समीर सिंह ##
२०८० सालको वैशाख २४ गतेदेखि जेठ ७ सम्म जर्मनीमा द्वन्द्वात्मक गोष्ठी–२०२३ सम्पन्न भयो । अखिल (छैठौं) का महासचिव सुभाष जिसी र म सो गोष्ठीमा सहभागी भएका थियौँ ।
द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रयोगात्मक विषयमा गोष्ठी केन्द्रित रहेको थियो । जर्मनको कम्युनिस्ट पार्टी, एमएलपिडीले कार्यक्रमको आयोजना गरेको थियो । कम्युनिस्ट पार्टीहरूमा विभिन्न प्रकारका अवसरवादी तथा संसोधनवादी विचार किन मौलाउने गर्दछ ? विभिन्न कम्युनिस्ट पार्टीमा निम्नपुँजीवादी विश्वदृष्टिले कसरी आफ्नो पकड बढाउँदै लगिरहेको छ ? विभिन्न प्रकारका अवसरवादी विचारका विरुद्ध कसरी सङ्घर्ष गर्ने ? सर्वहारा विश्वदृष्टिकोणको निर्माण कसरी गर्नेलगायतका प्रश्नमा सम्पूर्ण कार्यक्रम केन्द्रित रहेको थियो ।
आयोजक पार्टीले यस प्रकारको गोष्ठी निरन्तर गरिरहेको हुन्छ । सर्वहारा विश्वदृष्टिकोणसम्बन्धी अध्ययन तथा अध्यापन दसओटा सेमेस्टरमा सम्पन्न गरिन्छ । सम्पूर्ण सेमेस्टरको कोर्स पूरा गर्न ५ वर्ष समय लाग्ने गर्दछ । सामान्य रूपमा अध्ययन गर्दै हामीले त्यो कोर्स १४ दिनमा पूरा गर्यौँ । यो विषयमा थप अध्ययन गर्न तीन महिने, छ महिने कोर्स पनि हुँदो रहेछ । उनीहरूले हामीलाई यस प्रकारको लामो कोर्समा पनि सहभागी हुन अनुरोध गरिरहेका थिए ।
कुनै पनि कम्युनिस्ट पार्टीलाई विभिन्न प्रकारका अवसरवादी चिन्तनबाट बचाउन सर्वहारा विश्वदृष्टिकोणको कति महत्त्व हुन्छ ? १४ दिने गोष्ठीमा सहभागी हुँदा पनि त्यो कुराको अनुभूति भयो । यस प्रकारको स्कुलिङबाट आफ्नो पार्टीलाई पनि राम्रो बनाउने, विश्वका अरू कम्युनिस्ट पार्टीलाई पनि एउटा सही विश्वदृष्टिकोण निर्माणको लागि प्रेरित गर्ने आयोजक पार्टीको यही दृष्टिकोणका आधारमा द्वन्द्वात्मक गोष्ठीमा सहभागी हुन निमन्त्रण गरिरहेको हुन्छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सशक्तीकरणप्रति एमएलपिडीको गम्भीरतालाई हामीले सकारात्मक रूपमा लिनुपर्ने हुन्छ ।
संसारभरिका क्रान्तिकारी कम्युनिस्ट पार्टीको बिचमा सशक्त सङ्गठन बनाउन यो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको छ । त्यो दिशामा द्वन्द्वात्मक गोष्ठीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
निरन्तर चलिरहने द्वन्द्वात्मक प्रशिक्षणले एउटा कम्युनिस्ट पार्टीलाई कस्तो प्रभाव पार्दो रहेछ ? एमएलपिडीको आफ्नै पार्टी जीवनबाट पनि धेरै प्रस्ट हुन सकिन्छ । द्वन्द्वात्मक भौतिकवादको स्कुल तथा त्यसलाई प्रयोग गर्दै जाँदा एउटा कम्युनिस्ट पार्टीको सङ्गठनात्मक स्वरूपमा कस्तो फरक आउँछ ? हामीलाई पनि धेरै बुझ्ने अवसर प्राप्त भयो । यीलगायतका विषयमा मैले निरन्तर कलम चलाउँदै जाने छु । सायद त्यसका लागि अरू केही भागसम्म मैले कलम चलाउनुपर्ने हुन सक्छ ।
एमएलपिडी पार्टी आफैमा अवसरवादी विचार मौलाउँदै जाँदा कुनै समयमा कमजोर हुँदै गइरहेको अवस्था थियो तर विगत केही वर्षदेखि द्वन्द्वात्मक प्रशिक्षण चलाउँदै जाँदा अहिले पार्टीमा त्यस प्रकारको समस्या नरहेको उनीहरूको अनुभूति छ । प्रशिक्षण, बहस तथा त्यसको इमानदारिताका साथ कार्यान्वयन गर्दै जाँदा पार्टी बलियो हुँदै गएको उनीहरूको तर्क छ । पार्टी विभाजन भइरहने समस्या पनि उनीहरूले झेल्नुपरेको छैन । पार्टी कसरी बलियो बनाउने ? त्यसको उनीहरूसँग आधार छ । त्यही आधारमा उनीहरू निरन्तर क्रियाशील हुन्छन्, जसको फलस्वरूप परिणाम पनि सकारात्मक दिशामा अगाडि बढिरहेको छ ।
