काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी योन सुकन्यलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका छन्।
पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येकै एक भएको बीबीसीले जनाएको छ । अमेरिकी सहयोग पछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने सहमति गरेको छ।
वासिङ्टन घोषणा नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबीच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडनले बताए।
परमाणु शक्ति, साइबर सहकार्य, जलवायु परिवर्तन र युक्रेन युद्ध लगायतका विषयमा छलफल गर्न अमेरिकामै रहेका दक्षिण कोरियाली राष्ट्रपति योनलाई सँगै राखेर बाइडनले पत्रकार सम्मेलन गरेका थिए।
दक्षिण कोरियाका राजनीतिज्ञहरूले लामो समयदेखि उत्तर कोरिया विरुद्ध कहिले र कुन अवस्थामा परमाणु अस्त्र प्रयोग गर्ने भन्नेबारे अमेरिकी योजनामा आफूहरूलाई पनि सहभागी गराउन वासिङ्टनलाई दबाब दिइरहेका थिए।
उत्तर कोरियाले आफ्नो परमाणु अस्त्रको सङ्ख्या र क्षमता विस्तार गरिरहँदा दक्षिण कोरियामा भने अमेरिकी राष्ट्रपति बाइडनले आफूलाई थाहै नदिई परमाणु अस्त्र चलाउने चिन्ता बढिरहेको थियो।
अमेरिकाले यो मामिलामा आफ्नो देशलाई बेवास्ता गर्ने चिन्तामाझ दक्षिण कोरियाले आफ्नै परमाणु अस्त्रहरू विकास गर्नुपर्ने माग भइरहेको थियो।
यदि उत्तर कोरियाले आक्रमण गरिहाल्यो भने त्यसको प्रतिरक्षामा परमाणु अस्त्र प्रयोग गर्ने वा नगर्नेबारे अमेरिकासँगको यो सहमतिमा केही उल्लेख छैन। तर चार दशकपछि परमाणु अस्त्र सहितको अमेरिकी पनडुब्बी दक्षिण कोरिया जानु भनेको अमेरिकाले त्यस्तो अवस्थाको जिम्मा लिन आफू तयार रहेको ऐक्यबद्धता जनाएको छ।





