काठमाडौं । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाब प्रहरीले आइतबार गिरफ्तार गरेको जनाएको छ ।
बीबीसीका अनुसार मेगा जरनेल सिंह भिन्डरावालेको गाउँ हो जसको नेतृत्वमा पञ्जाबमा झन्डै एक दशक विद्रोह चलेको थियो।
सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए।
सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन पत्राचार गरेको थियो ।
को हुन् अमृतपाल सिंह ?
२९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्।
सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए।
गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।
अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।
दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।
नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी ‘वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए।
उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्।
उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो। केहीअघि सिंहका सशस्त्र समर्थकहरूले एउटा प्रहरी चौकीमा धावा बोलेका थिए।
पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।
पञ्जाब प्रहरी अनुसार ‘वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ।
उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्याएको जस्ता अभियोग लगाइएको छ।
पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको थियो।
उनी पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्।
सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो।

अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए।
प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।
धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो। उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ।
भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो। विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए।
प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए। पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ।