जगतप्रसाद रेग्मी,काठमाडौं ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भारतले दक्षिण एशियामा युद्ध चाहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता पुरीले भारतीय साम्राज्यवादले शान्ति नचाहेको आरोप लगाउनुभयो ।
भारतले एकातिर सीमा अतिक्रमण र अर्कोतिर जनसांख्यिक आक्रमण गरेर नेपालमाथि हस्तक्षेप गरेको पुरीले बताउनुभयो ।
‘भारतले दक्षिण एशियामा शान्ति चाहँदैन । उसले युद्ध चाहन्छ’ उहाँले भन्नुभयो, ‘गण्डकी, कालापानी, लिपुलेक होस् वा नागरिताको कुरा होस् जसरी पनि उसले विभिन्न नयाँ नयाँ तरिकाले नेपाललाई हस्तक्षेप गर्दै गैइरहेको छ ।’

उहाँले नेपालमाथिका असमान सन्धि सम्झौता गर्ने तर, आफ्नो स्वार्थबाहेकका कुरा सुन्न नचाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सन् १९५० को सन्धी खारेज गर्नुपर्छ । त्यो भन्दा पहिलाका सबै असमान सन्धी खारेज हुनु पर्छ । तर भारतले त्यो मान्दैन । आफ्नो स्वार्थ पूरा हुने कुरालाई मात्र उसले उठाई राख्छ।’
पुरीले देश रहे मात्रै हामीले हाम्रा गतिबिधी गर्न पाउँछौँ भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध सबै देशभक्त एकताबद्ध हुनुपर्ने बताउनुभयो । अहिले जनआन्दोलनका उपलब्धि मास्ने कुरा हुनु बिडम्बना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का महासचिव लक्षणदेव पाण्डेले सम्बोधन गर्दै नागरिकता विहेयक प्रमाणीकरण गरेर र सर्वोच्च अदालतले दोषी ठहर गरेको रेशम चौधरीलाई छोडेर प्रधानमन्त्री भारत भ्रमण जानु संयोग नभएको बताउनुभयो ।

भारतीय साराज्यवादलाई सहयोग पुग्ने गरि ल्याइएको नागरिकता विधेयकले नेपालीलाई अल्पमतमा पार्ने भन्दै यो ठूलो राष्ट्रघात भएको बताउनु भयो ।
कार्यक्रमको सञ्चालन नेकपा (मसाल) का काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो ।
भारतले हालै आफ्नो नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुसमेत समेटेर नयाँ नक्सा राखेपछि राष्ट्रिय जनमोर्चाले देशब्यापीरुपमा त्यसको विरोध गरेको हो । त्यसका साथै हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको पनि राजमोले तीब्र विरोध गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रमुख वक्ता रहनुभएको सो कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।
