मिनबहादुर राना ##
प्रकाश सपुतजीले बोत्तल ग्रहण गर्नुभएछ । हुन त उहाँको सिर्जना पनि रसरङ्ग र बोत्तलमुनि बाट उदाउँछ र उहाँमाथिबाट पनि रसरङ्ग गर्ने क्रममा बोत्तल बर्सिन्छ । यो नौलो होइन । धेरै ठाममा कलाकारमाथि दुव्र्यहारका घटना घटिरहेका छन् । अन्तमा माफ मागेर टुङ्गिने यस्ता घटना दुर्घटना भने अवश्य होइनन् ।
भारतमा लामो समय संस्कृतिको क्षेत्रमा योगदान दिनेलाई पण्डितको उपाधि किन दिन्छन् ? यसको उत्तर अहिले मिलेको छ ।
सांस्कृतिक कार्यक्रम एक महान् अनुष्ठान हो । सांस्कृतिककर्मी उक्त अनुष्ठानको पण्डित हो । यस्ता महान् अनुष्ठानमा पण्डितरूपी कलाकारमाथि दुव्र्यहार देशविदेशमा धेरैपटक भएका छन् । कलाकर्मीमाथि दुव्र्यवहार गरेर हामीले कस्तो संस्कृति बसाल्दै छौँ ? यसको जिम्मेवार को हो ?
साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम एक बौद्धिक यज्ञ हो । यस्ता बौद्धिक अनुष्ठानमा कलाकारमाथि अभद्र व्यवहार गर्नु समग्र नेपाली संस्कृतिमाथिको प्रहार हो । आज प्रकाशजी जस्तो खाँचो परे दुईचार जनालाई एक्लै तह लगाउन सक्ने कलकारमाथि यसरी दुव्र्यवहार हुन्छ भने लुरेलाङ्ग्रे कलाकारले कसरी कार्यक्रममा सहभागी हुने आँट गर्ने ?
सबैभन्दा पहिले त नेपाली गीतसङ्गीत फुक्लो रोमान्स मात्र हुन थालेको छ । बसेर आनन्दले सुन्ने खाले गीत गाउने गायकहरू हराउँदै गएका छन् । गायकी जस्तो होस् स्वाँ स्वाँ र फ्याँ फ्याँ गर्दै मञ्चमा उफ्रदैमा वाह वाह भन्ने र यस्तै खाले कलकारको माग गरिनु नै गलत हो ।
कता हराए रामकृष्ण ? कता हराए यश कुमार ? कता पुगे हेमन्त ? कता के गर्दै छन् नरम शैलीमा नेपाली जनजीवनको गीत गाउने लोकगायक र वाद्यवादक ? अझ म उता प्रगतिशील चेतका कलाकारतिर त पस्नै भ्याएको छैनँ, जसले देशको व्यवस्था परिवर्तन गर्नमा ठुलो योगदान दिए । सडकबाट सदन हल्लाउने जीवन, झन्कार, माइला, पाख्रिनलगायत युगका आवाज बुलन्द गर्नेहरूको यतिबेला प्रसङ्ग नगरुँ होला ।
एक गायकले मञ्चमा चढेर अलिकता धुलो उडाउनैपर्ने ? के गीत भनेको धुलो उडाउने खाले मात्र हो त ? नचाउने र रुवाउनेबाहेक पनि मानवीय संवेदना हुन्छन् । अहिले सुन्ने र जीवनको कुनै घडीमा महसुस गरेर हिम्मत बटुल्ने गीत अजर अमर हुन्छन् । लोकगीत होस् कि आधुनिक होस्† पपगीत होस् कि र्याप नै किन नहोस्† गीतको मर्म सधैँभरि छताछुल्ल नहुन सक्छ तर एक अजर अमर गीतले मान्छेलाई सुखमा अरूको सम्मान राखेर हाँस्न र दुखमा मन थामेर बाँच्न प्रेरणा दिन्छ । बोर्डिङ स्कुलको बच्चाको जस्तो रिजल्ट गीतसङ्गीतमा खोजिनु सर्वथा गलत हो ।
कुनै कुनै गीतमा त त्यसको अर्थ खोज्नु पनि अनर्थ हुन्छ बरु त्यसको अलाप कुनै एकलासमा मनमा झ्यास्स बज्यो र मुखबाट अचानक फुस्केर गाउन पुगियो भने त्यही हो त्यो गीतको अर्थ । त्यही हो, त्यो गीतको सार्थकता । तसर्थ सबै गीतले धुलो उडाउने गरी नचाउँछ भन्नु नेपाली गीतसङ्गीतको गलत भाष्य हो ।
होरी, डेउडा, सुनिमाया, यानिमाया, पालम भाका गाउने कलकार हराउनु नेपाली सङ्गीतको दुर्भाग्य हो । होरी अचेल भारतीय गायन हुन पुगेको छ । होरीले सुदूरपश्चिमको अपनत्व गुमाउन थालेको छ । सुनिमाया, यानिमाया र पालमको पनि स्थिति उस्तै नहोला भन्न सकिन्न । डेउडा भने अझै बाक्लै प्रचलनमा छ ।
