मोहनविक्रम सिंह ##
परिवारभित्रको अन्तरसङ्घर्ष पनि मेरो जीवनको प्रमुख नै ता नभनौँ, मेरो जीवनको एउटा उल्लेखनीय पक्ष भएको छ । त्यस सिलसिलामा मैले अत्यन्त निकटका आत्मीयजन वा मैले धेरै माया गर्ने र माया पाएका व्यक्तिहरूसित पनि सङ्घर्ष गर्नुपरेको छ ।
अन्य सङ्घर्षहरू राजनीति वा पार्टीका अन्तरसङ्घर्षसित सम्बन्धित हुन्छन् तर परिवारभित्रको सङ्घर्ष केही बेग्लै प्रकारको हुँदोरहेछ वा हुन्छ । त्यसमा बढी भावनात्मक पक्ष जोडिएका हुन्छन् तैपनि त्योसित हाम्रा दार्शनिक वा वर्गसङ्घर्षका सिद्धान्त पनि घनिष्ट रूपले जोडिएका हुन्छन् । त्यस प्रकारको सङ्घर्ष कठिन हुन्छ तर जब सिद्धान्तको प्रश्न आउँछ, त्यस प्रकारको सङ्घर्षबाट बच्न पनि सकिन्न र त्यो एक प्रकारले अनिवार्य जस्तै पनि हुन जान्छ ।
जब व्यक्तिगत सम्बन्ध वा प्रेमका कारणले सिद्धान्तलाई नै आँच पुर्याउने अवस्था आउँछ, स्वयम् आफ्ना परिवारका सदस्यसित पनि सङ्घर्षको आवश्यकता हुन जान्छ र त्यसमा सम्झौता गर्नु आफ्नो सिद्धान्त वा आस्थाबाट नै पछाडि हट्नु हुन्छ । परिवारभित्रको सङ्घर्षको सिलसिलामा मैले त्यो कुरा राम्ररी महसुस गरेको छु । त्यस प्रकारको सङ्घर्षको सिलसिलामा मैले खास गरेर आफ्नो पिताजी खिमविक्रम र बहिनी श्यामकुमारीसित भएको सङ्घर्षबारे केही उल्लेख गर्न चाहन्छु । निश्चय नै, त्यस सिलसिलामा अन्य एकाध प्रसङ्गको पनि उल्लेख हुन सक्ने छ ।
पिताजी खिमविक्रमबारे मैले धेरै प्रसङ्गमा चर्चा गरिसकेको छु ।
उहाँ गाउँको एउटा सामन्त र जालीफटाहा पनि हुनुहुन्थ्यो । त्यसका साथै उहाँका अन्य कैयौँ प्रकारका भूमिका पनि रहेका थिए; जस्तै कि राणाशासनको कालमा राणाहरूसित लगातार टक्कर, त्यो कारणले बारम्बार गाउँबाट निकाला, पटक पटक गिरफ्तारी र जेल, २००७ सालको आन्दोलनमा सक्रिय सहभागिता, जिल्लाका कैयौँ आन्दोलनमा नेतृत्वदायी भूमिका, प्युठानमा हामीले आयोजना गरेको जनता प्रशिक्षण शिविर र हाम्रो नेतृत्वमा भएका कतिपय किसान सङ्घर्षमा सहयोग, प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनमा नेतृत्वदायी भूमिका, २०११ सालमा हामी गिरफ्तार भएपछि उहाँका नाममा पनि वारन्ट, हामीलाई जेलबाट छुटाउनका लागि करिब डेढ वर्षसम्म भूमिगत रूपले अभियान आदि । उहाँको त्यस प्रकारको भूमिकामाथि ध्यान दिएर नै कामरेड कमलराज रेग्मीले एकपल्ट भन्नुभएको थियो : ‘उहाँ सामन्त भए पनि बेग्लै प्रकारको सामन्त हुनुहुन्छ ।’
व्यक्तिगत रूपमा उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो र मैले पनि उहाँलाई धेरै माया र आदर गर्दथेँ । कामरेड निर्मल लामाको मृत्युपछि उहाँको संस्मरणमा लेखिएको एउटा लेखमा मैले निर्मलजी र पिताजीसितको सम्बन्धबारे भएको एउटा समानताको उल्लेख गर्दै मैले लेखेको थिएँ : ‘उहाँहरू दुवै जनासित मेरो धेरै आत्मीय सम्बन्ध थियो तर त्यसका साथै उहाँहरूसित मैले कैयौँ पल्ट सङ्घर्ष पनि गर्नुपरेको थियो ।’
