काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेज घरमा लगेको आरोपमा मुद्दा दायर गरिएको छ ।
बीबीसीका अनुसार अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए।अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घर ‘मर–आ–लागो’ मा छापा हानेर ११ हजार दस्तावेज जफत गरिएका थिए र त्यसमध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको थियो।
७६ वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ।
सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने योजना ट्रम्पले बनाइरहेका छन्। उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन्।
अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत काम हो।