कैयौँ लोकगाथा विलुप्त हुनुमा कार्यक्रम आयोजकको मानसिकतामा भर पर्छ । केही मान्छे नचाउन सके कार्यक्रम रमाइलोका साथ सफल भएको ठान्ने नतिजामुखी चिन्तन सर्वथा गलत छ । दोहोरीमा रक्सीको मातमा रौसिने खाले मात्र गीत होइन, खाँदै पिउँदै आनन्द बसेर सुन्ने खाले गीत गाएर स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने गायक सफल गायक हो । मान्छे उफारेर भाँडभैलो मच्चाउन सक्नु मात्र गायकको सामथ्र्य होइन । गीतसङ्गीतबाट बौद्धिकता हराउँदै जानुजत्तिको ठुलो दुर्भाग्य केही हुन सक्दैन ।
प्रकाशजीलगायत नेपाली समस्त नेपाली गीतसङ्गीतका क्षेत्रमा काम गरिरहनुभएका कलाकारले विचार गर्नुपर्ने बेला आएको छ ।
धेरै पहिलेबाट लोकदोहोरी छाडा हुँदै गयो भन्ने चिन्ता गरिएको थियो । त्यसको परिणाम अहिले देखिन थालेको छ । सङ्गीत फगत मनोरञ्जन मात्र नभएर मानव हृदयले संश्लेषण र विश्लेषण गर्नुपर्ने विषय पनि हो ।
आज कार्यक्रममा बोत्तल प्रहार भयो भोलि बाटोघाटोमा हिँड्दा पनि परिचय लुकाएर हिड्नुपर्ने दिन नआउला भन्न सकिन्न । यस्तै हो भने मञ्चमा जानुपर्ने कलाकारलाई बिमा कम्पनीले बिमा पनि नगरिदिने हो कि ? यसको जिम्मेवार समस्त नेपाली गीतसङ्गीतमा जीवनको महत्त्वपूर्ण समय खर्चेका कलाकार नै हो ।
जति समय नेपाली गीतसङ्गीतलाई दिनुभएको छ, थोरै समय गीतसङ्गीतबारे चिन्तन गर्नुपर्ने हो । आफूले गरेको कर्मको मर्म खोज्नुपर्ने हो । आफ्नो काम र लगानीको बौद्धिक भूगोल खोज्नुपर्ने हो । केवल मञ्चमा “मायाको चिनो” नामको काम नलाग्ने टोक्रो, काँधमा केही काम नलाग्ने माला वा खादा र एक थोपा टीकामा सम्मान नखोजेर जीवनको उर्वर समयको मूल्य खोज्नुपर्ने हो ।
खादा र मालाको पनि अति दुरूपयोग भएको छ । उभिएजति सबैलाई खादा वा माला लगाउने चलन छोड्नुपर्छ । जति हामीले गीतसङ्गीतमा तन, मन र धन लगानी गरेका छौँ, त्यति अन्य क्षेत्रमा गरेको भए भौतिक सुखमय जीवन बिताउन सक्ने हैसियत बनाउन सक्थ्यौँ भने गीतसङ्गीतमा गरेको यति ठुलो लगानीको मूल्य कहिले खोज्ने ? यति ठुलो त्याग र तपस्याको हैसियत कहिले खोज्ने ?
कलाकारले आफ्नो हैसियत खोज्ने हो भने आफ्नो स्तर मञ्चमा कति मान्छेलाई उफार्न सकिन्छ ? कुन कुन देशबाट निम्तो पाउन सक्छ भन्ने कुरामा सफलता खोज्ने तुच्छ मानसिकता त्याग्नुपर्छ । पटक पटक सार्वजनिक स्थलमा हुने प्रहारबाट नझस्केका कलकारले समाज र नेपाली गीतसङ्गीतलाई केही दिन सक्ला भनेर आश गर्ने ठाम नै छैन । आफ्नै लगानी र परिश्रमलाई क्षणिक रोमान्समा सकेर हिँड्नु अवश्य पनि राम्रो होइन ।
कलाकारको प्रस्तुतिअनुसार सहभागीको मानसिकता बन्छ । जब तपाईंंको सिर्जना नै उत्ताउलो खालको छ भने तपाईंमाथि उत्ताउलो व्यवहार हुनु नौलो होइन । अब पनि प्रकाशजीलगायत समग्र कलाकर्मीले आफ्नो स्तरको बारेमा नसोच्ने हो भने यस्ता घटना दोहोरिने छन् । के कलाकार सधैँ निरीह प्राणी भएर बाँच्ने जन्तु हो ? राजा–महाराजाले समेत आदेश दिन नसक्ने कलकारको हैसियत थियो रे कतै शास्त्रमा पढेको । के त्यो वातावरण सिर्जना गर्न अहिले सम्भव छैन ? उच्च हैसियत मात्र खोज्ने कि सिर्जना पनि हैसियतअनुसारको पस्कने जमर्काे गर्ने ?