बहिनी श्यामकुमारीलाई पनि मैले धेरै माया गर्दथेँ । आमा तारा कुमारीले घर छाडेर गएपछि उनलाई पनि सँगै लगेर जानुभयो । उहाँ त्यसरी गएपछि मलाई धेरै वर्षसम्म गहिरो पिर परिरहर्यो । मैले उहाँहरूलाई पत्ता लगाउन धेरैतिर कोसिस गरेको थिएँ र कतै सफलता प्राप्त भएको थिएन । १२ वर्षपछि अकस्मात् बहिनीले पठाएको एउटा पत्र फेला पर्यो र परासी गएर उहाँहरूसित भेट भयो । एउटा लामो समयसम्म अलग रहनुपरेकाले पनि भेट भएपछि मैले बहिनीलाई धेरै माया गरेँ ।
जस्तो कि मैले सधैँ गर्दछु, सबैभन्दा बढी माया गर्ने व्यक्तिहरूलाई मैले सामाजिक, राजनीतिक वा पार्टीका काममा सकेसम्म सक्रिय पार्ने प्रयत्न गर्दछु । मैले जीवनमा सबैभन्दा राम्रो मानेको कार्यक्षेत्र त्यही हो र त्यसैले आफ्ना निकटजनलाई पनि त्यसैमा सामेल गर्ने प्रयत्न गर्दछु । जो त्यसरी सक्रिय हुन्छन्, उनीहरू व्यक्तिगत रूपमा पनि मेरा धेरै नजिक हुन्छन् र उनीहरूलाई मैले बढी माया पनि गर्दछु ।
पिताजी खिमविक्रमबारे पनि त्यही कुरा सत्य थियो । जलजला र दुर्गाबारे पनि त्यही कुरा सत्य हो । श्यामकुमारीबारे पनि त्यही कुरा सत्य थियो । उनलाई मैले प्रथमत: प्युठान ओखरकोटको बालशिक्षा स्कुलको स्थापनाकालमा त्यसका लागि आर्थिक जुटाउन धेरैतिर घुम्न पठाए । पछि भारतमा नेपाली एकता समाज स्थापनाको बेलामा पनि भारतका धेरै स्थानमा भ्रमण गरेर त्यसका लागि आधार तयार पार्ने वा आर्थिक सङ्कलन गर्ने काममा उनले धेरै मदत पुर्याएकी थिइन् । त्यसरी मैले सोच्न थालेको थिएँ : उनी पार्टीकी एउटी सक्रिय कार्यकर्ता हुने छिन् । म गिरफ्तार भएपछि पनि मेरो बाह्य सम्पर्कको मुख्य सूत्र उनी नै थिइन् । उनले भूमिगत रूपमा मलाई बाहिरका कैयौँ चिठी पुर्याउने गर्दथिन् र मेरो चिठी वा दस्तावेज पनि बाहिर लैजाने गर्दथिन् ।
त्यस सिलसिलामा मैले आफ्नो छोरा समीर र पूर्वाको पनि केही चर्चा गर्नु सायद अप्रासङ्गिक हुने छैन ।
मैले छोरालाई पनि सानै बेलादेखि नै लगातार सक्रिय गराउने कोसिस गरेँ । मेरो उसकी आमासित सम्बन्ध टुट्यो । त्यो कुरालाई उठाएर एमाले वा हाम्रो पार्टीबाट फुटपरस्त तत्त्वले पनि उसलाई आफूतिर मिलाउन धेरै कोसिस गरेका थिए तर यो कुराको लागि मलाई प्रसन्नता छ कि ऊ कतैतिर गएन र अहिले पनि आफ्नो प्रकारले सङ्गठनमा लगातार सक्रिय छ ।
