वासिङटन । युक्रेन युद्धका कारण गत डिसेम्बरयता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ । ह्वाइट हाउसका अनुसार उक्त अवधिमा २० हजार रुसी सैनिकसहित एक लाख जनाले ज्यान गुमाएका हुन् ।
युक्रेनी सेनाले पूर्वीक्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति ब्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रमा भिषण युद्ध भएको तथा युक्रेनी सेनाको सामना गर्दै रुसले बाख्मुट सहरलाई आफ्नो नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेको छ ।
अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले ब्यहोरेको उक्त क्षतिको जानकारी दिएको भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् । गत नोेभेम्बरमा अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले रुसमा एक लाखभन्दा बढीले ज्यान गुमाएका वा घाइते भएका बताएका थिए । रुसले ब्यहोरेको पछिल्लो क्षतिबाट मस्को दबाबमा परेको देखिएको छ ।
सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा भाडाका सैनिक वाग्नर समूहका हुन् । उनीहरूलाई युद्धमा सहभागी हुन कारगारबाट मुक्त गरिएको थियो । उनीहरू बिनाप्रशिक्षण युद्धमैदानमा पुगेका थिए ।
केही विश्लेषकले बाख्मुटलाई नियन्त्रणमा लिनु रुसका निम्ति महत्त्वपूर्ण छ किनकि डोनेट्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठुला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहज हुन सक्छ । (रासस/एपी)