अर्घाखाँची । अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको चौँथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सन्धिखर्कमा ‘अनिवार्य प्राविधिक निःशुल्क र गुणस्तरीय शिक्षा, नेपालको प्रमुख आवश्यकता’ भन्ने मुख्य नाराका साथ नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले शिक्षक कृष्णप्रसाद बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रमणि भुसाल, महिला उपाध्यक्षमा विष्णुमाया भुसाल, सचिव शिवहरी भट्टराई, कोषाध्यक्ष विष्णु खनाल, सह–सचिवमा सान्ता भट्टराई र सुन्दरा थापा चयन हुनुभएको छ ।
सदस्यहरूमा बाबुराम खनाल, रामलाल भुसाल, रामबहादुर थापा, रामप्रसाद खनाल, खेमराज भाट, हिमलाल बेल्वासे, लक्ष्मी बेल्वासे, वामदेव आचार्य कविराज विक र रामकृष्ण घिमिरे रहनुभएको छ । त्यस्तै अधिवेशनले दलबहादुर केसी, हिमलाल खनाल र डिल बहादुर केसीलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेलले शिक्षा नीति र शैक्षिक व्यवस्थापनमा समय सापेक्ष परिवर्तनको अभियानमा जुट्नुपर्ने भन्दै व्यवहारिक, वैज्ञानिक र प्राविधिक शिक्षा सहितको निःशुल्क,अनिवार्य, र गुणस्तरीय शिक्षाको सरकारले ग्यारेन्टी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
शिक्षालाई स्रोतको रुपमा नहेरी दायित्वको रुपमा लिनुपर्ने भन्दै पौडेलले समाज बदल्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा रहेकोले सोही अनुसार काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले आस्थाको आधारमा जो जहाँ रहेपनी बालबालिकाहरुको पठन पाठनमा शिक्षकहरुको ठूलो जिम्मेवारी रहेको भन्दै शिक्षा क्षेत्रले हुने खानेलाई भन्दा हुँदा खानेलाई बढी प्राथमिकता दिई अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रकमा निबृत्त शिक्षक हिमलाल बेल्वासे, अखिल नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरे लगायतले मन्तव्य राख्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सेवानिवृत्त शिक्षकहरु खिमनारायण पाण्डे, खिमानन्द बेल्वासे, दिनेश केसी, हिमलाल बेल्वासे, यमबहादुर पुन, नेत्र प्रसाद खनाल र ध्रुव पौडेललाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद बन्जाडेको अध्यक्षता, विष्णुमाया भुसालको स्वागत मन्तव्य र संघका सचिव दलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

