काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता र ‘व्याख्यात्मक घोषणा’मा केही फरक नभएको बताउनुभएको छ । गृहमन्त्री खाँणले एमसीसीमा जे छ, व्याख्यात्मक घोषणामा पनि त्यही कुरा भएको स्पष्ट पार्नुभएको छ ।
बरु खाँणले ‘व्याख्यात्मक घोषणा भनेर दुई पाना लेखिदिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसलाई मान्न तयार भएको’ भन्दै प्रचण्ड र माधव नेपाललाई व्यंग्य गर्नुभएको छ ।
कांग्रेस नेता एवम् गृहमन्त्री खाँणले एक कार्यक्रममा ‘व्याख्यात्मक घोषणा’ बारे गरेको विश्लेषण अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । खाँणले व्याख्यात्मक घोषणा कुनै फरक कुरा नभएको, एमसीसी सम्झौताकै बुँदालाई नेपालीमा पनि लेखिएको बताउनुभयो ।
भिडिओमा गृहमन्त्री खाँणले भन्नुभएको छ, ‘व्याख्यात्मक घोषणा भनेर दुइटा पन्ना त्याँ टाँस्देपछि उहाँहरू मान्नुभो। त्यो दुइटा पन्नामा पनि एमसीसी सम्झौताभित्र जे छ, त्यही छ त्याँ। एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इङ्लिसमा छ, व्याख्यात्मक घोषणा चाइने इङ्लिस र नेपालीमा छ, व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मान्दिनुभो, मान्दिनुभएकोमा धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद।’
सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी राष्ट्रघाती भएको भन्दै प्रतिनिधि सभाबाट पारित गर्न मानेका थिएनन् । तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पासका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर नजिकिन थालेपछि भने उनीहरु एमसीसी पास गर्न तयार भएका थिए ।
गठबन्धन जोगाउन र सत्तामा रहिरहन माओवादी र समाजवादीले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ लाई ‘लाज छोप्ने टालो’ बनाएर एमसीसी पास गरेको राजनीतिक वृतमा चर्चा छ ।
😂😂😂
ब्याख्यात्मक घोषणाको नालिबेली ! pic.twitter.com/4UtgJUOKH8— डा. गोथे🇳🇵🙏 (@Dr_Gothe) March 14, 2022
😂😂😂 ब्याख्यात्मक घोषणाको नालिबेली ! pic.twitter.com/4UtgJUOKH8
— डा. गोथे🇳🇵🙏 (@Dr_Gothe) March 14, 2022