काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संघीयताको औचित्य सकिएको बताउनुभएको छ । नेपालमा हाल अभ्यास भइरहेको संघीयता देशले धान्न नसक्ने भन्दै यसको औचित्य सकिएको उहाँले बताउनुभयो ।
शुक्रबार गृहजिल्ला कपिलवस्तुमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधनका क्रममा विप्लवले मंसिर ४ को निर्वाचनले पनि संघीयताको औचित्य सकिएको पुष्टि भएको बताउनुभयो ।
‘मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको परिणामले हिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ’ उहाँले भन्नुभयो, ‘अझ बढ्दो आर्थिक संकटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ।’
महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याउनुभयो । उहाँले अब विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलंकाभन्दा ठूलो संकटमा जाकिने पनि जिकीर गर्नुभयो ।
विप्लव नेतृत्वको नेकपासहित साना चार कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थाको औचित्यता नरहेको भन्दै मंसिर ४ को निर्वाचन बहिष्कार गरेका थिए ।
विप्लवले अब अहिलेको अभ्यासको संघीयतासँगै मूलधारका राजनीतिक दल र निर्वाचन प्रणालीको पनि औचित्य सकिएको दाबी गर्नुभयो ।
महासचिव विप्लवले आफूहरुसँग तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको तीन बुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गर्नुभयो ।