कस्तो पार्टीलाई बलियो भन्ने ? प्राय:जसो हाम्रो देशतर्फ मूल्याङ्कनको आधार चुनावमा प्राप्त मत हुन्छ । सत्तामा बस्दा व्यापक रूपमा भ्रष्टाचार गर्ने, व्यापारी र कमिसनखोरसँग साँठगाँठ गर्ने अनि चुनावमा त्यही पैसा प्रयोग गर्ने । सत्ता तथा पैसाको प्रयोग गर्दै चुनावमा विजय प्राप्त गर्ने । त्यसरी चुनाव जितेकै आधारमा ठुलो पार्टीको मापदण्ड निर्धारण हुन्छ । एउटा बुर्जुवा पार्टीको लागि त्यो आधार सही पनि होला तर कम्युनिस्ट पार्टी बलियो छ कि छैन भन्ने आधार के त ? चुनावी मतकै आधारमा पार्टीको मूल्याङ्कन गर्ने हो त ? अवश्य पनि त्यस्तो होइन ।
सर्वहारा दृष्टिकोणको सफल कार्यान्वयन गर्न सक्नु, एउटा बलियो तथा क्रान्तिकारी पार्टीको महत्त्वपूर्ण आधार हो । वास्तवमा हामीले १४ दिनसम्म यो विषयमा नै छलफल तथा अध्ययन गर्यौँ । सर्वहारा दृष्टिकोण के हो ? यसका विभिन्न हाँगा के के हुन् ? एउटा क्रान्तिकारी पार्टी निर्माणको लागि सर्वहारा विश्वदृष्टिकोणको निर्माण तथा त्यसको कार्यान्वयन कति महत्त्व छ ? लगायतका प्रश्नमा हाम्रो अध्ययन तथा बहस केन्द्रित रह्यो । त्यति मात्र होइन, त्यसका साना साना अभ्यास हामीले कार्यक्रमको दौरानमा गरिरहेका हुन्थ्यौँ ।
सर्वहारा दृष्टिकोण, ठुला ठुला सिद्धान्तमा मात्र खोज्ने होइन, हामीले कसरी खान्छौँ ? कसरी बोल्छौँ ? आफ्नो साथीसँग कसरी सम्बन्ध बनाउँछौँ ? आफ्नो दिनचर्या कसरी बिताउँछौँ ? साना साना समस्यालाई कसरी निर्धारण गर्दछौँ ? श्रममा हाम्रो भूमिका कस्तो हुन्छ ? समयको महत्त्वलाई कसरी बुझ्छौँ ? एउटा नेता र कार्यकर्ताबिचको सम्बन्ध कसरी निर्धारण गर्छांै ? आर्थिक उत्पादनको विषयलाई कसरी योजना बनाउँछौँ ? पार्टीको आर्थिक पक्षलाई कसरी बलियो बनाउँछौँ ? पार्टीजीवनलाई कसरी अनुशासित बनाउँछौँ ? जनवादी केन्द्रियतालाई कसरी कार्यान्वयन गर्छौं ? व्यक्तिगत मायाभन्दा वर्गीय मायालाई कसरी प्राथमिकता दिन्छौँ ? विभिन्न रचनात्मक गतिविधिमार्फत् भावनात्मक सम्बन्धलाई कसरी बलियो बनाउँछौँ ? अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी बलियो बनाउँछौ ? अध्ययन तथा प्रशिक्षण कार्यक्रमलाई कति महत्त्व दिन्छौ ? एउटा पार्टी कार्यकर्ताका व्यावहारिक समस्या समाधानको कसरी दिगो योजना बनाउँछौँ ? लगायतका प्रश्नको समाधान सर्वहारा दृष्टिकोण कार्यान्वयनको पाटो हो ।
१४ दिनको बसाइँमा जनवादी केन्द्रियताको कार्यान्वयनलाई सबैभन्दा बढी महत्त्व दिएको पाइयो । कार्यक्रमको पहिलो दिनमै सम्पूर्ण बसाइँ तथा अध्ययन कार्यशालालाई कसरी व्यवस्थित बनाउने ? नीतिनियम कस्तो बनाउने ? दिनचर्या कस्तो हुने ? लगायतका विषयमा व्यापक छलफल भयो । फरक फरक प्रकारले सुझाव दिने कार्य भयो तर जुन नीति बनाइयो, त्यसलाई अनिवार्य रूपमा कार्यान्वयन गरियो ।