पूर्वालाई पनि मैले सानैदेखि तयार पार्ने र सङ्गठनको काममा अगाडि बढाउने प्रयत्न गरेको थिएँ । उनी वास्तवमा एउटी अत्यन्त साहस र कार्यक्षमता भएकी छोरी थिइन् तर पछि केही हदसम्म मेरो उनकी आमासँग सम्बन्ध टुटेको कारणले पनि हुन सक्दछ वा आफ्ना केही महिला साथीहरूको मदतद्वारा केही गैरपार्टी मानिससित सम्बन्ध बढेका कारणले पनि हुन सक्दछ, उनी हामीबाट टाढा हुँदै गइन् ।
अब मेराअगाडि दुर्गापट्टिका दुईओटा छोराहरू विश्वमोहन र दिव्यमोहनको प्रश्न छ । यो स्पष्ट छ कि उनीहरूलाई पनि सधैँ झैँ मैले समातेको राजनीतिक दिशा वा कमसेकम समाजसेवामा लाग्नका लागि प्रेरित गर्ने प्रयत्न गरिरहेको छु । विश्व शिशुअवस्थामा छँदै मैले भारतका कार्यक्रममा गएका बेलामा उसका नाममा थुप्रै पत्र लेखेको छु । ती मेरा कापीमा सुरक्षित छन् र ती पत्रलाई उसले पढ्न पनि पाएको छैन । ती पत्रमा मैले उसको भविष्य र भविष्यसम्बन्धी मेरो आशा र कामनाको उल्लेख गरेको छु । जस्तो कि मैले उल्लेख गरेँ, मेरा चिठीपत्रको पुस्तक प्रकाशित गर्दा ती पत्रलाई पनि सामेल गर्ने मेरो विचार छ ।
अहिले नयाँ पिँढीमा विदेशमा जाने र सम्भव भएसम्म उतै बस्ने र त्यसरी देशको माया पूरै छाड्ने लहर निकै बढेको छ । नयाँ पिँढीका केटाकेटीलाई बाबुआमाको प्रभावले भन्दा सामाजिक वातावरणले बढी प्रभाव पार्ने गरेको वा कतिपय अवस्थामा बाबुआमाले नै पैसा कमाउनका लागि उनीहरूलाई त्यसका लागि उत्प्रेरित गर्ने गरेको पनि देखिन्छ । त्यो अवस्थामा मेरा पछिल्ला छोराहरूले मेरो सोचाइलाई बढी अपनाउने छन् वा नयाँ पिँढीमा आएको लहरअनुसार नै अगाडि बढ्ने छन् ? त्यो कुरा भविष्यमा नै थाहा हुने छ ।
पिताजी र बहिनीसँग त्यति धेरै आत्मीय सम्बन्ध हुँदाहुँदै पनि दुवैसित मेरो सङ्घर्षको स्थिति कसरी उत्पन्न भयो ? त्यससित सम्बन्धित केही विवरण मैले यहाँ दिने प्रयत्न गर्दै छु ।
शिविरको कालपछि प्युठानमा व्यापक रूपले किसान आन्दोलन चलेका थिए । त्यस सन्दर्भमा प्युठान नारिकोटको किसान आन्दोलन पहिलो आन्दोलन थियो र त्यो फागुन २४ गतेको आन्दोलनको रूपमा प्रसिद्ध छ । त्यो आन्दोलनबारे विदेशी शोधकर्ताहरूले पनि कैयौँ अध्ययन गरेका छन् र त्यसबारे कैयौं शोधपत्र वा लेख प्रकाशित गरेका छन् । मेरो ‘दुई नाटक’ पुस्तकमा पनि त्यो आन्दोलनसम्बन्धी ‘फागुन २४ गते’ शीर्षकले एउटा नाटक प्रकाशित भएको छ र त्यसबारे केही कलाकारले त्यही शीर्षकले एउटा फिल्म पनि तयार पारेका छन् । त्यो फिल्मको कैयौँ ठाउँमा प्रदर्शन पनि भइसकेको छ । नारिकोटको त्यो आन्दोलनमा बुबा खिमविक्रमको पनि सहयोग रहेको थियो ।
