल्याउने
गुमेर पाउने, गुमाएर पाउने
भोका, नाङ्गा, अशिक्षितले पाउने
तर किन उल्टो भइरहेछ ?
किन छोपिदै छ आकाश ?
सिमसिम झरी पछि परेको
किरणहरू सप्तरङ्गी इन्द्रेणीले
उज्यालोले पतझरलाई प्रसन्न
संसार फेर्ने मनुवालाई खुसहाल
पुतली र छिम्मरा भर्भराइरहेछन् ।
हसियाहथौँडा अङ्कित तुलवालहरू
आरोप साटासाट गर्न छाडेर
नीतिको, सिद्धान्तको, योजनाको
जनताको ठुलो आवाज उठाउन
कालोले छोपिएको आकाश फार्न
उज्यालो पार्न, मनुवा वर्गलाई
मुसुक हाँसेको उज्यालो मुहार फेर्न
हामी एक बनौँ, लौ एक बनौँ ।