काठमाडौँ । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको २२ लाख डोज खोप सहयोग गरेको छ । आइतबार अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सो खोप सरकारले पाँचदेखि ११ वर्षमुनिका सबै बालबालिकालाई दिने भएको छ।
बालबालिकालाई वितरणका लागि आइतबारै सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पठाइ सकिएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जानकारी दिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाइने छ। असार ९ देखि बालबालिकालाई वितरण गर्ने तयारी अनुसार काम भइरहेको छ।
बालबालिकालाई पहिलो मात्रा खोप लगाएको ३ साताभित्र दोस्रो मात्रा लगाउनुपर्छ। दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी विभागको छ। यसका लागि फेरि २२ लाख डोज खोप दुई साताभित्र नेपाल ल्याइने छ।
दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई आगामी भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा खोप वितराण गर्ने तयारी छ।