हामीले जिल्लाका कतिपय भागमा किसान आन्दोलन सञ्चालन गर्दै थियौँ । त्यही बेला हामीकहाँ बुबा खिमविक्रमका विरुद्ध पनि केही रिपोर्ट आइपुगे । जस्तो कि हामीले सधैँ गर्दथ्यौँ, उहाँलाई पनि पहिले एउटा चिठी लेखेर उहाँले कब्जा गरेको जग्गा छाडिदिन चेतावनी दियौँ तर उहाँले मान्नुभएन । त्यस सन्दर्भमा अर्घाखाँची काफलनेटीको बाङ्गे अट्ठाइसेको एउटा खेतको कुुरा मुख्य थियो । त्यो विषयमा मेरो बुबासित पनि धेरै विवाद भयो । त्यो विवाद यतिसम्म बढ्यो कि म घर नै छाडेर निस्केँ । त्यो दिन साउने सकरातीको दिन थियो । त्यो दिन खसी काटेर मासुभात पाकेको थियो । म खाना नखाइकन घरबाट निस्केँ र करिब एकव र्षसम्म घरमा फर्केर गइनँ ।
धान काट्ने बेला भएपछि त्यो खेतको मालिकलाई बोलायौँ र हामी दलबलसहित त्यहाँ जाने र धान काटेर त्यो बाहुनलाई दिएर पठाउने निर्णय गर्यौँ । हामी सबै जना अघिल्लो दिनदेखि बासखोलाको एउटा थारामा बसेका थियौँ । हाम्रो योजना थियो : त्यो खेतको धान काटेर बाहुनलाई दिएर पठाउने र बुबा त्यहाँ आएमा उहाँलाई पक्रेर त्यो खेत छाडिदिन कागज गर्नका लागि बाध्य गर्ने तर बाहुन त्यहाँ आएनन् र बुबा पनि त्यहाँ आउनुभएन । उहाँले त्यो बाहुनलाई आफ्ना घरमा बोलाएर त्यो जग्गा छाडिदिएको कागज गरेर पठाइदिनु भएछ ।
जे भए पनि, त्यसरी त्यो आन्दोलन सफल भयो तर टिम्रारुखे डोरबहादुर माइलाबाको जग्गा उहाँले छाडिदिनु भएको थिएन । त्यसकारण त्यसबारे हाम्रो लगातार विवाद चलिरह्यो । जस्तो कि पहिले मैले एउटा संस्मरणमा लेखेको छु, बुबाको मृत्युपछि अंशवन्डा गर्दा मेरो अनुरोधमा सबै दाजुभाइ र आमाहरूले सल्लाह गरेर सगोलबाट नै हामीले उहाँको त्यो जग्गा फर्काइदिएका थियौँ ।
पछि उहाँ सिकिस्त बिरामी भएर काठमाडौँ जानुभएछ । त्यो बेला म दरभङ्गामा थिएँ र मेरा नाममा वारेन्ट पनि थियो तैपनि म भूमिगत रूपले काठमाडौँ गएँ र पाटन अस्पतालमा गएर उहाँलाई भेटेँ । त्यो बेला उहाँले ‘मेरो मर्ने बेला भयो, छोरासित भेट हुने भएन’ भनेर धेरै पिर मान्नुभएको रहेछ । मलाई देखेर उहाँ धेरै खुसी हुनुभयो । उहाँ धेरै रुनु पनि भयो ।
पहिले टिमुरचौरको सालको रुखबारे उहाँसित झगडा परेर मेरो दार्जिलिङ र लन्डन पढ्न जाने योजना स्थगित भएको कुराको उहाँलाई सम्झना रहेछ । त्यसका लागि उहाँको धेरै चित्त पनि दुखेको रहेछ । मलाई देखेपछि उहाँले भन्नुभयो : ‘अब तँ दार्जिलिङ वा लन्डन जहाँ पढ्न गए पनि जा ¤ मैले खर्चको पूरा व्यवस्था गर्दिन्छु ।’
तर त्यति बेला देशको राजनीतिक स्थिति पहिलेको तुलनामा धेरै बदलिएको थियो । देशमा पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो र हामीले त्यसका विरुद्ध सङ्घर्ष गर्दै थियौँ । डा. केशरजङ्ग रायमाझीसित हामीले विद्रोह गर्ने ठेगान गरेका थियौँ र त्यसका लागि तेस्रो महाधिवेशनको तयारी गर्दै थियौँ । त्यो अवस्थामा पार्टीको काम छाडेर कतै पढ्न जाने कुरा मैले सोच्न पनि सक्दैनथेँ तैपनि मैले उहाँको कुरालाई सिधै अस्वीकार गरिनँ र खालि यति मात्र भने : ‘हुन्छ, पछि सल्लाह गरौँला ।’
