काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा खाद्यान्न सङ्कट उत्पन्न भएपछि चीनले चारपटकसम्म सहयोग गरेको छ तर नेपाल सरकारले भने केही गर्न सकेन ।
लोकान्तर डट कममा प्रकाशित समाचारअनुसार उच्च हिमाली क्षेत्रमा पर्ने सो गाउँपालिकामा हिमपातका कारण बाटो बन्द छ । त्यसकारण त्यहाँ गत मङ्सिरदेखि खाद्यान्न सङ्कट उत्पन्न भएको छ । हिउँ परेका कारण नेपालतर्फका बजार जाने बाटो बन्द हुँदा खाद्यान्न अभाव भएको गाउँपालिकाका अध्यक्ष तेम्मा भोटेले बताएका छन् ।
भोटखोलाबाट किमाथाङ्कापारि चिनियाँ बजार नजिकै पर्छ तर नाका थत दुई वर्षदेखि बन्द भएकाले त्यहाँ पनि जाने अवस्था छैन ।
खाद्यान्न सङ्कट टार्नका लागि चीन सरकारले चारपटक चामल, नुन तेल, चिनीलगायतका खाद्यान्न सामग्री भने सहयोग गरेको उनको भनाइ छ । पालिकास्तरीय दैवी प्रकोप उद्धार समितिले निर्णय गरेर मागेपछि चीन सरकारले तत्काल सहयोग गरेको थियो । यता, नेपाल सरकारले भने अहिलेसम्म कुनै चासो देखाएको छैन ।
किमाथाङ्का, थुदाम, रिदाक, हुम् मुङलगायतका क्षेत्रका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री ल्याएर जीविकोपार्जन गर्दै आएका थिए ।
‘नेपाल सरकारले एम.सी.सी. पारित गरेपछि चीन सरकार रिसाएको छ भन्ने सुनेका छौँ’ भोटखोला गाउँपालिका–१ का अध्यक्ष तेनछेवी शेर्पाले भनेका छन्– ‘हामीलाई कुनै समस्या हुने हो कि भन्ने चिन्ता छ ।’
कोरोनाको कारण देखाउँदै चीनले नाका बन्द गरेपछि यहाँका जनतालाई थप समस्या उत्पन्न भएको शेर्पाले बताए । २०७६ माघ ५ गतेदेखि चीन सरकारले किमाथाङ्का नाका बन्द गरेको थियो ।
वरुण खोलामा पुल नभएका कारण वैशाखदेखि चौँरी, खच्चड तथा भरियाका भरमा खाद्यान्न लाने गरेको वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।
३ सय २१ परिवारमा खाद्यान्न अभाव सुरु भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । विशेष गरेर किमाथाङ्काका दुईओटा वडामा समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । १ र २ नम्बर वडाका जनता हिमपातका कारण नेपालका बजारमा जान नसक्ने र चीनका बजारमा जान पनि नाका बन्द भएकाले खाद्यान्न अभाव हुन थालेको उनले बताए ।
यता, गृह मन्त्रालयले १ सय क्विन्टल चामल र ७ क्विन्टल दाल पठाइसके पनि ढुवानी गर्न समस्या परिरहेको खतिवडाले जानकारी दिए ।
ढुवानीका लागि गृह मन्त्रालयले केही रकम उपलब्ध गराए पनि हिउँ नपग्लेका कारण पठाउन समस्या भएको उनको भनाइ छ ।
खाद्यान्न सङ्कट भएपछि प्रदेश सांसद पद्मकुमारी गुरुङले प्रदेशसभामा कुरा उठाएकी थिइन् । फागुन १६ बसेको प्रदेशसभा बैठकमा उनले सो क्षेत्रका जनतालाई खाद्यान्न पुर्याउन प्रदेश सरकारसँग माग गरिन् तर प्रदेश सरकारले पनि भोटखोलाको खाद्य सङ्कट टार्न खासै पहल गरेको छैन ।