टेकराज भुसाल, अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका– २ को ढाकावाङमा निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ। शुक्रबारदेखि सुरु भएको स्वास्थ्य शिविर तीन दिनसम्म चल्ने छ ।
शिविरको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री, पूर्व नगरप्रमुख रेशम थापा, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समितिका सदस्य बावुराम खनाल, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष नरेन्द्रमान मुखिया, नेकपा (एमाले) का प्रतिनिधि रिषिराम खनाल, नेपाली कांग्रेसका प्रतिनिधि चुरामणि खनाल लगायतले स्वास्थ्य शिविर सफलताको शुभकामना दिनुभएको थियो ।
स्वर्गीय पिता बालानन्द खनालको स्मृतिमा छोरा पाण्डव खनालको संयोजकत्वमा तथा भूमिकास्थान नगरपालिका–२ र भुमे मन्दिर व्यवस्थापन समितिको सहजीकरणमा भुमे मन्दिर परिसरमा शिविर सञ्चालन गरिएको हो ।