त्यसपछि तेस्रो महाधिवेशनको सिलसिलामा प्युठान, अर्घाखाँचीबाट फर्कने बेलामा म अन्य दुई जना साथीहरू कामरेड शक्ति लम्साल र कामरेड खिमानसिंह गुरुङसहित तौलिहवामा गिरफ्तार भए । पिताजी त्यहाँ एक पल्ट मलाई भेट्न आउनुभएको थियो । त्यो बेला उहाँको मुखमुद्रा धेरै नै दु:ख र पीडाले सन्तप्त थियो । उहाँले मसित राम्ररी कुरा गर्न पनि सक्नुभएको थिएन । त्यसको एकाध वर्षपछि मलाई भैरहवा र पछि काठमाडौँको जेलमा चलान गरियो । म काठमाडौँ जेलमा भएकै बेलामा नै उहाँको निधन भयो ।
म काठमाडौँको जेलमा थिएँ । मैले मेरो अंशमा परेको एउटा खेतमा एक जना किसानले टिवाय अर्थात् उब्जाको दुईभाग खेत मालिकले बुझ्ने र एक भाग किसानले लैजानेमा खेती गर्ने गरेका थिए । मच्छीको घरमा आमा बस्नुहुन्थ्यो र उहाँको साथमा बहिनी श्यामकुमारी पनि बस्दथिन् । मैले बहिनीलाई, जस्तो कि हामीले अधिया आन्दोलनको बेलामा सबैतिर माग गरेका थियौँ, त्यो किसानलाई टिवायको सट्टा अधियामा दिने र भरपाई पनि दिने भनेर चिठी लेखेर पठायौँ तर उनले मेरो त्यो कुरा मानिनन् । त्यसबारे मेरा र उनका बिचमा कैयौँ पत्रव्यवहार भए तर त्यसबारे हाम्राबिचमा कुनै सहमति हुन सकेन । त्यो कारणले उनीसितको मेरो सम्बन्ध तनावपूर्ण हुँदै र बिग्रँदै गयो । म जेलबाट छुटेपछि मैले त्यो किसानलाई अधिया र भरपाई दुवै दिएँ । पछि त्यो खेत विक्री हुँदा त्यसको आधा रकम पनि किसानलाई दिएँ ।
त्यही बेला आमा धेरै नै बिरामी हुनुभएछ । उनले उहाँलाई औषधी गर्न पाल्पा ल्याइन् र उहाँलाई निको भएन । मैले उनलाई काठमाडौँ ल्याएर आउन भनेँ । उपचारको खर्चको सबै व्यवस्था मैले गर्दछु भनेँ तर उनले मेरो कुरा मानिनन् र आमालाई निको नहुँदै प्युठान फर्काएर लगिन् । उनको त्यो व्यवहारबाट पनि मलाई उनीमाथि धेरै रिस उठ्यो तर म जेलमा थिएँ । मैले केही गर्न सक्दैनथेँ । प्युठान पुगेपछि आमाको मृत्यु भएको समाचार मैले थाहा पाएँ ।
मलाई लगातार यस्तो लागिरह्यो कि उनले आमालाई उपचार गर्न काठमाडौँ ल्याएको भए सन्चो हुन्थ्यो कि ? उनले काठमाडौँमा ल्याएर उपचार नगरिकन प्युठान लगेको हुनाले नै उहाँको मृत्यु भएको थियो र त्यसका लागि उनीमाथि म धेरै नै क्रोधित भएको थिएँ । त्यो बेलाका उनीसितका मेरा सबै पत्रलाई सामेल गरेर मैले जेलमा नै एउटा सानो पुस्तिका तयार पारेको थिएँ । त्यसको शीर्षक थियो : ‘आमाको मृत्यु वा हत्या ?’ पुस्तिकाको त्यो शीर्षकले बहिनीप्रतिको मेरो तीव्र क्षोभलाई नै बताउँथ्यो ।
