काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् बागलुङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले अब बन्ने सरकारको संरचनाका आधारमा संसदमा भूमिका खेल्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा निर्वाचित भएपछि युगदर्शनसँग कुरा गर्दै केसीले सरकार कस्तो बन्छ र कस्तो नीति लिन्छ त्यसका आधारमा संसदमा आफू प्रस्तुत हुने बताउनुभयो ।
‘सरकार कस्को र कस्तो बन्छ, त्यसले कस्तो नीति लिन्छ, त्यसैका आधारमा संसदमा मेरो भूमिका रहन्छ’ केसीले भन्नुभयो, ‘तत्कालिन परिस्थिती हेरेर पार्टीले नीति बनाउँछ, निर्णय गर्छ । त्यही आधारमा संसदमा भूमिका खेल्ने हो ।’
अध्यक्ष केसीले गठबन्धनको आवश्यकता अझै रहेको औँल्याउनुभयो । प्रतिगमनलाई परास्त गर्न गठबन्धन बनेको स्पष्ट पार्दै उहाँले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन टुट्न नहुने बताउनुभयो ।
प्युठान र अर्घाखाँचीमा राजमोको पराजयमा गठबन्धनले गडबडी गरेको हो ? भन्ने प्रश्नमा केसीले गठबन्धनको गडबडी भन्दा पनि त्यहाँ प्रतिगामी शक्ति बलिया भएको आरोप लगाउनुभयो ।
‘गठबन्धनले गडबडी गर्ने भए त यहाँ बागलुङमा पनि गर्थे नि’ केसीले भन्नुभयो, ‘यहाँ पनि मलाई हराउन लागेपुगेसम्म गरेकै हुन् । तर गठबन्धनले दुईवटै प्रतिनिधि सभा र चारवटै प्रदेश सभामा जितेको छ ।’
सरकारमा राजमोको सहभागिताबारे अहिले कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।
बुधबार अपरान्ह सम्पम्म मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो । केसीले २१ हजार ४५१ मत ल्याउँदा केसीका प्रतिद्वन्द्वी एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याए ।
यस्तै, बागलुङका दुवै प्रतिनिधि र चारवटै प्रदेश सभामा गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभा क्षेत्र नं २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनुभएको छ भने प्रदेश सभातर्फ १ को क मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा, ख मा डिल्लीराम सुवेदी, २ क मा जितबहादुर शेरचन र ख मा कांग्रेसकै द्रोणकुमार कुँवर विजयी भएका छन् ।
निर्वाचित भएपछि बागलुङ बजारमा स्थानीयले अध्यक्ष केसीसहित नवनिर्वाचित सांसदहरुलाई स्वागत गरेका थिए ।
त्यसक्रममा संक्षिप्त मन्तव्य राख्दै अध्यक्ष केसीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, मतदाता, गठबन्धनका नेता कार्यकर्ता तथा राजमोका सम्पूर्ण कार्यकर्ता पंक्तिप्रति आभार व्यक्त गर्नुभयो ।
प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएसँगै अब बागलुङमा समानुपातिक मतगणना गर्ने तयारी गरिएको छ ।
बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी
बागलुङ १ ‘ख’मा कांग्रेसका डिल्ली र २ को ‘ख’ मा द्रोण विजयी