बिहान ६.४५ मा मोर्निङवाकमा जाने नीति बनाइसकेपछि त्यसरी जाने समयमा एक मिनट पनि फरक भएन । निर्धारित समयमा काम गर्ने अनुशासनलाई कडाइपूर्वक कार्यान्वयन गरियो । बिहान ९ बजे कक्षा सुरु गर्ने भनेपछि कोही पनि कक्षाकोठामा पुग्न १ मिनेट पनि ढिलो गरेको पाइएन । छलफल गरेर नियम बनाइसकेपछि त्यसलाई कडाइपूर्वक कार्यान्वयन गर्ने पनि सर्वहारा विश्वदृष्टिकोणको महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो । यस प्रकारका अभ्यासबाट पनि विषयवस्तुलाई बुझ्न धेरै सहज भयो ।
कार्यक्रम अवधिभर देश तथा विदेशबाट लगभग १०० जनाको सहभागिता थियो । उनीहरूको खाने, बस्ने व्यवस्थापनको लागि कुनै बाहिरी जनशक्तिको आवश्यकता परेन । सबैलाई विभिन्न कार्य रोज्न लगाइन्थ्यो । आफ्नो रोजाइअनुसार नेतादेखि कार्यकर्ता सबै श्रममा सहभागी हुन्थे । ‘श्रम गरेपछि सानो हुने हो कि ?’ ‘एक छिन भए पनि ढिलो गरे श्रममा राहत पाइने हो कि’ यस प्रकारको नकारात्मक भावना कसैमा पनि भएको पाइएन । सबै जना आफ्नो जिम्मेवारी पूरा गर्न झनै उत्साहित भएको पाइयो । व्यवस्थापनको ढिलासुस्तीले कहीँ पनि थोरै पनि फोहोर भएको पाइएन । खाने बस्ने ठाउँ चिटिक्क पारिएको हुन्थ्यो । त्यस प्रकारको सुन्दरताले अध्ययन गर्न झनै ऊर्जा आउने नै भयो ।
कार्यक्रम सहभागीहरू सबैमा एकदमै हार्दिकता तथा साधारण जीवनशैली अपनाएको पाइयो । पार्टीको कुनै ठुलो नेतामा कुनै अहम्पन तथा घमन्ड भएको पाइएन । सबैमा कमरेडली व्यवहार, जति बेला पनि अनुहारमा मुस्कान, कोही एक्लै बसेको छ भने ऊसँग कुरा गर्न थाल्नेलगायतका व्यवहार देखियो । नेपालको राजनीतिप्रति उनीहरू निकै उत्सुक हुन्थे । नेपालका कम्युनिस्ट आन्दोलन, विभिन्न पार्टी, अहिलेसम्मका विभिन्न आन्दोलनका बारेमा उनीहरूले प्रश्नहरू गरिरहन्थे । फुर्सतको समयमा यस प्रकारका रमाइला चर्चापरिचर्चा भइरहन्थे । यसरी कार्यक्रम अवधिभर विभिन्न देशको राजनीति, त्यहाँका विभिन्न आन्दोलन, ती देशका अन्तर्विरोधलगायतका विषयमा धेरै नै जानकारी प्राप्त भयो ।
कार्यक्रमका प्रशिक्षकहरू जर्मन भाषा नै बोल्दथे । सम्पूर्ण सहभागीहरू जर्मन, फ्रेन्च र अङ्ग्रेजी भाषा बोल्नेहरू थिए तर आयोजक पार्टीले प्राविधिक पक्षको यति राम्रो व्यवस्थापन गरेको थियो कि भाषाको कसैलाई समस्या नै भएन । कसैले फ्रेन्च भाषा बोले पनि त्यो तुरुन्तै जर्मन भाषामा अनुवाद हुन्थ्यो र अङ्ग्रेजी भाषामा पनि सुन्न पाइन्थ्यो । जर्मनहरू त्यति राम्रो अङ्ग्रेजी बोल्न नजान्ने तर कुनै जर्मनसँग हामीले कुरा गर्नुपर्यो भने अनुवादक हामीसँगै हिँडिरहेका हुन्थे अनि मजाले उनीहरूसँग कुरा गर्न पाइन्थ्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सशक्तीकरणको लागि अनुवादकको पनि ठुलो महत्त्व हुने आयोजक पार्टीको धारणा थियो । त्यसैले सबै देशका कम्युनिस्ट पार्टीले अनुवादकको क्षेत्रलाई विशेष महत्त्व दिनुपर्ने सुझाव दिन्थे ।
यसरी जर्मनीमा सम्पन्न द्वन्द्वात्मक गोष्ठी, सर्वहारा विश्वदृष्टिकोण निर्माणको दिशामा महत्त्वपूर्ण खुड्किलो भएको मूल्याङ्कन गर्न सकिन्छ । त्यो गोष्ठीमा सिकेका कतिपय सकारात्मक कुरा हाम्रो पार्टीजीवनको लागि पनि सान्दर्भिक छ र त्यसलाई कार्यान्वयन गर्नुपर्दछ । (क्रमश:)