काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नासु झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।
झाउपर बिगो २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो ।
झा मिति २०३९।०८।०९ मा गाविस सचिव (रापअनं. द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही मिति २०७८ साल श्रावण महिनाबाट अवकाश पाएको देखिँदा निजको परीक्षण अवधि २०३९।४० देखि २०७७।७८ सम्मको समग्र आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आर्जन गरेको र व्ययतर्फ ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।
झाको समग्र आम्दानी मध्ये २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानी (सम्पति) को वैधानिक स्रोत नखुलेको उनले भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै, सो बिगो जफत गर्ने प्रयोजनका मीनादेवी झा, दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।