भीष्म जोशी ##
जेठको महिना उखरमाउलो गर्मी छ । अरू दिनभन्दा आज ऊ निराश जस्तो देखिन्छ । घरको पूर्वपट्टिको आँगनमा आपको रुखमुनि डोरीले बाधेको खाटमा यसो पल्टेको छ ऊ । गर्मी भए पनि आपको रुखमुनि छाया र शीतल हावा चलेको छ । कहिले आपको पातका प्वालमुनि बाट तातो घामको प्रकाश उसको मुहारमा लाग्छ र निद्रा भङ्ग हुन्छ । मुखमा भन्किने झिँगाले त उसलाई डिस्टर्ब गर्दैनन् किनभने झिँगाको भुनभुनाहट उसलाई बानी परिसक्यो । आपको रुखका प्वालबाट आएको घामको त्यो उज्यालो र तातो प्रकाशले गर्दा ऊ टाउको अलि पर सार्छ । निदाउन खोज्छ, निद्रा लाग्ने कुरै हुँदैन ।
खेतमा छर्नुपर्ने मकै, धान, धानको बेर्ना, गहुँ काटेर साह्रो भएको जमिन जोत्नै बाँकी छ । गहुँ काट्नेबित्तिकै जोतेको भए जोत्न सजिलो हुन्थ्यो, अब त पानी नपरे खेत जोत्नै सकिन्न । रोपाइँमा त अर्मपर्म चल्थ्यो । यसपालि त खै गाउँले ठिटाहरू सबै परदेशमा छन् । रोपाइँ गर्न पनि गाउँ फर्किन्छन् कि फर्कदैनन् ? नआए पनि जे होस्, उता पैसा त कमाउँछन् । अरू गाउलेले त एकसरो काम सकिसकेका छन् । त्यो सम्झिदा पछि परियो झैँ लाग्छ उसलाई । पोहर साल त आजका दिनसम्म सबै काम सिध्याएर अब रोपाइँ मात्रै बाँकी थियो ।
यसो परतिर हेर्छ, छिमेकीले आँगनमा नलबाट फिनो बनाइरहेको देख्छ । आहा ! उसको त यो हिउँद मज्जाले न्यानो हुने भो । आफ्नो त यसपालि फिनो बनाउनलायकको नल नै भएन । सबै असिना पारेर नल नै बिग्रियो । के गर्ने ? यो वर्ष दसा लागेछ । गहुँ पनि पोहर सालभन्दा कम उत्पादन भयो ।
फेरि रुखतिर हेर्छ, आप पनि त्यति राम्ररी फल्या छैन । मनमनै चित्त बुझाउँछ, यसपालि समयमा पानी पनि परेन । भोलिपर्सि परिहाल्छ होला ! त्यसपछि खेत जोतौँला । गोरु पनि झन्डै लम्पी स्किन रोगबाट बाँचेको छ । माथिल्लो घरका काकाको जस्तै मरेको भए के गर्थें ? गोरुलाई बिसेक पनि त हुन दिनुपर्यो । गोरुलाई सन्चो भए त भइहाल्यो नि ! उसको पनि ज्यानै हो । स्रन्चो नभएर केही तलमाथि भएको भए के हुन्थ्यो ? दुईचार दिन खेत जोत्न ढिलो भएर केही हुँदैन । रोपेको खेत त सँगै काट्ने त होला नि । मन बुझाउँछ उसले ।
यत्तिकैमा उसको सानो छोराले बाख्राको पाठो खेलाउँदै ल्याउँछ । हेर्छ, दुईटै निर्दोष छन् । कति खुसी छन् ? उफ्रिँदै छन् । खेल्दै छन् । कति सुन्दर छ बालापन ? चाहे मान्छेको होस् या पशुको । मायाप्रेम छ र पो संसार सुन्दर छ ।
छोराको च्यातिएको कमिज हेर्छ । खुट्टा बिनाचप्पल दगुर्दै छ । आज त सानै छ । उसलाई बाख्राको पाठासँगै छ उसको संसार । पूर्णिमाको चन्द्र झैँ ठुलो भएको थाहै हुन्न ।
अब भोलि ठुलो हुँदै जान्छ । स्कुल जान थाल्ला । कपडा किन्नुपर्ला । किताब झोला आदि इत्यादि किन्नु पर्ला । बाबा यसो चाहियो, उसो चाहियो भन्ला । बाख्राको पाठोको ठाउँ साना साना साथीहरूले लेलान् । कोही महङ्गा स्कुलमा पढ्लान् अनि उसले पनि भन्ला– ‘बाबा ! मेरो साथी त राम्रो झोला ल्याउँछ, अर्कै खाले स्कुलमा पढ्छ । ऊ त कार चढेर स्कुल आउँछ । मेरो साथीसँग त राम्रा राम्रा खेलौना छन् ।’
आफू गरिब भएको बताउँदा छोराले सोध्ला : ‘बाबा ! के हो यो धनी र गरिब भनेको ?’
