काठमाडौं । सरकारले ६८ वर्ष भन्दा माथि उमेर समूहको लागि वृद्धा भत्ता दिने निर्णय गरेको छ। यो भन्दा अघि ७० वर्ष रहेकोमा यो वर्ष देखि २ वर्ष उमेर कम गराएको हो।
लिन नचाहनेहरुलाई भने सरकारले सम्मान दिने जनाएको छ ।
हाल वृद्धभत्ता ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई ४ हजार रुपैयाँ, ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक (साबिक कर्णालीका जिल्लाहरुमा बसोबास गर्ने नागरिक र देशभरका दलित नागरिक) लाई २ हजार ६६० रुपैयाँ एकल महिला, विवाह नगरी बसेका, ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकालाई २ हजार ६६० रुपैयाँ वितरण हुन्छ ।
यस्तै, विधवा पतिको मृत्यु भएका जुनसुकै उमेरकालाई २ हजार ६६० रुपैयाँ पूर्ण अपाङ्गता भएका सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई ३ हजार ९९० रुपैयाँ, अति अशक्त अपाङ्गता सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई २ हजार १२८ रुपैयाँ वितरण गर्ने गरिन्छ ।
यसैगरी, लोपोन्मुख आदिवासी र जनजाति कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियालाई ३ हजार ९९० रुपैयाँ, पिछडिएको क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५ सय ३२ रुपैयाँ वितरण हुन्छ ।