काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ३३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ग्राण्डी बस्ने वर्ष ३५ का रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।
रोजितले ‘बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाँई लगायत तपाँईको आफन्तहरु जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ्ग एवं हवाई टिकटको लागि सुकमाया गुरुङ समेत ८ जनाबाट ३३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको जाहेरी र अनुसन्धानको क्रममा जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिषाहरु नक्कली भएको पाइएको थियो ।
ठगी गर्ने कार्यमा संलग्न रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहहरीले बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।