उसले प्रश्न थप्ला : ‘हामी कहिले किन्ने उसको जस्तै कार ?’
यस्ता धेरै प्रश्न सोध्ने होला । उसका अवचेतन मनमा गरिब र धनीको लेपन लाग्ला ।
आफ्नो त जिन्दगी बर्बाद भयो भयो, छोराको भविष्य र पैसाको बारेमा सोच्दा झन् विरक्त भएर आउँछ । पैसा त उसले नकमाएको कहाँ हो र ? पोहोर साल वर्षभरि मुग्लान गएर अन्दर (सुरुङ खन्ने) को कामबाट पैसा ल्याएकै हो । आउँदाखेरी एक भारी सामान ल्याएकै हो । एक चोटी कमाएको सधैँलाई कहाँ पुग्छ र ?
पैसा त नकमाएको होइन, घरमा आइपुग्ने बित्तिकै साहुहरू आएर जसको थियो, त्यो पैसा तिनीहरूले लगिसके । कति अन्दर जानु ? काम पनि त्यस्तै गार्हो । दु:ख गरेर मैले कमाएको पैसा म गरिबको कहाँ हुन्थ्यो र ? रातभरि बाह्र घण्टा काम गर, एकदुई महिनाको पैसा खाइलोमै सकिन्छ । एकदुई महिनाको कमाइ ठेकेदारले दिँदै दिदैन, पछि आउनू भन्छ ।
घरबाट गएको एकदुई महिना काम नै पाइदैन । त्यत्तिकै बस्नुपर्छ । खर्च त्यति बेला पनि हुन्छ । काम पनि भित्र । पानी नै पानी हुन्छ । अँध्यारो, ढुङ्गा, माटो, लोड–अपलोड गर्नुपर्ने, खन्नुपर्ने । कुनै बेला अक्सिजन र उज्यालोको लाइन गयो भने बेपत्ता । ब्लास्ट गर्दा कुनै बेला माथिबाट पहाड नै खस्यो भने ? झस्किन्छ ऊ ।
छोडिदिऊँ काम त जसले पनि गर्नैपर्छ नि ! पढ्ने बेलामा पढिएन । एसएलसीसम्म त पढेकै हो नि । म भन्दा कम पढेका त यहाँ देशका ठुला ठुला नेता बनेर देश हाँकिरहेका छन् । पढ्नु पनि कसरी ? गाउँमा त्यो भन्दा माथि स्कुलकलेज थिएनन् । अन्त जान यही पैसा नभएर न हो नपढेको । पढने रहर, दिमाग नभएको कहाँ थियो र ? तैपनि त्यति बेला एसएलसी पास हुनु भनेको राम्रै मानिन्थ्यो । देशमा जागिर खोज्न कति गरियो कति ? अहँ मरे जागिर पाइएन । “आकाशको फल, आँखा तरी मर” जस्तै भयो गाउँमै जागिर पाइन त । कतै जागिर नपाएपछि न हो मुग्लान पसेको । कसलाई रहर हुन्छ र नुनतेलको जोहो गर्न जहान, केटाकेटी छोडेर जान । सँगैका साथीहरू देशविदेशमा गएर ठुला ठुला बङ्गलामा बस्छन् रे ! कार हुइक्याउँछन् रे !