त्यो बेला भद्रगोल जेलमा कामरेड मोदनाथ प्रश्रित हामीसँगै हुनुहुन्थ्यो । उहाँले त्यो पुस्तिका पूरै पढेर त्यसको एउटा कभरचित्र पनि बनाइदिनु भएको थियो । त्यो चित्रमा चिता जलिरहेको जस्तो एउटा दृश्य छ भने नजिकै एउटी युवती उभिएको दृश्य छ । त्यो पुस्तिका अहिले पनि मसित सुरक्षित छ ।
आफ्ना सबै चिठीपत्रलाई सामेल गरेर एउटा पुस्तिका निकाल्ने योजना बनाएको कुरा मैले पहिलेको एउटा संस्मरणमा लेखेको छु । त्यसमा त्यो पुस्तिका पनि सामेल गरिने छ । त्यो पुस्तिकामा कामरेड जलजला र मेराबिचमा भएका पत्रलाई पनि सामेल गर्ने मैले विचार बनाएको छु ।
अब टेलिफोन वा म्यासेन्जरको जमाना आयो । त्यसैले अब चिठी लेख्ने चलन हरायो वा अत्यन्त कम भएर गएको छ । त्यसैले दुर्गा र मेराबिचमा कहिल्यै पनि कुनै चिठीपत्रको आदानप्रदान भएको छैन तैपनि उनले लेखेको एउटा डायरी छ, जर्मनीमा जाँदा लेखेको । त्यो डायरी र जलजलाको एउटा डायरीलाई पनि त्यो पुस्तिकामा सामेल गर्ने मेरो योजना छ । जहाँसम्म जलजलासितका मेरा चिठीपत्रको प्रश्न छ, मेरो उपन्यास ‘कामरेड जलजला’ का दुईओटा परिच्छेदहरू ‘दुखान्त प्रेम’ र ‘अनिश्चित यात्रा’ उनीसित भएका चिठीपत्रसित नै सम्बन्धित छन् ।
पछि मलाई थाहा भयो, आमालाई काठमाडौँ औषधी गर्न नल्याएर प्युठान फर्काएर लैजानुका पछाडि उनको बेग्लै उद्देश्यले काम गरेको थियो । आमा मृत्युशैयामा भएका बेलामा भ्यागुतेको आमा र मेरो अंशमा भएको एउटा खेतलाई आफ्नो नाममा घरायसी राजिनामा बनाएर त्यसमा आमाको औँठाछाप लगाइछन् । आमाले लेख्न सक्नुहुन्थ्यो र अरू बेला आफ्ना सबै कागजपत्रमा उहाँले औठाको छाप लगाउनुका साथै हस्ताक्षर पनि गर्ने गर्नुहुन्थ्यो तर त्यो बेला आमा लेख्न सक्ने अवस्थामा हुनुहँुदैनथ्यो । त्यसैले त्यसमा आमाको औठाको छाप मात्र लगाइएको थियो र उहाँको हस्ताक्षर भएको थिएन । उनको त्यो कार्यबाट पनि मलाई उनीमाथि धेरै नै रिस उठ्यो ।
जसलाई मैले यति धेरै माया गर्दथेँ, उनको त्यस प्रकारको व्यवहार साँच्चिकै अत्यन्त पीडादायक थियो । उनले मलाई भनेको भए मैले आफै पनि त्यो खेत खुसीले उनलाई दिन्थेँ । यो सोचेर मलाई धेरै दु:ख लाग्यो कि त्यो उद्देश्य पूरा गर्न नै उनले आमालाई औषधी गर्न काठमाडौँ ल्याउन अस्वीकार गरेकी थिइन् ।
जे होस्, जेलबाट छुटेर गएपछि उनका ती सबै व्यवहारलाई मैले बिर्सें र उनीसितको मेरो सम्बन्ध सामान्य जस्तै भयो । मेरो शान्तासित विवाह भयो । त्यो विवाहका लागि पनि मुख्य भूमिका बहिनीको नै थियो । विवाह भएपछि, त्यो बेला मेरा अझै कुनै सन्तान जन्मिएका थिएनन् । एक दिन उनले मलाई भनिन् : ‘तपाईंकी छोरी जन्मेमा उसको विवाह मेरा छोरासित गरिदिनका लागि माग्दछु ।’
