काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको अवस्थामा भेटिएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।
प्रहरी सहायक निरीक्षक बस्नेत नेतृत्वको टोलीले घटनास्थललबाट ६ वटा शव निकालेको छ । तर ती कसैको पनि शवको पहिचान हुन सकेको छैन ।
उक्त हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा काठमाडौंको लागि उडेको थियो। त्यसपछि यो हेलिकोप्टर उडेको ८ मिनेटमै बेपत्ता भएको हो।
तर लिखुपिके र दूधकुण्डको सिमाना लामाजुरामा पुगेपछि सम्पर्कविहीन भएको थियो।
मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए। जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन्।
मनाङको यात्रु लिस्टअनुसार हेलिकप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।