त्यत्तिकैमा पर्तिरबाट एक हुल गाईबाख्रा आउँछन् । खाटबाट उठ्छ र आफ्नो बिस्कुन हेर्छ । अब त नपल्टिने ठान्छ । छायाले पनि खाटलाई छोडिसकेछ अनि आँगनको डिलमा आएर बस्छ ।
पर हेर्छ, एक जना मान्छे आए जस्तो देख्छ । त्यो मान्छे उसकै घरमा आउँछ । ऊ स्थानीय नेता हो ।
“नमस्कार नेता ज्यू” ऊ भन्छ ।
नेताले राजनीतिका, विकासका कुरा गर्छन । ध्यान दिएर सुन्छ ऊ तर उसको जीवन जस्ताको त्यस्तै हुन्छ । झन् नेताको ठाटबाठ देखेर निराश हुन्छ । सँगैका साथी हुन् तिनीहरू त्यो नेता, पढाइमा पनि जेनतेन प्रमोटेट पास हुन्थ्यो । आठसम्म पुग्यो कि पुगेन ? नेताहरूको पछि लाग्यो यसपालिको चुनावमा । वडासदस्य जितेकोमा ज्यादै फुर्ती हाक्दै हिँड्छ । हामीले यसपालिको बजेटमा फलानो चौतारो चिन्ने, पधेरो बनाउने, बाटो खन्ने, यो टोलमा कुलो बनाउने योजना बनाएका थियौँ । वडाअध्यक्षले बजेट जम्मै आफ्नै टोलमा लग्यो ।
हाम्रो अध्यक्षको राम्रो छ क्या गाउँको अध्यक्षसँग । योजना अहिले हाम्रोमा, अर्को पालि भन्छ नेताले । अर्को पालि त म पनि गाउँपालिकाको अध्यक्ष त कन्फर्म हो, भोट दिनुपर्छ है दाइ भन्छ । जिल्लाका नेता केन्द्रका नेताहरूको भित्रिया आफू नै भएको भन्छ ।
ऊ भने झन् निराश हुन्छ । राजनीति गर्ने मै हुँ भन्नेहरूको यस्तो छ चाला । आफ्नोभन्दा बाहिर सोच्ने न सोच छ, सोच्ने न त क्षमता नै छ । यिनका आफ्नै पीडा छन् । विचारविहीन राजनीतिले यस्तै दम्भी बनाउने न हो । कसरी गाउँ बन्छ कसरी यस्ताहरूले ? हाम्रो जीवनमा कसरी परिवर्तन ल्याउँछन् ? मनमनै झन् दिक्दार हुन्छ ।
नेताको स्वागतार्थ गुँड हालेर दुधको चिया बनाउन थाल्छ, बिनाचियापत्तिको । दुवै जना चिया खान्छन् । उसलाई आज कुरा गर्ने मुड छैन । नेतासँग सामान्य कुराकानी हुन्छ र ऊ नेतालाई बिदा गर्छ ।
देश चौतर्फी साम्राज्यवादीको घेराबन्दीमा छ । देशको राष्ट्रिय राजनीति टक्क अडिए जस्तो छ । देश सञ्चालन गर्ने नेताहरूप्रति जनविश्वास गिर्दो छ । ठुल्ठुला मन्त्री, सचिव भएकाहरूले आफ्नै नागरिकलाई विदेशी बनाएर बेच्दै छन् रे सहरतिर भन्ने रेडियो खोल्यो कि यस्तै समाचार सुन्छ । यस्ता उरन्ठ्याउलाहरू गाउँका नेता छन् अनि यिनका टाउके कस्ता होलान् ? राजनीति त विचार, आदर्श र व्यवहारको उच्चतम नमुना हुनुपर्ने होइन र ? ऊ मनमनै गम्छ ।
ऊ पैसाको गरिब भए पनि लगनशील छ, स्वाभिमानी र इमान्दार छ । राष्ट्रप्रेम उसको नशा नशामा छ तर देशको दुर्दशा सुन्दा र भोग्दा बेचैन हुन्छ । किन कोही मेरो भावना नबुझ्ने भएका हुन् ? के समाज बोधो भइसक्यो ? यस्तै त सधैँ रहन्न होला । सूर्यास्त हुने त अर्को सुनौलो दिन आउनलाई हो नि त । देशको पनि त हाम्रै जस्तो जीवन हुन्छ ।
ऊ अध्ययनशील छ । उसले थोरै भए पनि कम्युनिस्ट आन्दोलनसित सम्बन्धित किताब पढिरहन्छ । ऊ यस्ता किताब पढ्ने एक्लो भए पनि ऊ हरेस खाँदैन, झन् उर्जाशील हुँदै गएको छ ।
कम्युनिस्ट दर्शनले उसलाई व्यक्तिवादी बन्न दिँदै दिँदैन । ऊ आफूलाई समाजकै एक अङ्ग ठान्छ । उसले के बुझेको छ भने मानिस समाजमा बस्छ । हामी सामाजिक प्राणी हौँ । समाजलाई द्वन्द्ववादी आँखाले हेर्छ । समाज र जीवनमा द्वन्द्व छ ।