त्यो बेला हाम्रो समाजमा मामाकी छोरीसित विवाह गर्ने चलन पनि थिएन । त्यसमाथि छोराछोरीको जन्म नहुँदै कसैको विवाहबारे निर्णय गर्ने कुरालाई पनि मैले उचित ठानिनँ । त्यसैले उनको प्रस्तावलाई मैले सिधै अस्वीकार गरेँ । मैले उनको कुरा अस्वीकार गरेपछि उनी मसित धेरै नै रिसाइन् । एक प्रकारले उनले मसित बोल्न नै बन्द गरिन् । त्यसपछि उनी मच्छीको हाम्रो घरमा सँगै नबसेर मरन्ठानाको आफ्नो घरमा गइन् ।
प्युठानमा बागदुलामाथिको एउटा जङ्गलका बिचमा कामरेड श्यामबहादुर थापाको घरमा पार्टीको एउटा भूमिगत जिल्ला पार्टीको बैठक थियो । बैठकपछि म मरन्ठानाको उनको घरमा आएँ । खाना खाने बेला भएको थियो, उनी मलाई भेट्न पनि आइनन् र माथि भान्छाबाट नै थालमा हालेर मेरो खाना तल पठाइदिइन् । अघिपछि उनले मलाई माथि भान्छामा नै बोलाएर खान दिन्थिन् । उनले मसित गरेको त्यस प्रकारको व्यवहार छोरीको बारेमा उनको प्रश्नलाई मैले अस्वीकार गरेको हुनाले उनी सिराएको भन्ने कुरा प्रष्ट थियो । त्यसैले उनले मप्रति त्यस प्रकारको रुखो र अपमानजनक व्यवहार गरेको हुन सक्दथ्यो । त्यसपछि खाना नखाइकन म मच्छीको घरमा आएँ ।
अर्को दिन भाइटीकाको दिन थियो । म दिनभरि खाना नखाइकन उनलाई कुरेर बसेँ तर उनले मलाई निम्तो पनि पठाइनन् र टीका लगाउन पनि आइनन् । पछि उनीहरू बसाइँ सरेर बर्दिया र त्यसपछि कैलालीको टिकापुर गए । उनले पछि एकाधपल्ट तिहारको टीका लगाउनका लागि निम्ता पठाइन् तर म १२ वर्षसम्म उनीकहाँ भेट्न पनि गइनँ ।
पछि मलाई उनी सिकिस्त बिरामी भएको कुरा थाहा भयो । त्यो बेला दुर्गाले मलाई बहिनीलाई भेट्न जान र उनका हातको टीका लगाउन धेरै कर गरिन् । भाइटीकाको मौका पारेर म उनलाई भेट्न टिकापुर गए र उनका हातको टीका लगाएँ । त्यो बेला उनी धेरै कमजोर भएकी थिइन् र उनको शरीरमा हाडखोर मात्र बाँकी रहेका थिए । त्यो बेला मलाई टीका लगाइदिने बेलामा उनी बलिन्द्र धारा आँसु झारेर धेरै रोएकी थिइन् । त्यो बेला उनले मलाई भनेकी थिइन् : ‘अब तपाईंलाई टीका लगाइदिने यत्ति ता होला’ । हुन पनि त्यस्तै भयो । अर्को वर्षको तिहार नआउँदै उनको मृत्यु भयो र त्यसपछि तिहारमा उनका हातको टीका लगाउने अवसर सधैँका लागि समाप्त भयो । अहिले पनि मैले सोच्दछु : त्यो बेला उनीकहाँ टीका लगाउन नगएको भए मलाई जीवनभरि नै धेरै पछुतो हुन्थ्यो ।
एउटा संस्मरणमा ठाहिलो भाइ महेन्द्रले ठुल्दाई लेटरविक्रमले उसमाथि एउटा अन्यायपूर्ण व्यवहार गरेको भनेर मसित उजुरी गरेपछि त्यस सिलसिलामा उहाँसित मेरो कति चर्को झगडा भएको थियो र त्यसपछि उहाँले मलाई बेच्ने भनेको घरजग्गा एउटा झगडियालाई बेच्नुभएको थियो भन्नेसमेत कुराको उल्लेख गरिसकेको छु । त्यसकारण त्यो प्रसङ्गलाई मैले यहाँ दोहोर्याउनु उचित ठान्दिनँ ।
मिति : २०८० असार ३१