काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले लामो संघर्षपछि पनि उखु किसानहरुले उखुको मूल्य पाउन नसकेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले उखु किसानले सरकारले तोकेको समर्थन मूल्य भन्दा धेरै कममा आफ्नो उत्पादन बेच्न बाध्य भएको, त्यही पनि पुरा मूल्य पाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले सरकारले किसानलाई दिएको अनुदानमासमेत ४० प्रतिशत कमिशन बुझाउन परेको भन्दै सतप्रतिशत अनुदान किसानकै हातमा पुर्याउन सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउनुभयो ।
पौडेलले भन्नुभयो, ‘उखु किसानहरुले समर्थन मूल्य पाउन त सकेनन् त्यो भन्दा धेरै कममा आफ्नो उखु बेच्न विवस छन् । कम मूल्यमा बेचेको मूल्यसमेत उनीहरुले पाउन सकेको अवस्था देखिँदैन । यतिमात्रै होइन, सरकारले दिएको अनुदानको ४० प्रतिशत पनि कमिशनमा जान्छ भनेर दुःख व्यक्त गरिरहेको अवस्था छ । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । उनीहरुले अहिले जुन थोरै मात्रै मूल्य पाएका छन्, पुरै मूल्य पाउनुपर्छ । सरकारले यस विषयमा कडाईपूर्वक निर्देशन देओस् । र उनीहरुलाई दिएको अनुदान शतप्रतिशत नै उखु किसानहरुले नै पाउनुपर्छ ।’