काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले विगतमा टेन्डर पारी मल नल्याउने ठेकेदारहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले खेती गर्ने बेलामा जहिल्यै मल अभाव हुने गरेको उल्लेख गर्दै किसानलाई मल, बीउ, सिंचाई सुविधा पुर्याउन सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले जी टु जी मार्फत् बंगलादेश, भारत र चीनबाट मल ल्याउने भन्ने कुरा कहाँ पुग्यो सो को स्थिति जानकारी गराउन माग गर्नुभयो ।
‘हरेक वर्ष मलको कुरा उठेको छ । हरेक वर्ष धान रोप्ने बेला आउँछ त्यतिखेर मलको र उखु उत्पादकहरुले मूल्य नपाएको यो दुइवटा कुरा ९–१० वर्षदेखि निरन्तर उठिरहेको अवस्था छ । जी टु जी मार्फत् बंगलादेश, भारत र चीनबाट मल ल्याउने भनेको अवस्था बारे सदनमा तत्काल जानकारी गराइयोस्’ उहाँले भन्नुभयो, ‘जनतालाई छक्याउँछु भन्दा सरकार आफैँलाई छक्याएको छ । नीति निर्यात बढाउने आयात बन्द गर्ने हो । जनता, किसानलाई मार्छु मनेर आफौ मरेको छ । त्यसैले त्यो मर्ने काम नगरौं । किसान बाँचे भने किसानबाटै हामी बाँच्ने हो । यो गर्नको निम्ति पनि समयमै दीर्घकालीन योजना बनाउन पर्यो ।’
साथै उहाँले दीर्घकालीन रुपमा मल भण्डारण गर्न बजेट विनियोजन गर्न आग्रह पनि गर्नुभयो । सांसद पौडेलले नेपालमा विगत देखि नै रासायनिक मलको अभाव हुने गरेको उल्लेख गर्दै रासायनिक मलको उद्योग खोल्नुपर्ने बताउनुभयो ।