पोखरा । पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भएका अनुसन्धान तथा खोजको प्रस्तुति र नेपालको भेटेरिनरी क्षेत्रका विषयमा छलफलका लागि पोखरामा २०७९ असार ३ गते शुक्रबारदेखि चौधौँ संस्करणको राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको सम्मेलनको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो ।
सम्मेलनमा पशु चिकित्सा र स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन र व्यवस्थापन, जलवायु परिर्वतन र पशुपालन क्षेत्रको आर्थिक तथा सामाजिक प्रभावमा छलफल हुने छ ।
पशुपन्छी तथा मत्स्यपालनमा नीतिगत पैरवीलगायतका क्षेत्रमा भएका अनुसन्धान तथा खोजको प्रस्तुति तथा छलफलका लागि सम्मेलनको आयोजना गरिएको नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय अध्यक्ष डा शीतलकाजी श्रेष्ठले बताउनुभयो ।
नेपाल सरकारले पशुपन्छीसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सन् २०३० सम्ममा रेबिजका साथै खोरेत, पिपिआरलगायत रोग उन्मूलन गर्ने सरकारको प्रतिबद्धता छ । सम्मेलनमा यी प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा र सुधार गर्नुपर्ने विषयमा समेत छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा ६९ ओटा वैज्ञानिक कार्यपत्रमा विशेष छलफल हुने छ । सम्मेलनमा पशुविज्ञान र मत्स्य क्षेत्रमा क्रियाशील वैज्ञानिक, पशुचिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र उद्यमी कृषक गरी ४०० जनाको सहभागिता रहेको छ । सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेशलगायत सार्क राष्ट्रका भेटेरिनरी एसोसिएसनका प्रतिनिधिसमेत सहभागी छन् । (रासस)