प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले महङ्गी र भ्रष्टाचार देशकै रोग बनेको बताउनुभएको छ । राजमो काठमाडौँको आयोजनामा २०७९ असार १८ गते आयोजित कोणसभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘२०६२-६३ सालको जनआन्दोलनको बलमा व्यवस्था त परिवर्तन भयो’ उहाँले भन्नुभयो- ‘तर नेपाली जनताको जीवन स्तरमा परिवर्तन भएन ।’
https://www.facebook.com/1279061089/videos/727681451824498/
उपाध्यक्ष शर्माले महङ्गी र भ्रष्टाचारका कारणले व्यवस्था परिवर्तन भए पनि जनताको जीवन स्तरमा परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘नेपालमा महङ्गी र भ्रष्टाचारले वैधानिकता पाएको छ । त्यसैले जनताको जीवन स्तर व्यवस्था परिवर्तनका बाबजुद उस्तै रह्यो ।’
देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि विकास निर्माणले गति प्राप्त गर्न नसक्नुको एउटा कारण महङ्गी र भ्रष्टाचार नै भएको उहाँको दाबी थियो ।
‘महङ्गी र भ्रष्टाचारले देशको विकास निर्माण कुण्ठित भएको छ’ उहाँले भन्नुभयो- ‘खासगरी भ्रष्टाचारका कारणले जनताले गास काटेर जम्मा गरेको करको दुरूपयोग भएको छ ।’
उहाँले जनताप्रति उत्तरदायित्व बहन नगर्ने सरकारको जनविरोधी रवैयाको विरोधमा जनता सडकमा आउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘सचेत जनताले मात्रै देश विकासका साथै आफ्नो जीवन स्तरमा परिवर्तन ल्याउन सक्छन्’ उहाँको भनाइ थियो ।
उहाँले महङ्गी र भ्रष्टाचारको विरुद्धमा एकपटक फेरि नेपाली जनता सडकमा उत्रिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सम्बोधनको क्रममा उहाँले देशमा महिला हिंसा अहिले पनि यथावत रहेको बताउनुभयो । उहाँले त्यस क्रममा सरकार महिला हिंसाप्रति गम्भीर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यस्तै, उपाध्यक्ष शर्माले असारको महिनामा पनि कृषिमल र बिउको अभाव हुनु कृषिप्रधान देशका लागि दुखद परिदृष्य भएको बताउनुभयो । उहाँले तत्कालै मल, बिउका साथै विद्यार्थीहरूका लागि पाठ्यपुस्तकको अभाव समाप्त गर्न पनि सरकारसित माग गर्नुभयो ।
कार्यक्रममा नेकपा (मसाल) ३ नं. प्रदेशका प्रवक्ता समीर सिंह र अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले पनि मन्तव्य राख्नुभएको थियो ।
कोणसभाको सञ्चालन नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।
असार १५ देखि २० गतेसम्म महङ्गी, भ्रष्टाचार, महिला हिंसा, मल, बिउ, पाठ्यपुस्तक अभावका विरुद्ध साङ्केतिक आन्दोलन गर्ने केन्द्रीय कार्यक्रमअन्तर्गत राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।