यो समाजका छट्टुहरूले अवसर सीमित मान्छेलाई नै प्रदान गरेका छन् । जति नै गरे पनि, जे नै गरे पनि हामी गरिबको राज्यव्यवस्था नआउन्जेल जस्तोसुकै लोकतन्त्र आए पनि हाम्रो जीवनमा परिवर्तन आउँदैन । नङ्ग्रा खियाउने अनि पशुवत् जीवन जिउनु न हो ।
यस्तै दु:खसुखले पनि हातमुख जोर्न मात्रै पाए पनि धेरै हुन्थ्यो । संसार जिते जस्तो लाग्थ्यो । हातमुख जोर्न पनि अन्दरको काम नगरी हुन्न । त्यो पनि सधैँ पाइन्न । फेरि नजिक नै कहाँ छ र ? त्यसका लागि पनि घर, देश छोडेर टाढा परदेशिनुपर्छ । गाउँमा पैसाको मुख देख्न पाइन्न ।
अस्ति १६ महिना पालेको खसी बेचेको त्यसको पैसाले चामल एक बोरा किनियो अरू बाँकी साहुको तिर्नमै ठिक्क भइहाल्यो । अब यसरी नै गाउँमा त कहिले र कसरी पैसाको मुख देख्ने हो ? थाहा छैन । बुढीले बुढो, खसी मैले पालेको हो है, त्यो बेचेको पैसामै राख्छु अनि थाहा छ, म बजारबाट एक जोर चप्पल, नयाँ लुगा हामी सबैको लागि अनि थाहा छ, म मेरा लागि थप मेक्सी ल्याउँछु भन्दै थिई ।
खसी बेचेको दिन त खै कहाँ थिई कुन्नि ? केही बोलिनन् त्यसपछि त ।
सम्झिन्छ, मेरो बुढीका के नै सपना थिए र ? एक जोर चप्पल अनि नयाँ मेक्सी न हो । त्यो पनि पूरा भएन । उनले कुनै महङ्गो साडी नै भनिन, न त गहना नै । धन्न बिरामी परिएको छैन र पो ! ऊ पनि सबैका राम्रा राम्रा लुगाकपडा देख्दी हो ।
आजभोलि त पल्लो घरकाले मोटरसाइकल किनेको छ रे ! उसको स्वास्नी राम्रै बोल्थी । पहिला पहिला मोटरसाइकल किनेदेखि बोल्दैन रे भन्दैथी । आजकल गाउँ गाउँमा मोटरबाटो नपुगे पनि गाडी पुगेका छन् । मोटरसाइकल पुगेका छन् । तलै रोड छेउमा पार्किङ गरेर आउँछन् रे !
ऊ आफै भने कर्ममा विश्वास गर्छे तर परिवार का न्यूनतम आवश्यकता पूरा गर्न नसकेकोमा भने कहिलेकाहीँ खिन्न हुन्छ । फेरि पनि ऊ अरूभन्दा फरक छ ।
उसले देशपरदेश देखेको छ । धनीगरिब देखेको छ । दु:खपीडा के हो ? राम्ररी बुझेको छ । ऊ अर्काको आशामा आफ्नो जीवन बाँच्दैन किनकि ऊ धेरै नभए पनि माक्र्सवादी दर्शन जान्दछ । फुर्सदको बेलामा पढ्छ पनि । ऊ निराश नहुनुको पछाडि उसको वर्गीय दर्शन माक्र्सवाद उसको साथी छ । त्यसैले ऊ फरक छ ।
आज ऊ घरमै छ । त्यै भएर केही गरेन ।
गोरुलाई हेर्न जान्छ । बिरामी भएको हुँदा वन चराउन पनि लगेको थिएन । त्यसैले ऊ अलि फुर्सदमा थियो तर केही बेर यसो पल्टिँदा र त्यो नेतासित अल्झिँदा समय गएको पत्तै भएनछ । उसकी जहान आज हरियो स्याउलाको भारी बोकेर आएको देखेर खुसी हुन्छ ।
“आइस् बुढी ! कहाँबाट पाइस् त यो स्याउला ?”
बुढी भन्छे– “वस्तुभाउ जम्मै बिरामी छन् । कति खर मात्रै खुवाइराख्नु भनेर छिमेकीसँग पैँचो मागेर लिएकी हुँ ।”
भारी बिसाउछे र दाउराको मुडो त्यस्तै देख्छे ।
“बुढा के गरेको दिनभरि घरमै बसेर दाउरा पनि छैन । साँझलाई मै कति काम गरुँ । दाउरा चिर्नु पर्दैन ?”
“ए ! म त भुस्सुक्कै बिर्सेछु” ऊ दाउरा चिर्नपट्टि लाग्छ । बुढी गोठको मेलो मेसोतिर लाग्छिन् ।